Comments Add Comment

प्रदेश ५ का उद्योगमा चार अर्ब वैदेशिक लगानी भित्रियो

भारतको सबैभन्दा बढी, चीन पनि लगानी बढायो


१७ साउन, बुटवल । प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ ।

आर्थिक वर्ष ०७३/७४ को भन्दा यो लगानी ७० प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०७४/७५ मा प्रदेश ५ मा लगानीकर्ताहरुले ५३ नयाँ उद्योगहरुमा लगानी गरेका छन् ।

आर्थिक वर्ष ०७३/७४ मा ४३ नयाँ उद्योग दर्ता भएका थिए । उद्योगमा भएको कुल लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रुपैंयाँ ( १२.९४ प्रतिशत) वैदेशिक लगानी रहेको छ । यो प्रदेश नं ५ का लागि हालसम्मकै उच्च लगानी हो ।

वैदेशिक लगानी गर्ने राष्ट्रमध्ये सबैभन्दा अगाडि भारत रहेको छ । प्रदेश नं ५ मा आ.व. ०७४/७५ मा २ अर्ब ९१ करोड २९ लाख १० हजार ५ सय रुपैंयाँ भारतीय लगानी भित्रिएको छ । प्रदेशमा चीन (ताईवान र हङकङसमेत) ले १ अर्ब ३५ करोड १० लाख रुपैंयाँ लगानी भित्राएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कमा छ ।

प्रदेश नं ५ का लागि चीनको यो लगानी हालसम्म कै उच्च हो । अन्य लगानी जापान, अमेरिका, डेनमार्क र सामोआजस्ता देशबाट आएका छन् ।

कुन जिल्लामा कति विदेशी लगानी ?

प्रदेश नं ५ मा नवलपरासीमा सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । नवलपरासीमा ४३ परियोजनामा ५८७७.७६ मिलियन लगानी भित्रिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि दोस्रोमा रुपन्देही छ । रुपन्देहीका ५५ औद्योगिक परियोजनामा ५०९१.०५ मिलियन वैदेशिक लगानी भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पाल्पामा चारवटा परियोजनामा ३१७.८४ मिलियन रुपैयाँ वैदेशिक लगानी भएको र २७० जनाले रोजगारी पाएका छन् ।

यस्तै रोल्पामा ३ परियोजनामा २९ मिलियन, प्युठानमा २ वटा परियोजनामा ९० मिलियन, अर्घाखाँचीमा २ वटा परियोजनामा ४४९.६ मिलियन, बर्दियामा १७ परियोजनामा २०७ मिलियन, कपिलवस्तुमा १० परियोजनामा ३१७.८१ मिलियन वैदेशिक लगानी भएको मन्त्रालयका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

नयाँ थपिएको लगानीमध्ये सबैभन्दा धेरै उत्पादन क्षेत्रको उद्योगमा लगानी भएको छ । रुपन्देहीका नयाँ उद्योगहरुमध्ये १५ ठूला, २३ मझौला र १३ ओटा साना उद्योगहरु रहेका छन् ।

उद्योग ऐन २०४९ ले ३ करोड रुपैंयाँ बराबरको अचल सम्पत्ति हुने उद्योगहरुलाई साना उद्योगको रुपमा वर्गाीकरण गरेको छ । त्यस्तै ३ करोडदेखि १० करोड सम्म अचल सम्पत्ति भएको उद्योगहरु मझौला हुन् भने त्योभन्दा माथिका सबै ठूला उद्योग हुने सो ऐनमा उल्लेख छ ।

आर्थिक वर्ष ०७३/७४ मा १५ वटा नयाँ उद्योगहरु दर्ता भएकामा एक वर्षपछि रुपन्देहीमा १७ वटा नयाँ उद्योग आएका छन् । रुपन्देहीमा नयाँ दर्ता भएका उद्योगहरुमध्ये ८ मझौला, ६ साना र ३ ठूला उद्योगहरु रहेका छन् । आव ०७४/७५मा नवलपरासीमा ६ ठूला, ५ मझौला र २ साना गरी १३ उद्योगहरु दर्ता भएका छन् ।

आ.व.०७४÷७५मा कपिलवस्तुमा तीन ठूला, तीन मझौला र एक साना उद्योग दर्ता भएका छन् । बाँके जिल्लामा एक ठूलो, ४ मझौला र एक सानो गरी ७ नयाँ उद्योगहरु दर्ता भएका छन् । त्यस्तै आव ०७४÷७५मा बर्दिया जिल्लामा ३ साना उद्योगहरु मात्र दर्ता भएका मन्त्रालयको तथ्याङकमा छ ।

प्रदेश ५ मा गत आर्थिक वर्षमा उत्पादन क्षेत्रमा ३७ वटा नयाँ उद्योगहरु दर्ता भएका छन् । प्रदेश नं ५ मा ऊर्जा तथा कृषि र पशुपालन क्षेत्रका उद्योगमा तुलनात्मकरुपमा कम लगानी भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष ०७४/७५ मा ती क्षेत्रमा २ ओटा मात्र उद्योग दर्ता भएका छन् । त्यस्तै पर्यटन क्षेत्रमा ६, सेवा क्षेत्रमा ६ होटल नयाँ उद्योगहरु दर्ता भएका छन् ।

किन बढ्यो विदेशी लगानी ?

अर्थविद् तथा उद्योगीहरुका अनुसार प्रदेश नं ५ मा उद्योगमा लगानी बढ्नुको कारण लगानीकर्ताले उद्योगमा आफ्नो लगानी सुरक्षित देख्नु हो । मधेस आन्दोलन र भारतको नाकाबन्दीमा समेत प्रदेश ५ को बेलहिया नाका जुन मुलुककै दोस्रो ठूलो नाका पनि हो, उक्त नाका एक दिन पनि बन्द नभई सुचारु हुन सकेको, शान्ति सुरक्षाका दृष्टिले तुलनात्मक रुपमा सुरक्षित मानिएको, अन्तराष्ट्रिय धार्मिक पर्यटकीयस्थल लुम्बिनी, अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र समेत निर्माणाधीन रहेकाले बजारको प्रचुर सम्भावना भएकाले लगानी बढेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी बताउँछन् ।

देशमा राजनैतिक गतिरोध हटेकाले लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुने ठानेर उद्योगमा लगानी गरेको भण्डारीको ठम्याई छ । ‘राजनैतिक संक्रमणकालको अन्त्य, बहुमतको स्थिर सरकार, विकास र समृद्धि मुलुककै साझा एजेण्डा बनेकाले पनि उद्योगमा लगानी बढेको हो’, भण्डारीले भने, ‘अनुकुल वातावरणले वैदेशिक लगनीकर्ताहरुलाई समेत आकर्षित गरेको छ ।’

औद्योगिक विकासमा प्रदेश सरकार उदार हुन सके प्रदेशभित्र उद्योगमा लगानी अझै बढ्न सक्ने अर्थविद्हरु बताउँछन् । आर्थिक समृद्धिको मुख्य पाटो औद्योगिक विकास भएकाले प्रदेश सरकारले तर्जुमा गर्न लागेका औद्योगिक करसम्बन्धी ऐनहरु उद्योगमैत्री हुनुपर्ने अर्थविद् वैकुण्ठ पाण्डे बताउँछन् ।

प्रदेश सरकारले उद्योगमा लगानी बढाउन र आइसकेका लगानीको सुरक्षा प्रत्याभूतिका लागि औद्योगिक नीति ल्याउनुपर्ने पाण्डेको सुझाव छ ।

औद्योगिक व्यवसाय ऐन ०७३ पारित भइसकेको, औद्योगिक सुरक्षा बल गठन भएको, निर्यातमा नगद अनुदान नीति आएको, नेपाल व्यापार एकीकृत रणनीति, वैदेशिक लगानी नीति, गुणस्तर ऐन, लघु उद्यमसम्बन्धी व्यवस्था, औद्योगिक पूर्वाधार विकास कार्यक्रम र बौद्धिक सम्पत्ति नीतिजस्ता नीतिगत व्यवस्थाहरुका कारणले पनि यहाँ उद्योगमा लगानीकर्ताहरू आकर्षित भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ बताउँछन् ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले प्रदेशमा औद्योगिक विकासका सम्भावनाहरु प्रचुर रहेको भन्दै निर्यातजन्य उत्पादन र पर्यटन उद्योगहरु प्राथमिकतामा रहेको बताए ।

बुटवल औद्योगिक क्षेत्र, मोतीपुरमा बन्न लागिरहेको प्रदेशस्तरीय औद्योगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) र विभिन्न करिडोरमा रहेका उद्योगहरु, दाङको औद्योगिक क्षेत्र, बाँकेमा रहेको औद्योगिक क्षेत्र र अरु जिल्लाहरुमा रहेका उद्योगहरुसमेत सबैलाई विस्तार गर्दै थप लगानी भित्राउने र तिनलाई सुरक्षाको वातावरण बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित रहेको मन्त्री गिरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment