Comments Add Comment

सांसदलाई धम्की राजनीतिक अस्थिरता फैलाउने खेल : गृहमन्त्री

१७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरु पाललाई धम्की दिएको घटना राजनीतिक अस्थिरता फैलाउने उद्धेश्यले गराइएको बताएका छन् ।

नेकपाका सांसद पालले हालै मात्र आफूलाई पेस्तोल देखाएर धम्की दिएको बताएकी थिइन् ।

संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले यो घटना राजनीति प्रकृतिको रहेको बताएका हुन् । अहिले पनि विभिन्न मुद्दा उठाएर राजनीतिक अस्थिरता फैलाउन खेल भएको भन्दै उनले यसबारे सरकार सचेत रहेको बताए ।

‘अहिले देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । राजनीतिक स्थायीत्व कायम भएको छ’ उनले भने ‘तर राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेका छन्, त्यसलाई कुनै न कुनै रुपमा अघि बढाउन चाहन्छन् ।’

अहिले पनि देशमा धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रीय घटना उठाएर र त्यसलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता फैलाउने काम भइरहेको भन्दै गृहमन्त्री थापाले सरकार यसतर्फ सचेत रहेको बताए ।

गृहमन्त्री थापाले घटनाबारे जानकारी हुने वित्तिकै प्रशासनले सांसद पालको सुरक्षाका लागि कदम चालेको पनि जानकारी गराए । उनले यो घटनाको विषयमा गम्भीर छानबिन हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment