Comments Add Comment

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसद्वारा संसद बैठक बहिस्कार

१७ साउन, काठमाडौं । गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनामा सांसदहरुले उठाएको प्रश्नको गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए ।

कांग्रेस सांसदहरुले नियमवलीको धारा २१९ अनुसार प्रश्न सोध्न पाउनुपर्ने माग गरे । सभामुख कृष्णबहादुर महराले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भन्दै थुमथुमाए ।

परराष्ट्रमन्त्रीले बोलेपछि सभामुख महराले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे तर, ‘सभामुखले आजका लागि समय दिन सकिन’ भन्दै सदन अगाडि बढाए ।

लगत्तै कांग्रेस सांसदहरुले बैठक बहिस्कार गरे । सभामुखले संसद नियमावली अनुसार प्रश्न सोध्न पनि नदिएकाले सांकेतिक विरोध स्वरुप बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

सत्तापक्ष संविधान कार्यान्वयनमा गम्भीर नभएको र भएका ऐन नियम पालना पनि नगरेको भन्दै उनले सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए ।

सांसद मिनेन्द्र रिजालले प्रश्न सोध्ने अधिकार कुण्ठित भएको बताए । उनले भने, ‘सरकार यो बाटोमा जान्छ भन्ने आशंकामा उहाँहरुले थप प्रमाण पेश गर्नुभएको छ ।’

कांग्रेसले सत्तापक्ष र सभामुखले आफ्नो कमजोरी सच्याउनुपर्नेमा जोड दिएको छ । ‘हामी चाहन्छौं, सरकार सुधि्रओस् । तर, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ’ कांग्रेस संसद रिजालले भनेका छन् ।

सभामुख महराले भने कांग्रेसले बैठक नै बहिस्कार गर्नुपर्ने कारण नभएको बताए । शून्य र विशेष समयमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जानकारी दिएको भन्दै उनले भनेका छन्, ‘प्रश्न उत्तरको अर्को व्यवस्था छिट्टै हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment