बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

डम्बरसिंहको काठमाडौं यात्रा : मनको कुरा मनमै रह्यो !

सिंहदरबारमा पोखिएन एकलासे डाँडाको मनको बह

Suzuki
शिव मुखिया

स्थान : सिंहदरबार परिसर । समय : मध्यान्ह

करिब दुई बर्षअघि इलामको माइपोखरीको एकलासे डाँडामा पहाड कोट्याइरहेका डम्बरसिंह सुनुवारलाई कुरैकुरामा सोधेका थियौं, ‘टीभी हेर्नुहुन्छ बाजे ?’

‘हँ ?’ बाजेले अनभिज्ञता प्रकट गरेका थिए, ‘के ?’

हामीले प्रश्न दोहोर्‍याएपछि उनले ‘हेर्दिनँ’ भन्ने संकेत गर्दै टाउको हल्लाएका थिए ।

हेर्नका लागि उनीसँग टेलिभिजन पनि थिएन । सम्भवतः रौस पनि थिएन । उनले भनेका थिए, ‘बालबच्चा मारिएपछि मीठो खाएको पनि स्वाद छैन, रमाइलो गर्न मन छैन ।’

उनै बाजे यसपालि सिंहदरबार छिरे । हामीले उनलाई भेट्यौं, नेपाल टेलिभिजनको भवनमा ।

बाजे करिब ४ फुटको सोफामा कुक्रुक्क परेर सुतिरहेका थिए । झट्ट हेर्दा कुनै संग्रहालयबाट थपक्क उचालेर ल्याइएको पौराणिक मनुवाजस्तै । त्यसैले त त्यहाँ रमिता थियो । टेलिभिजनका कर्मचारीहरु आउँथे, जिज्ञासु दृष्टि राख्थे, सुमसुम्याउथे । र, सोध्थे, ‘केका लागि आउनुभएको बा ?’

एक दुर्लभ पात्र !

भन्ने नै हो भने, यी दुर्लभ पात्र हुन् । लोभ र भोग दुबैबाट मुक्त जीवन बिताए उनले पचास बर्षयता । त्यसबीचमा उनी इलाम, माइपोखरीको एकलासे डाँडामा बसे । बसेनन् मात्र, चलायमान रहे ।

बिहान घामको लाली धर्तीमा पोतिन नपाउँदै आफ्नो झुप्रोबाट बाहिर निस्कने उनी साँझ आँखा देखुञ्जेल माटो र ढुंगामा जोतिन्छन् । गौथलीले गुँड बनाएजस्तै एकनासले आफ्नै ढंगले काम गर्दागर्दै उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् ।

अहिले त उनी बस्ने छाप्रो पो कुरुप देखिन थालेको छ, उनैले शृंगारेको डाँडा सामुन्ने । माइपोखरीदेखि उत्तर-पश्चिमतर्फ मोडिएपछि उनैले बनाएको बाटो भेटिन्छ । त्यही बाटो हिँड्दै जाँदा मध्यतिर उनको छाप्रो भेटिन्छ । छाप्रो आसपासमा कतै मानव आकृति छन् । कतै मन्दिर । कतै कुवा त कतै चौतारो ।

मझौला ढुंगामा दुई मानव आकृति छन् । त्यसको बीचमा एउटा पेन्सिल आकारको आकृति पनि छ । त्यसमा ‘ट्वीच’ लेखिएको छ । सुने अनुसार, त्यो बमको आकृति हो । त्यही बम, जसले उनको नौरंगी जीवनलाई श्यामश्वेत बनाइदियो ।
यदि बमले आँखै अगाडि आफ्ना दुई लालाबालालाई रगतपच्छे बनाएर नउडाएको भए उनी पारिवारिक जीवन भोग गरिरहेका हुन्थे होलान् । तर, भइदियो अर्कै ।

फल्यासब्याक : चिसो दिनको प्रारम्भ

विसं. २०१८ साल । माघको चिसो महिना । सुवर्णशमसेरको कमाण्डमा चर्किएको सशस्त्र आन्दोलनसँग डम्बरसिंहको कुनै लिनु -दिनु थिएन । उनी त खेती किसानी गर्ने मान्छे । त्यसदिन पनि उनी खेतीकै काम गरिरहेका थिए । घर-आँगनमा दुई नावालक छोराछोरी खेलिरहेका थिए । १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममाया ।

विद्रोही  र शाही सेनाबीच गोली हानाहान भयो । कतैबाट बत्तिएर आएको बमले तिनै लालाबालाको ज्यान क्षतविक्षत बनाइदियो । आफ्नै आँखा अगाडि, आफैंले जन्माएर हुर्काएका बच्चाहरु यसरी मारिएको देखेपछि डम्बरसिंह विक्षिप्त भए ।

अब उनमा जीवनको कुनै रस रहेन । खाने, पिउने, लगाउने, घुम्ने, रमाइलो गर्ने सबै-सबै कुरा पखालियो । अन्ततः बिथोलिएको मन बहलाउन उनी ढुंगामा तिनै छोराछोरीको अनुहार कुँद्न थाले । बिहान उठेदेखि राति सुत्ने बेलासम्म अनवरत नै छिनो र मार्तोलले ढुंगामाथि ठुँगिरहे ।

कतै आफ्नै बच्चाको अनुहारको आकृति बनाए त कतै ‘श्री ५’ भनी राजालाई सम्बोधन गरेर मनको बह लेखे । यही सिलसिला जोड्दै उनले बाटो, चौतारो, कुवासमेत बनाए । र, बनाइरहेका छन् आजसम्म पनि ।

डम्बरसिंहको काठमाडौं यात्रा

माइपोखरीको आफ्नै झुप्रोमा सुस्ताइरहेका उनलाई हालैको साँझ आफन्तले सुनाइदिए, ‘बा, काठमाडौं जानुपर्‍यो रे ! प्रधानमन्त्रीसँग भेट्न । टीभीमा देखाउँछ रे !

टीभीमा देखिने मोहले भन्दा पनि प्रधानमन्त्रीसँग भेट्ने कुराले डम्बरसिंहको वृद्ध शरीरमा स्फूर्ति बढ्यो । बुढेसकालको रुघा ज्वरोले थलिएको ज्यानलाई उनले तन्काए । साँचेर राखेको एकथान दौरा सुरुवाल लगाए । र, बिहान मिर्मिरेमै घरबाट निस्किए, नातिलाई साथमा लिएर ।

माइपोखरीबाट इलाम बजार । इलाम बजारबाट चन्द्रगढी विमानस्थल । बुद्ध एयरको जहाजमा उड्दै करिब एकघण्टामा त्रिभुवन विमानस्थलमा ओर्लिए डम्बरसिंह ।

आफ्नो घरबाट एकै दिनमा, त्यो पनि दिन ढल्न नपाउँदै काठमाडौं आइपुगिन्छ भन्ने कुरा उनले जिन्दगीमा सायदै सोचेका थिए । जीवनको उत्तरार्द्धसम्म सुविस्ताले गाडी चढ्न नपाएका उनले हवाइजहाजमा चढ्ने कल्पना पनि सायदै गरेका थिए ।

गाउँको कुनामा दुःखजिलो गरिरहेका उनले कुनै दिन टेलिभिजनको स्टुडियोमा क्यामेरा अघिल्तिर बसेर प्रधानमन्त्रीसँग बात मारिएला भन्ने त झन् सायदै कल्पेका थिए । उनका निम्ति यी सबै अनपेक्षित क्षणहरु थिए ।

जसै उनी एकलासे पाखाबाट काठमाडौंको भिडभाडमा मिसिन आइपुगे, ९३ बर्षको जीर्ण ज्यान त्यसै-त्यसै लल्याकलुलुक गल्न पुग्योे । यो भिडभाड, यो चमक-धमक अनि यो कोलाहललाई उनले सहजै आत्मसात गर्न नसकेका हुन् कि ?

किनभने ९ दशकको जीवनकालमा उनी एक्लो जीवन बिताइरहेका थिए, एकलासे पाखामा । सम्भवतः उनले दिनभर कसैलाई भेट्दैनथे । कसैसँग दोहोरो बोल्नु पर्दैनथ्यो । मनको बात आफैसँग गर्थे होलान् । सुन्ने फुर्सद अरु कसलाई थियो र ?

विमानस्थलमै रिसिभ गर्न पुगेको टोलीले उनलाई गाडीमा राखेर कुनै होटलमा पुर्‍याए । सम्मानपूर्वक राखे । उनी चिया बिस्कुट खाएर अलि न्यानो, सुकिलो र नरम ओछ्यानमा पल्टिए । पल्टनासाथ निदाइपनि हाले । भोलि प्रधानमन्त्री जो भेट्नु थियो ।

मनको कुरा मनमै रह्यो !

बैंशालु उमेरमा उनले रेडियो सुने होलान् । तर, डम्बरसिंहको जमानामा टेलिभिजन थिएन । आज उनी सरकारी टेलिभिजनको स्टुडियोमा पुगेका थिए । अघिल्तिर क्यामेरै, क्यामेरा । लाइट । र, सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओली ।

मुलुकका कार्यकारी प्रमुखलाई सम्मुखमा पाएर उनले मनमा गाँठो परेको के-के कुरा फुकाउने हुन् ? प्रतिक्षा थियो । तर, उनी यति गलिसकेका थिए, यति थाकिसकेका थिए, उनको आवाज भित्रभित्रै भासिएको थियो ।

बोल्दा, त्यसबाट स्पष्ट शब्दहरु नै आउँदैनथे । केही गुनगुनाएजस्तो, केही भनेजस्तो गर्थे । के भनेका हुन् ? के भन्न खोजेका हुन् ? उनलाई बाहेक अरु कसैलाई थाहा हुँदैनथ्यो ।

काठमाडौं आउने कुरा सुन्दा उनको मनमा के-के कुरा खेल्यो होला ? प्रधानमन्त्रीसँग भेटेर के कुरा सुनाउँछु भन्ने थियो होला ?

तर, टेलिभिजनको चम्किलो सेट अघिल्तिर, सुरक्षा दस्ताका साथ आइपुगेका प्रधानमन्त्रीसँग भेट्दा डम्बरसिंहको मुखबाट बोली निस्किएन । करैले दुई/चार शब्द ओकले । त्यसभन्दा अगाडि बोल्नै सकेनन् । मनको कुरा, मनमै रह्यो !

प्रधानमन्त्रीसँग डम्बरसिंहको साक्षतकार जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधार नेपाल टेलिभजन लगायत विभिन्न टेलिभिजनबाट प्रसारण भइसकेको छ ।

२०७५ साउन १७ गते १८:४५ मा प्रकाशित (२०७५ साउन १८ गते ७:२४मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Bikash bastola लेख्नुहुन्छ    |   २०७५ साउन १७ गते १५:५३

    heart touching

    10
    0
    Share

  • TUKKE KANXO लेख्नुहुन्छ    |   २०७५ साउन १७ गते १६:०१

    विद्रोही माओवादी र शाही सेनाबीच गोली हानाहान भयो

    2
    3
    Share

  • केके लेख्नुहुन्छ    |   २०७५ साउन १७ गते १६:३५

    what men live by?
    तर लियो टाल्सटाईको यो शब्द पनि डम्बर सिंहको जीवनीसंग मिल्न आएन।
    कारुणीक ।

    3
    0
    Share

  • DINESH KANDEL लेख्नुहुन्छ    |   २०७५ साउन १७ गते १६:३६

    HUGE SALUTE BAA….

    6
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this