Comments Add Comment

विशेषज्ञ डाक्टर नहुँदा रिफर सेन्टर बन्यो क्षेत्रीय अस्पताल

१६ साउन, पोखरा । २२ असारमा मुस्ताङमा ट्रिपर दुर्घटनामा परी घाइते भएकाहरुलाई पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको क्षेत्रीय अस्पतालमा नभई मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइयो ।

सरकारी अस्पतालमा नलैजानुको दुई कारण थिए । पहिलो, क्षेत्रीय अस्पतालमा न्युरो सर्जन नै छैनन् । दोस्रोः सिटिस्क्यान, एमआरआई, इन्डोस्कोपीलगायत अत्यावश्यक उपकरण छैनन् ।

त्रिशुलीमा गाडी खस्दा घाइतेहरुलाई पनि क्षेत्रीय अस्पतालको सट्टा निजी अस्पतालमा रिफर गर्नुपर्‍यो ।

न्युरोसर्जन नभएकै कारण प्रदेशकै ठूलो सरकारी अस्पताल नशासँग जोडिएका विरामी हेर्न सक्ने अवस्थामा छैन ।

अस्पतालमा डाक्टरको दरबन्दी छ तर, डाक्टर छैनन् । ६ वर्षसम्म पनि डाक्टर नपठाउँदा दरबन्दी खाली छ ।

अस्पताल स्वास्थ्य मन्त्रालयको बेवास्ताको शिकार बनेको प्रतिष्ठानका पदाधिकारी बताउँछन् । ‘पटकपटक दरबन्दीमा विशेषज्ञ पठाइदिन आग्रह गरेका छौं तर, डाक्टर नखटाउँदा टाउकोको सामान्य समस्या आए पनि निजीमा रिफर गर्नुपर्ने लाजमर्दो अवस्था छ’ स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले भने ।

दरबन्दीमा किन पढाउँदैन त न्युरोसर्जन ? विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. राजेश अधिकारीले भने, ‘सरकारी अस्पतालमा एक त तलब सुविधा कम छ, सरकारी अस्पतालमा काम गर्‍यो ४० हजारको आसपासमा महिनाको तलब सुविधा पाउँछन् । निजीमा काम गर्दा एक डेढ लाख रुपैयाँसम्म कमाउँछन् । यही कारणले स्पेसलिस्ट सरकारी अस्पतालमा आउँन मन गर्दैनन् ।’

अर्को स्वास्थ्य मन्त्रालय तथा विभागको बेवास्ताका कारण पनि विशेषज्ञ पठाउने काम नभएको हो ।

न्युरो सर्जरीमात्रै होइन, चेस्ट सर्जरी, ग्यास्ट्रो सर्जरीलगायत विशेषज्ञ डाक्टरको मात्रै ४० भन्दा दरबन्दी खाली छ भने अन्य कर्मचारीको पनि दरबन्दी खाली छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सरकारको मातहतमा हुने हो भने उपकरण तथा डाक्टरको अभावले निजीमा रिफर गर्नुपर्ने बाध्यता हटाउन सक्ने बताउँछन् । ‘१४ खर्बको बजेट ल्याउने सरकारले डेढ करोडको मेसिन किन्न नसक्ने भन्ने हुँदैन । हाम्रो खरिद प्रक्रिया पनि झन्झटिलो र लामो भयो’ मुख्यमन्त्री गुरुङले भने, ‘तुरुन्त हुने ठाउँमा पनि वर्षौंसम्म काम नहुनु दुखद् छ ।’

प्रदेशकै ठूलो अस्पताल व्यवस्थापन प्रदेश सरकारले गर्न सक्ने भएपनि आˆनो क्षेत्राअधिकारभित्र नपर्दा नीतिगत समस्या परेको उनी बताउँछन् ।

तलब एकातिर, काम अन्तै

मन्त्रालयले डाक्टर नपठाएको मात्र समस्या छैन, पठाएका डाक्टर पनि आएका छैनन् । थुप्रै विशेषज्ञ डाक्टर क्षेत्रीय अस्पतालमा खटाएको भए पनि काज मिलाएर काठमाडौंमा बसेर गर्ने गरेका छन् । अस्पतालमा ९ जना विशेषज्ञले हाजिर र तलब यहाँबाट लिने तर, काम भने काठमाडौं बसेर गर्ने गरेका हुन् ।

उनीहरु एउटा हातमा सरुवाको पेपर र अर्को हातमा काज फिर्ताको कागज लिएर आउने अस्पतालले जनाएको छ ।

‘मन्त्रीस्तरीय बैठकबाटै निर्णय गराएर काम फिर्ताको कागज लिएर आउने अनि हाजिर गरेर तलब भने लैजाने डाक्टर पनि छन्,’ प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीस्तरीय बैठकबाटै काम हुने भएकाले हाम्रो केही जोर चल्दैन ।’

विशेषज्ञ डाक्टर पनि काजमा काठमाडौंमा बसेर काम गर्न थालेपछि यहाँका सेवाग्राही विशेषज्ञ सेवा पाउनबाट बञ्चित हुनुपरेको छ’ निर्देशक आचार्यले भने, ‘न दरबन्दी खाली भयो भनेर विशेषज्ञ डाक्टरको माग गर्न पाइन्छ न जनताले सेवा पाउँछन् ।’ मन्त्रालयले यस अस्पताललाई महत्वका साथ नहेरिदिँदा विशेषज्ञ सेवा लगायत थुप्रै कुरमा समस्या भएको प्रतिष्ठानका डिन नरेन्द्र गुरुङको भनाइ छ ।

पोखराबाट काज लिएर मेडिकल जर्नालिस्ट डा. तारानाथ पौडेलले स्वास्थ्य मन्त्रालय, डेन्टल सर्जन डा. सरिता प्रधान जोशीले वीर अस्पताल, डेन्टल सर्जन डा. सन्ध्या जोशी राष्ट्रिय ट्रमा सेन्टर, रेडियोलोजिस्ट सन्ध्या चापागाईं आचार्य वीर अस्पताल, पेडियाटि्रसियन डा. जगतजीवन घिमिरे र डा. रमानाराज कणिर्कार कान्ति बाल अस्पतालमा काम गरिरहेका छन् । डा. गणेश राई, डा. शशी हिराचन र स्टाफ नर्स अमृता बराल पनि काठमाडौंमा काम गरिरहेका छन् ।

अस्पतालले असारमा पत्र लेखेर काम फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । ‘सरुवा नै भए अर्को चिकित्सक राख्न पहल गर्न सकिन्थ्यो । सरुवा पनि नहुने, काम पनि नहुने भयो’ निमित्त निर्देशक डा. राजेश अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment