Comments Add Comment

नेपाली कामदार लैजान अफ्रिकी देश सेशेल्सको जीटुजी प्रस्ताव

नेपालीले गर्नुपर्ने काम– जेलमा डाकाको ड्युटी !


१८ साउन, काठमाडौं । अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्सले नेपाली कामदार लैजान नेपालसमक्ष प्रस्ताव गरेको छ । गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाटै नेपालबाट कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको हो ।

सेशेल्सले जीटुजीका लागि एमओयू गर्न प्रारम्भिक मस्यौदा पनि पठाएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव दीपक ढकालका अनुसार सेशेल्सले नेपालबाट सेक्युरेटी गार्ड लैजान चाहेको छ ।

त्यहाँका जेलहरुमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सुरक्षा गार्ड लैजान सेशेल्सले प्रस्ताव गरेको ढकाल बताउँछन् । सेशेल्सका जेलहरु विश्वकै सुविधायुक्तको सूचीमा समावेश भएका छन् ।

सुरक्षाको मामिलामा नेपालीहरु बहादुर हुने विश्वब्यापी सन्देशकै कारण सेशेल्सले आफ्ना जेलहरुको सुरक्षा जिम्मा नेपालीलाई दिन खोजेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लोपटक नेपाली कामदार लैजान प्रस्ताव गर्ने सेशेल्स अफ्रिकन युनियनमा आवद्ध देश हो । जुन, ११५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको छ

श्रम तथा रोजगार मन्त्रालयसँग सेशेल्सले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्वीपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको बताइएको छ । त्यसो त अहिले पनि सेशेल्समा व्यक्तिगत प्रयासमा थोरै संख्यामा नेपाली कामदार रोजगारीका लागि पुग्ने गरेको पाइएको छ ।

सहसचिव ढकालले सेशेल्सको अर्थतन्त्र, श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायतका विषयमा अध्ययन गरेर मात्रै के गर्ने भन्ने टुंगो लाग्ने बताए । कामदारको हितलाई केन्द्रविन्दुमा राखेर मात्रै निर्णय लिइने उनको भनाइ छ ।

सेशेल्सले वर्षमा कतिसम्म कामदार लैजाने भन्नेबारे जानकारी गराएको छैन । तर, राम्रो पारिश्रमिक पाउने र सुरक्षाको समस्या चुनौती नरहने अवस्था पाईएमा कामदार पठाउन सकिने सोचमा मन्त्रालय छ ।

कस्तो देश हो ससेल्स ?

सशेल्सको राजधानी भिक्टोरिया हो, जुन पूर्वी अफ्रिकाको मुख्यभूमि भन्दा १५०० किलोमिटर पूर्वमा छ । यो देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रमा बढी निर्भर छ । पर्यटनले सेशेल्समा करीव ३० प्रतिशतलाई रोजगारी दिएको छ । यस देशको जनसंख्या करिब ९५ हजार मात्र छ । माहे टापुमा मात्रै ७७ हजार जनसंख्या छ ।

सशेल्समा पर्यटनबाहेक कृषि र माछा मार्ने कार्यमा पनि धेरैले रोजगारी पाएका छन् । यो देशले माछा मार्ने र अन्य सामुन्द्रिक खानाहरु निर्यात गर्छ । कुखुरापालन, नरिवल र दालचिनी खेती पनि यहाँको आम्दानी हो ।

सेशेल्स हिन्द महासागरमा हुने समुन्द्री डाँकाहरुबाट पीडित मुख्य देशहरुमा पर्छ । जनसंख्याको अनुपातमा धेरै नै कैदीहरु रहेको देशको सूचीमा सेशेल्स दोस्रो स्थानमा छ ।

यहाँका एक लाख मानिसमध्ये औसत ९ सय जना जेलमा हुन्छन् । उच्च दरमा हुने सामुन्द्रिक डकैतीका कारण यस्तो अवस्था आएको हो ।

यस क्षेत्रमा समुन्द्री डाँकाहरुले गर्ने लुटपाटको कारण अन्तर्राष्ट्रिय समुदायलाई ७० वार्षिक करोडौं डलर घाटा हुने गरेको अनुमान छ ।

डाँकाहरुकै कारण सेशेल्सको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ४ प्रतिशत भन्दा धेरै नोक्सानी हुन्छ । सोमालियनहरु पनि यस क्षेत्रमा डकैतीका लागि पुग्ने गरेका छन् ।

श्रम गन्तव्यको विकल्प खोज्दै सरकार

धेरै नेपाली कामदारहरु धेरै जाने मलेसिया र साउदीमा हाल रोजगारीको संकट छ । त्यसैकारण सरकारले कामदारलाई श्रम गन्तव्यहरुमा विकल्प पनि दिन चाहेको मन्त्रालय स्रोत बताउँछ । भलै, ओली सरकारको प्राथमिकता देशमै रोजगारी सिर्जना गर्ने रहेको छ ।

श्रम गन्तव्यका विकल्पहरुबारे एक कार्यदलले अध्ययन गर्दै गर्दा सेशेल्सले सरकारी तहबाटै समझदारी गरेर कामदार लैजान इच्छा देखाएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लोपटक सशेल्सले जस्तै मोरिससले पनि नेपाली कामदार लैजाने इच्छा देखाएको छ । क्यानडा र पोर्चुगल पनि नेपाली कामदार लैजाने गरी जीटुजीका लागि छलफलमा छन् । जापानले पनि थप कामदार लैजान चासो देखाएको छ । युरोपका विभिन्न गन्तब्यमाथि पनि मन्त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको छ ।

यही अवस्थामा सेशेल्सले पनि इच्छा देखाएपछि सरकार उत्साहित छ । पछिल्लोपटक नेपाली कामदार लैजान प्रस्ताव गर्ने सेशेल्स अफ्रिकन युनियनमा आवद्ध देश हो । जुन, ११५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment