Comments Add Comment

जब जीवनसाथी बिराम हुन्छन्, यी हुन् तपाईको दायित्व

हामी चाहँदैनौ, आफ्ना जीवनसाथी बिराम भएको । तर, सबै कुरा हाम्रो हातमा हुँदैन । मानिसको शरीर सधै एकनास रहँदैन । कहीले काहीँ दुख-बिराम हुन्छ । रोग लाग्छ । थला परिन्छ ।

जब जीवनसाथी बिराम हुन्छन्, के गर्ने ?

किनभने एक त पारिवारिक दायित्व तपाईंमाथि आइपर्छ । अर्कोतिर बिरामी जीवनसाथीलाई स्यहारसुसार गर्नुपर्ने हुन्छ । यसरी दोहोरो जिम्मेवारीलाई एकसाथ निर्वाह गर्न पक्कै सजिलो छैन ।

अहिलेको एकल परिवारमा यो थप जटिल परिस्थिती हो । किनभने घर-परिवारमा आमाबुबा, हजुरबा, हजुरआमा, काका-काकी हुँदैनन् । श्रीमान् र श्रीमति मात्र हुन्छन् । यस्तो अवस्थामा दुईमध्ये एक जना रोगले थलिए भने त्यसलाई व्यवस्थापन गर्न एवं सुल्झाउन निकै गाह्रो हुन्छ ।

भनिन्छ, रोग नै सबैभन्दा ठूलो सत्रु हो । अर्को कुरा, रोग वा संकट बाजा बजाएर आउँदैन । यो अनपेक्षित र अप्रत्यासित रुपमा आइपर्ने दसा हो । त्यसैले यस्ता संभावित संकटलाई कसरी सामाना गर्ने भन्ने कुरामा दम्पतीले मानसिक रुपमा तयारी हुनु आवश्यक छ । नेपाली समाजमा एउटा भनाई चाहि के छ भने, ‘जस्तो पर्छ, त्यस्तै टर्छ ।’ तर, कतिपय कुरामा पूर्व तयारी गर्दा त्यस्ता समस्याहरुको निकास सहज रुपमा खोज्न सकिन्छ ।

के गर्ने त ?

जब जीवनसाथीको स्वास्थ खराब हुन्छ, दुख-विराम आइलाग्छ, तब आफुले त्यसलाई डटेर सामाना गर्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा अत्तालिएर वा हतोत्साही भएर वा दुखी भएर केही काम छैन । मनमा दुख आवश्य हुन्छ । तर, त्यसलाई बाहिर प्रकट गर्नु हुँदैन ।

दुख-विराम जो कसैलाई पर्न सक्छ । यस्तो  पीडा अधिकांशले छिचोलेको हुन्छ । हामीले मात्र झेल्नुपर्ने होइन । यही सत्यलाई बोध गरेर संयमतापूर्वक समस्याको निकास खोज्नुपर्छ ।

धैर्यता आवश्यक

यतिबेला चाहिने सबैभन्दा ठूलो कुरा भनेको धैर्यता हो । किनभने, एकातिर जीवनसाथी रोगसँग जुधिरहेका छन् । उनको उपचारमा खर्च हुन्छ नै । यता आफ्नो नियमित काममा पनि बाधा पुगिरहेको हुन्छ । बालबच्चाको स्यहार-सुसार, पठनपाठनमा पनि ध्यान दिनैपर्छ । अझ बालबच्चालाई ख्वाउने, विद्यालय पुर्‍याउने जस्ता अतिरिक्त काम पनि थाँती नै हुन्छ ।

यी अनेक किसिमका झन्झटमा हामी जति अत्तालिन्छौं, उत्ति नै काम बर्बाद हुन्छ । त्यसैले धर्यतापूर्वक सही ढंगले काम गर्नुपर्छ ।

प्रेमपूर्वक व्यवहार

जीवनसाथी विराम भएको बेला सामान्यभन्दा बढी प्रेम दर्शाउनुपर्छ । किनभने विरामीले जब प्रेम पाउँछ, उनीहरुमा एक किसिमको उर्जा प्राप्त हुन्छ । यसले उनीहरुमा रोगसँग लड्ने क्षमता बढाउँछ । विरामी निरास, दुखी र हतोत्साही भयो भने त्यसले थप हानी गर्छ । जबकी उनीहरुमा जोश, उमंग भएमा रोगसँग लड्न सक्छन् ।

चिकित्सकहरुले भन्छन् पनि, विरामीलाई उच्च आत्मामनोवलको खाँचो हुन्छ । आत्मामनोवल उच्च राख्नका लागि जीवनसाथीले खास भूमिका निर्वाह गर्नुपर्छ । आफुले जस्तोसुकै अवस्थामा पनि उपचार गर्ने र त्यो संभव तुल्याएरै छाड्ने प्रण गर्नुपर्छ । विश्वास दिलाउनुपर्छ । यस्ता कुराले पनि रोगीको मनमा उत्साह जाग्छ । उत्साहले उर्जा जाग्छ । उर्जाले रोगसँग लड्ने क्षमता बढ्छ ।

हाँसखेल गरौं

विरामीको अगाडि अँध्यारो अनुहार लगाउने, डराउने, थकित हुने, निरास हुने होइन । यसले उनीहरुमा निरासा पैदा गर्छ ।

बरु विरामीसँग हाँसखेल गर्नुपर्छ । उनीहरु के कुरामा खुसी हुन्छन्, के कुराले उनीहरुलाई रामाइलो गराउँछ भन्ने कुरामा आफुले ध्यान दिनुपर्छ । जस्तोसुकै परिस्थितीलाई पनि पचाउने क्षमता आफुसँग हुनुपर्छ । र, यो संकटको क्षणलाई पनि सामान्य रुपमा सामना गर्नुपर्छ ।

धेरै झर्को लाग्ने कुरा नगरौं

विरामी भएपछि आफन्त, चिनेजानेकाहरु भेट्न आउँछन् । यो हाम्रो सामाजिक परम्परा हो । मानविय गुण पनि । तर, मान्छेहरु भेट्न आइरहने । हरेकले ‘कस्तो छ ?’ भनेर सोधिरहने प्रवृत्ति हामीकहाँ छ ।

कतिपयले त विरामीकै अगाडि डर देखाउने कुरा पनि गर्छन् । कतिले हतोत्साही हुने किसिमको व्यवहार प्रदर्शन गर्छन् । यस्ता कुरामा भने जीवनसाथी भएका नाताले आफै सर्तक एवं सजग हुनुपर्छ । भेटघाटका लागि आएका आफन्त, साथीभाईलाई के कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाउनुपर्ने पनि हुनसक्छ ।

स्वस्थ जीवनशैली अपनाउने

रोग लागेपछि धेरै कुरा तहसनहस हुन्छ । पारिवारिक समस्या बढेर जान्छ । छोराछोरीको हेरविचार राम्ररी हुन पाउँदैन । त्यसैले सकेसम्म रोग लाग्नै नदिनु राम्रो हो । कुनै कारणवस आइपर्ने समस्या भनेका हाम्रो हातमा हुँदैन । त्यस्ता समस्याको सामना गर्नैर्पर्छ ।

तर, धेरैजसो समस्या हाम्रै कारणले पैदा हुन्छ । हाम्रो खराब जीवनशैली, खानपान, चिन्तनले यस्तो समस्या आउँछ । त्यसैले संभव भएसम्म स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment