Comments Add Comment

उपेन्द्र देवकोटाले पत्याएका डा. लेखजंग

अब कसले सम्हाल्ला उपेन्द्र देवकोटाको उत्तराधिकार ?

१७ साउन, काठमाडौं । बाँसबारीस्थित न्यूरो अस्पताल पुग्ने सबैजसो बिरामी र उनका आफन्त चाहन्थे, डा. उपेन्द्र देवकोटाले एकपटक छोइदिए हुन्थ्यो । एकपटक हेरिदिए हुन्थ्यो । देवकोटाले एकपटक हेरिदिएपछि आधा पीडा कम हुन्छ भन्ने उनीहरुलाई लाग्थ्यो ।

कसैले न्यूरोसम्बन्धी समस्या बताएमा गाउँघरमै पनि ‘एकपटक उपेन्द्र देवकोटालाई देखाउने हो कि’ भन्ने सल्लाह कोही न कोहीबाट आइ नै हाल्थ्यो । सल्लाहपछि बिरामीले अनुभव गर्थे, ‘अब म निको हुन्छु ।’

उनै डा. देवकोटा अब कसैले रिफर गर्न नसक्ने गरी हामीमाझ छैनन् । तत्कालै अर्को उपेन्द्र देवकोटा जन्मिनेवाला पनि छैनन्, यो सत्य हो । तर, डा. देवकोटा नहुँदैमा नेतृत्व हुँदैन भन्ने चाहिँ झूठ हो । भलै अबको नेतृत्वकर्ता डा. देवकोटाको बराबरी नहोला । वा अझ राम्रो पनि त हुन सक्ला ।

उसोभए डा. देवकोटाको शेषपछि उनले हुर्काएको/बढाएको न्यूरो अस्पताल कसरी चलिरहेको छ त ? कसले गर्दैछ अस्पतालको नेतृत्व ?

देवकोटाकी पत्नी प्रा. डा. मधु दीक्षित देवकोटा अस्पतालकी अध्यक्ष हुन् । तर, पति गुमाएको शोकमा रहेकी उनी आफैं अगाडि सर्ने सम्भावना कम छ । जेठी छोरी मेधा अध्ययनकै क्रममा छिन् ।

कसले नेतृत्व सम्हाल्ला त न्यूरो अस्पताल ? चिकित्सक तथा कर्मचारी भन्छन्, ‘नेतृत्व कसले गर्ला भन्ने समय आएपछि थाहा भइहाल्छ । तर, देवकोटाले पत्याएका डा. भने लेखजंग थापा हुन् ।’

डा. लेखजंग, जो बुवाको प्रेरणाले डाक्टर बने

प्रो. डा. लेखजंग थापा सन् २०१४ देखि कन्सलट्यान्ट न्यूरोलोजिस्टका रुपमा न्यूरो अस्पतालमा कार्यरत छन् । भैरहवाको अञ्चलपुरमा जन्मिएका लेखजंगले स्कुले शिक्षा लुम्बिनी शिशु सदनबाट पूरा गरे । नेपाल साइन्स क्याम्पसबाट आईएसी पास गरेका उनी एमबीबीएस पढ्न १९९६ मा मणिपाल मेडिकल कलेज पोखरामा भर्ना भए ।

डा. लेखजंगका पिता उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए । नियमित रुपमा डाक्टर भेट्ने गर्थे । तर, डाक्टरबाट राम्रो सेवा नपाएकै कारण उनी छोरालाई भन्थे, ‘बाबु डाक्टर बन्नुपर्छ । डाक्टर भएपछि पनि नर्बिसनु कि राम्रो बोल्नु पर्छ, बोलिले नै बिरामी आधा सञ्चो हुन्छ ।’ यो कुरा डा. लेखजंगको मानसपटलमा गडेको थियो ।

डाक्टर बन्न मणिपालमा भर्ना हुँदै नहुँदै उनका बुबालाई पक्षघात भयो, जुन आफैंमा ‘न्युरोलोजिकल डिस्अर्डर’ थियो । भर्खरै पढाइ सुरु गरेका लेखजंगलाई स्ट्रोक के हो, त्यसले कस्तो रुप लिन्छ थाहा थिएन । डाक्टरले सबै सञ्चो बनाउँछन् भन्ने सोच्थे उनी ।

डा. देवकोटा सहकर्मीहरुलाई भन्ने गर्थे, ‘आफ्नै बारीमा फलेको तरकारी हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।’ लेखजंग त्यही शैलीमा भन्छन्, ‘हामी त्यही बारीमा हुर्किएको तरकारी थियौं

तर, जब ‘डबल स्ट्रोक’ भयो, उनले बुवालाई बचाउन सकेनन् । मणिपालमा अध्ययनरत उनी भैरहवा गए । र, त्यहीबेला लेखगंजले प्रतिज्ञा गरेका थिए, ‘अब म न्युरोलोजिस्ट बन्छु ।’

एबीबीएस अध्ययन र इन्टर्न सकाएर सन् २००२ मा उनी मणिपालबाट बाहिरिए । त्यहाँ रहँदा डा. राणासित राम्रो थियो । उनकै सल्लाहमा लेखजंगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीमा नाम पनि निकाले ।

तर, अब आमालाई कसले हेर्ने ? यसैले उनले धरान नजाने सोच बनाए । त्यसबेला आमाले नै उनलाई हौसला दिइन् । यस्तोमा साथी दिलिप नापितले घरपरिवारमा आवश्यक परेको बेला सहयोग गरेर ठूलो गुण पनि लगाए । आफूलाई परेका बेला पाएको नापितको सहयोग उनी कहिल्यै भुल्दैनन् ।

डा. राणाले नै डाक्टर अफ मेडिसिन (डीएम) को अध्ययनका लागि पोष्ट ग्राजुएट इन्ष्टिच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिर्सच -पीजीआई) चण्डीगढ जान लेखजंगलाई सुझाए ।

किनभने त्यसबेला नेपालमा (डाक्टर अफ मेडिसिन) डीएम अध्ययनको अवधारणा आइसकेको थिएन । तर, चण्ढीगढ जानुअघि डा. राणाले फोन गरेर नेपालमै डीएम कोर्ष गर्न प्रस्ताव गरे । त्यसबेला डा. राणाले बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटासँग मिलेर चितवनमा न्युरोलोजी र काठमाडौंमा न्युरो सर्जरीतर्फ डीएमको अध्ययन सुरु गर्दै थिए ।

नेपालमा डीएमको अध्ययन सुरु नै नभएका कारण चण्डीगढ जाने कि चितवन भन्ने प्रश्न लेखजंगलाई पनि आयो । ‘मैले चण्डीगढ जान्न भनेँ’ लेखजंग भन्छन्, ‘किनकि चितवनमा बस्न पाएँ भने भैरहवामा रहेकी आमालाई भेट्न पाउँछु भन्ने लोभ थियो ।’

अहिले ग्राण्डी अस्पताल, धापासीमा कार्यरत डा. राजु पौडेलसँगै लेखजंगले डीएम न्युरोलोजीको अध्ययन थाले । त्यसलगत्तै अरु संस्थानहरुले पनि नेपालमा डीएम तहको अध्ययन सुरु गरे । यसको जस डा. राणासँगै डा. उपेन्द्र देवकोटालाई जान्छ ।

जब डा. लेखजंग र राजुले चितवनमा डीएमको अध्ययन सुरु गरे, काठमाडौंमा न्यूरो अस्पताल चलाइरहेका डा. देवकोटाले न्युरोलोजीका बिरामीलाई चितवनमा रिफर गर्न थाले । त्यस्ता बिरामीहरुको उपचारमा डा. राणासँगै डा. लेखजंग र राजुले काम गरे ।

सन् २०१२ मा डीएमको अध्ययन पूरा भएसँगै लेजगंज र राजुको चितवन बसाइ सकियो । डा. राजु ग्राण्डी अस्पतालमा काम गर्न थाले । उनले २०१४ मा लेखजंगलाई पनि बोलाएका थिए ।

डा. देवकोटाको फोन आएको त्यो क्षण

भर्खर खुलेको सुविधासम्पन्न अस्पताल, त्यसमाथि सँगै काम गरेका डा. राजु पनि भएपछि लेखजंगले ग्राण्डीमा गएर कुराकानी गरे । उनी त्यहाँ काम गर्ने सोचमा पुगिसकेका थिए ।

तर, उनी ग्राण्डी अस्पताल गएकै दिन राति डा. उपेन्द्र देवकोटाको फोन आयो । डा. देवकोटाको प्रस्ताव थियो, ‘तपाइँ कहीँ जान पाउनुहुन्न, मसँगै बस्नुपर्छ ।’

‘देवकोटा कुशल डाक्टर त हुनुहुन्थ्यो नै । त्योभन्दा बढी हाम्रा लागि आइडल हुनुहुन्थ्यो । उहाँको फोन आउनु मेरा लागि विनिङ प्वोइन्ट थियो’ लेखजंग अहिले त्यो क्षण सम्झन्छन् ।

उनलाई लाग्यो, अध्ययनका क्रममा जति प्रमाणपत्र पाएँ, त्योभन्दा ठूलो यही हो ।

डा. लेखजंग राति झण्डै १० बजेतिर नै न्यूरो अस्पताल पुगे । डा. देवकोटाले त्यही शब्द दोहोर्‍याए, ‘लेखगंज, तपाइँ कहीँ जान पाउनुहुन्न । मसँगै बस्नुपर्छ ।’

डा. लेखजंगले धेरै सोच्नुपर्ने कुरा केही थिएन । उनले भने, हुन्छ ।

डा. देवकोटाले सोधे, ‘मबाट के चाहनुहुन्छ ?

‘म यहाँ (न्यूरो अस्पताल) आउनुको एउटै उद्देश्य भनेको आफूमा भएको ज्ञान अरुलाई दिनु हो । यसमा म हजुरलाई साथ दिन सक्छु । मैले हजुरसँग माग्ने भनेको एउटै कुरा छ, मलाई मेरो घरगाउँलेले बनाएको हो, त्यो समाजले बनाएको हो, साथीभाइले बनाएको हो । म हप्ताको एक पटक भैरहवा जान्छु र त्यो क्षेत्रमा केही गर्न चाहन्छु ।’

डा. देवकोटा भावुक भए । ‘मैले पनि गोरखामा त्यस्तै गर्न खोजेको थिएँ, तर निरन्तर गर्न सकिनँ । तपाइँले त यो काम झनै गर्नुपर्छ’ डा. देवकोटाले भनेको सम्झिँदै लेखजंग भन्छन्, ‘त्यहीबेला मैले महसुस गरेँ कि डा. देवकोटा कति सकारात्मक हुनुहुन्छ ।’

त्यही दिनबाट सुरु भएको डा. देवकोटा र लेजजंगको सहकार्य निरन्तर चलिरहृयो । उनीहरुले उपचार र अध्यापनमा पनि सहकार्य गर्थे । न्यूरो सर्जरीमा देवकोटाले काम गर्थे भने न्यूरोलोजीमा थापा थिए, जसले त्यहाँ पूर्ण न्यूरो साइन्स बनाएको थियो ।

३ असारमा डा. देवकोटाको निधन भयो । तर, लेखजंग उपेन्द्र देवकोटाले सिर्जिएको अस्पताललाई फलाएर फुलाएर त्यो सहकार्य अझै जारी राख्न प्रयत्नरत छन् ।

हामी देवकोटाकै बारीमा फलेको तरकारी !

डा. देवकोटा सहकर्मीहरुलाई भन्ने गर्थे, ‘आफ्नै बारीमा फलेको तरकारी हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।’ लेखजंग त्यही शैलीमा भन्छन्, ‘हामी त्यही बारीमा हुर्किएको तरकारी थियौं ।’

डा. देवकोटा अब हामीमाझ छैनन् । उनको निधनसँगै देशले एउटा कुशल चिकित्सक गुमाएको छ । यसैले सबैले महसुस गरेका छन्, उनको रिक्तता सजिलै पूर्ति हुनेवाला छैन । यद्यपि डा. देवकोटाले अस्पताल र त्यहाँ आउने बिरामीलाई सुरक्षित हातहरुमा सुम्पिएका छन् ।

मलाई डा. लेखजंग भैरहवाले बनाएको हो, अञ्चलपुरले हो । काठमाडौंले होइन । तर, काठमाडौंले साथ दिएको हो, माया दिएको हो

न्यूरो अस्पतालमा थुप्रै लेखजंगहरु छन्, जो देवकोटाको सपना पूरा गर्न दत्तचित्त भएर लागेका छन् । त्यसैले उनीहरुबीच अस्पतालको नेतृत्वले कसले गर्ने भन्ने प्रश्न होइन, अस्पतालमा आएका बिरामीहरुलाई कसरी गुणस्तरीय सेवा दिन भन्ने चिन्ता छ ।

‘डा. देवकोटा हुँदासम्म महसुस भएको थिएन । तर, अहिले हेर्दा लाग्छ, सरले कसले के गर्ने, को कहाँ जाने भनेर सोचेर सबैलाई तयार पारिसक्नुभएको रहेछ’ डा. लेखजंग भन्छन् ।

कुरैकुरामा तपाईलाई त डा. उपेन्द्र देवकोटाले पत्याएका डाक्टरभन्दा रहेछन् नि भन्ने जिज्ञाशा राखेपछि उनी मुसुक्क हाँसे ।

सहकर्मीहरुका अनुसार डा. लेखजंग आफ्ना कुरा प्रष्टसँग राख्छन्, चुनौती लिन डराउँदैनन् । त्यतिकै लगनशील पनि छन् । उनको स्वभाव धेरै हदसम्म डा. देवकोटासँगै मिल्दोजुल्दो छ । आफू जन्मिए हुर्किएको ठाउँ, मातृभूमिप्रतिको माया उस्तै थियो । त्यसलाई डा. देवकोटाले चिने होलान् र उनमाथि विश्वास गरे । त्यसैले होला, लेखजंगलाई सहकर्मीहरुले डा. देवकोटाले पत्याएका डाक्टर भनिएको ।

उनलाई भने उपेन्द्र देवकोटाले पत्याएका भनेर घमण्ड गर्नु छैन । कामको यो विन्दुमा आएर कुनै विवादमा पर्न पनि चाहन्नन् । तर, कुन बाटो हिँड्ने भन्नेमा उनी प्रष्ट छन् ।

‘मातृभूमिको माया पनि उतिकै छ । उनी भन्छन्, ‘मलाई डा. लेखजंग भैरहवाले बनाएको हो, अञ्चलपुरले हो । काठमाडौंले होइन । तर, काठमाडौंले साथ दिएको हो, माया दिएको हो ।’

‘म हुर्किएको प्रिय माटो अञ्चलपुर भए पनि मेरा लागि देशका हरेक कुनामा बस्ने सबै आफन्त हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment