Comments Add Comment

झ्याप्पै बिजुली किन जान्छ ? कुलमान भन्छन्- काठका ४ लाख पोल फेर्नुछ

काठमाडौंमा 'मल्टिपल रिङ बैंक' बनाइँदै

१६ साउन, काठमाडौं । वर्षायाममा विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् ।

प्राधिकरणले भने प्रसारण तथा वितरण लाइनमा आउने समस्याका कारण यस्तो बिजुली कटौतीको समस्या आउने गरेको बताउने गरेको छ ।

पुरानो प्रणाली भएकाले यसलाई स्तरोन्नति नगरेसम्म यस्तो समस्या समाधान गर्न नसकिने अवस्था रहेको प्राधिकरणको तर्क छ । लोडसेडिङको चुनौती पन्छाएपछि प्राधिकरण अब यस्ता अनियमित बिजुली कटौती गर्नुपर्ने समस्या समाधानका लागि अघि बढेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

यसका लागि वितरण लाइनबाट काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउनेसम्मको प्रयास सुरु भएको छ ।

४ लाख पोल हटाएर नयाँ

प्राधिकरणका अनुसार विद्युत लाइन वितरण सुधार लागि झण्डै ४ लाख काठको पोल हटाउनुपर्ने देखिएको छ । विद्यत प्राधिकरणले गरेको प्रारम्भिक अनुमानमा देशभरका झण्डै ३ देखि ४ लाख काठको पोल हटाउनुपर्ने देखिएको हो ।

सामुदायिक विद्युतीकरण गरिएका क्षेत्रमा यस्तो पोलका समस्या बढी छन् । कतिपय क्षत्रेमा त रुखलाई नै पोल बनाएर बिजुलीका तार टाँगिएका भेटिने गरेका छन् ।

हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेन निर्माण भइरहेको छ । माथातीर्थ, चापागाउँ, भक्तपुर, लप्सीफेदी लगायतका स्थानमा निर्माण भइरहेका सब-स्टेशनले मल्टिपल रिङ बैंकको काम गर्नेछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठको पोल पूर्ण रुपमा विस्थापित गर्न करिब ७ अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताए । आवश्यक अध्ययन गरेर बजेट व्यवस्थापनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजानेबारे छलफल चलिरहेको उनले जानकारी दिए ।

प्राधिकरणले ग्रामीण भेगमा काठको सट्टा स्टिलको पोल प्रयोग गर्नुपर्ने अवधारणा ल्याएको छ । काठको पोल मक्किएर भाँचिने समस्या व्याप्त छ र यही कारण विद्युतीय दुर्घटनाहरु बढेका छन् । हावाहुरी चल्ने र बषर्ाको समयमा काठको पोलहरु भाँचिने समस्या व्याप्त छ ।

पटक-पटक पोल परिवर्तन गर्नुपर्दा बजेट पनि छोटो समयमै बढी खर्चिनुपर्ने अवस्था छ ।

‘एकैपटक सबै काठका पोल विस्थापित गर्न सम्भव छैन । आवश्यक बजेट व्यवस्थापन गर्दै प्राधिकरणका विभिन्न युनिटले टेण्डरमार्फत स्टिलका पोल ल्याउनुपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

काठको पोलका कारण कतिपय ग्रामीण क्षेत्रमा पोल भाँचिएपछि हप्तौंसम्म बिजुली दिन नसकिने अवस्था पनि आउने गरेको छ । काठको पोल बिस्थापित नहुँदा कतिपय वितरण केन्द्रहरुमा माग बढी भएर पोलको अभाव पनि हुने गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले पनि दुर्घटना बढेको र नागरिकहरुले अनेक तवरबाट दुःख बपाएको भन्दै काठको पोल विस्थापित गर्न निर्देशन दिएका थिए ।

कमजोर पोलहरुका कारणले मानवीय क्षति बढेको छ । प्राधिकरणकै कर्मचारी पनि असुरक्षित छन् । यसैकारण पनि विद्युतीकरणमा सुरक्षालाई प्राथमिकतामा राखेर काठको पोल हटाउन प्राधिकरणले गृहकार्य सुरु गरेको छ ।

पोलको मात्रै हैन, अनियमितरुपमा बिजुली जाने, प्रसारणलाइन लाइन ढल्ने, ट्रान्सर्फमर पडि्कने लगायतका समस्या देशभर ब्याप्त छ । बषर्ायामा यो समस्या झनै बढ्ने गरेको घिसिङ बताउँछन् । यसका कारण लोडसेडिङ हटिसक्दा पनि कतिपय स्थानका जनताले त्यसको पूर्ण लाभ उठाउन सकेका छैनन् ।

प्रणालीमा रहेका यस्ता समस्या हटाउन पनि गुणस्तरीय पोल गाड्न आवश्यक रहेको घिसिङ बताउँछन् । वितरण प्रणालीलाई अपग्रेड गर्दै जाने योजनाअनुसार प्राधिकरणले विभिन्न प्रयास थालेको घिसिङको भनाइ छ ।

मल्टिपल रिङ बैंक

अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको घिसिङ बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ ।

प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउन ‘मल्टिपल रिंग बैंक’ को अवधराणाअनुसार पूर्वाधार निर्माण भइरहेको उनले बताए । काठमाडौंमा मल्टिपल रिंग बैंकका लागि काम थालिएको छ । एक स्थानको सबस्टेशनमा समस्या आउँदा अर्को सब स्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिंग तयार गरिँदैछ ।

लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ ।

हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेन निर्माण भइरहेको छ । माथातीर्थ, चापागाउँ, भक्तपुर, लप्सीफेदी लगायतका स्थानमा निर्माण भइरहेका सब-स्टेशनले मल्टिपल रिंग बैंकको काम गर्नेछन् ।

यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ । ‘पाटनको सबस्टेसनमा समस्या आएर बिजुली गए चापागाउँको सबस्टेसनबाट बिजुली दिन सकियोस् ।

स्युचाटारको स्टेसनमा समस्या आउँदा मातातीर्थबाट दिन सकियोस्,’ घिसिङले भने, ‘यस्तै अवधारणमा सबैतिर वितरण लाइन व्यवस्थापन गर्ने योजना हाम्रो छ ।’

प्रणालीमा विभिन्न सुधार

वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिरकणले काम थालेको छ । अहिले ११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने प्राधिकरण बताउँछन् ।

हाल नेपाल एक सय ३२ केभीको प्रसारण लाइन लाइनमै निर्भर छ । यस्तो अवस्थामा काठमाडौंमै बाहिरी चक्रपथमा २२० केभीको प्रसारण लाइन निर्माण गरिँदैछ ।

विद्यमान सब-स्टेसनहरुमा पनि सुधारका कामहरु भइरहेको ट्रान्सर्फमर फेर्ने तथा वितरण प्रणालीलाई चुस्त बनाउन सबैतिर समानान्तर रुपमा प्रयास भइरहेको कार्यकारी घिसिङले बताए ।

ठूलो लागत र लामो समय लगाएर मात्रै वितरण र प्रसारणलाइनमा सुधार गर्न सकिने उनले बताए । लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ ।

प्राधिकरणले नांगो तारमार्फत सिर्जित समस्याको समाधान ‘कभर कन्डक्टर’ तारमार्फत गर्नुपर्ने पनि बताएको छ । कभर कन्डक्टरले बिजुली चोरी र चुहावटको समस्या पनि हटाउन सघाउँछ । दुर्घटनाको जोखिम पनि यसले कम गराउँछ । यसका लागि उपत्याकाभित्रका ‘कोर सिटी’ एरियामा काम भइरहेको छ ।

यस्ता धेरै काम एकैपटक अघि बढाउँदा मात्रै बिजुलीको गुणस्तर र सुरक्षाको पाटोमा सुधार आउने घिसिङले बताए । तर, सुधारको महसुस गराउन केही समय लाग्ने प्राधिकरण स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment