Comments Add Comment

सांसद भन्छिन् : किसुनजी र देउवाका पालामा धेरै बलात्कार भए

'संसदमा सैद्धान्तिक कुरा उठाएकी हुँ, प्रतिपक्षलाई भनेको होइन'

१८ साउन, काठमाडौं । नेकपा सांसद शशी श्रेष्ठले विहीबार प्रतिनिधिसभामा बोल्ने क्रममा बलात्कारको विषयलाई राजनीतिसँग जोडिन् । कम्युनिस्ट सरकारलाई बदनाम गराउन बलात्कारका घटना बढेको हुन सक्ने सांसद श्रेष्ठले संसदमा बताइन् ।

शुक्रबार बिहानै अनलाइनखबरले महिला नेतृ श्रेष्ठलाई सोध्यो- हिजो संसदमा तपाईको ‘टंग स्लिप’ भएको हो ? जवाफमा उनले भनिन्- ‘मेरो टंग स्लिप भएको होइन, मैले बोलेको कुरालाई गलत ढंगले उछालिएको छ ।’

तथापि देशमा अहिले बलात्कारका घटना बढ्नुमा राजनीतिक कारण हुन सक्ने उनले प्रश्न उठाइन् । श्रेष्ठले अनलाइनखबरसँग भनिन्- ‘सरकारलाई असफल बनाउन यस्ता घटना घटाएको हुन सक्छ है भनेर मैले सरकारको ध्यानाकर्षण मात्र गराएकी हुँ । मैले कुनै प्रतिपक्षलाई इङ्गित गरेकी होइन ।’

अहिले देशैभरि बलात्कार र हिंसाका घटना बढेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना संसदसम्म पुगेको छ । यही क्रममा नेकपा सांसद श्रेष्ठले विहीबार संसदमा ३ मिनेट बोलेकी थिइन् ।

तर, कम्युनिस्ट सरकारलाई असफल पार्न बलात्कारका घटना बढेको भन्ने सांसद श्रेष्ठको अभिव्यक्तिपछि सोसियल मिडियामा उनको आलोचना भयो । बलात्कारलाई राजनीतिक रंग दिन खोजेको भन्दै उनको आलोचना भएको हो । तर, श्रेष्ठले भने अल्पज्ञानीहरुले आफ्नो आलोचना गरेको प्रतिक्रिया दिइन् ।

राजनीतिक रुपमा यस्ता जघन्य अपराधहरु हुने गरेका र सरकारलाई असफल बनाउने डिजाइन हुन सक्नेतर्फ सचेत हुनुपर्ने श्रेष्ठले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘हरेक विकासशील देशमा सरकारलाई असफल बनाउन आपराधिक समूहबाट यस्ता घटना हुने गरेका छन् । कतै नेपालमा पनि त्यस्तै हुन लागेको त होइन भनेर मैले प्रश्नमात्र उठाइदिएको हुँ । प्रश्न उठाउनु भनेको यकीन गर्नु त होइन नि ।’

महिला आन्दोलनको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेतृ शशी श्रेष्ठसँग अनलाइनखबरले ‘सरकार र बलात्कारको अन्तरसम्बन्ध’ बारे छोटो कुराकानी गरेको छ-

तपाईंले संसदमा बोलेको कुराको आलोचना भइरहेको छ, ‘टंग स्लिप’ भएको त होइन नि ?

मेरो ‘टंग स्लिप’ भएको होइन । मैले बोलेको कुरालाई गलत ढंगले उछालिएको छ । तपाईंले मेरो अगाडिदेखि पछाडिसम्मको सबै कुरा हेर्नुभयो भने प्रष्ट हुन्छ । मैले यस अगाडि बोलेको पनि तपाईंहरुलाई याद होला ।

राजनीतिक दलको पुच्छर समातेर अपराधको वैतरणी तर्नेहरुबारे पनि मैले बोलेकी छु । संसदभित्र तीन मिनेटमा सबै कुरा व्याख्या गर्न सकिँदैन । त्यही भएर सरकारलाई असफल बनाउन यस्ता घटना घटाएको हुन सक्छ है भनेर मैले सरकारको ध्यानाकर्षण मात्र गराएकी हुँ ।

बलात्कारका घटना गराएर सरकारलाई असफल बनाउन खोज्ने राजनीतिक दल वा समूह को हुन सक्छ ?

मैले कुनै प्रतिपक्षलाई इङ्गित गरेकी होइन । कतिपय अपराधिक समूहहरु यस्ता छन्, जो अस्थिरता निम्त्याउने र त्यो अस्थिरतामा जहिले पनि खेल्न खोज्छन् । त्योखालको कुरालाई मैले इङ्गित गरेकी हुँ ।

मैले त महिला हक हितको यही अभियानमा ४० वर्षभन्दा बढी जीवनयापन गरिसकेकी छु । सबै घटना थाहा छ । अहिले मात्र पनि होइन, मैले पहिला शेरबहादुर देउवाका पालामा पनि बोलेकी थिएँ, सायद तपाईंहरुलाई याद छ होला ।

देउवाका पालामा सबैभन्दा बढी बलात्कार लगायतका हिंसाका घटना भएका थिए । मैले सरकारलाई असफल बनाउन यस्ता घटना भएको हुनसक्छ है भनेर त्यतिबेला पनि भनेकी थिएँ ।

बलात्कारीले पार्टीका मान्छे खोजीखोजी बलात्कार गर्छ र ?

यस्ता घटना सबै सरकारका पालामा भएका छन् । शेरबहादुर देउवाका पालामा त झन् धेरै भएका छन् । त्यसैले बढावा दिन खोजेको त होइन, भनेर प्रश्न उठाइदिएर सरकारको ध्यानाकर्षण गराउने र सचेत गराउने काम गरें मैले ।

किनभने, यस्ता घटनामा कारवाही यदि हुँदैन र दण्डहीनताको अवस्था आयो भने सरकार असफल हुन सक्छ । सरकार असफल हुनु भनेको त सरकार मात्र होइन, सबै जनता असफल हुनु हो नि त ।

मैले बलात्कारका सबै कुरा राजनीतिकरुपले मात्र प्रेरित हुन्छ भन्न खोजेको होइन । अहिले कतै अपराधिक समूहबाट यस्ताखालका घटनामा बढावा दिने काम भएको त छैन ? भनेर प्रश्न उठाइदिएकी मात्र हुँ ।

हजुरबुवा, बुबा, काकाबाट पनि बलात्कार भएका घटना छन् । यसलाई पनि राजनीतिक रंग दिन मिल्छ र ? कि यसको विज्ञानसम्मत कारण खोज्ने ?

तपाईंलाई मैले भन्नैपर्छ, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्ताव नम्बर १८३० लाई हेर्नुस् त । उसले पनि यसलाई विश्लेषण गरेर के भनेको छ भने युद्ध-कार्यनीतिको रुपमा महिला र बालबालिकालाई योजनावद्ध किसिमबाट बलात्कारजस्ता घटना गराइन्छ भनेको छ । यो घटनामा आपराधिक समूह नै संलग्न हुन्छन् ।

मैले संसदमा यसको सैद्धान्तिक कुरा मात्र उठाएको हुँ । यस्तो पनि हुनसक्छ है भनेर प्रश्न मात्र गरेकी हुँ । तर, अगाडि-पछाडिको कुरालाई छोडेर बीचको कुरालाई मात्रै उछालियो । त्यो पनि मैले प्रश्न मात्रै उठाएको थिएँ, सरकारको ध्यानाकर्षण गराएकी थिएँ । यस्तो पनि हुन सक्छ है भनेर सरकारलाई सचेत गराएकी थिएँ । मैले कसैलाई किटानी गरेको छैन । राजनीतिक रुपमा भनेकै छैन मैले । आपराधिक समूहहरुले गर्ने कुराहरु हो यो ।

तपाईंले पहिलेको कुरा याद गर्नु भएको छ भने शेरबहादुर देउवाको पालामा झन् धेरै घटना भएका थिए । त्यो बेला पनि मैले बोलेको थिएँ । कुरै गर्ने हो भने, मेरो पार्टीको नेता त होइन नि शेरबहादुर देउवा ।

सरकारलाई असफल बनाउन राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि अपराधिक समूहहरुले नेपालमा मात्रै होइन, विकासशील धेरै देशहरुमा योजनाद्ध किसिमबाट यस्ता घटनाहरु घटाउँछन् । त्योबाट सरकार सचेत हुनुपर्छ भन्ने कुरा मात्रै हो मेरो ।

तपाईंले यही अभियानमा ४० वर्षभन्दा बढी जीवनयापन गरिसकेकी छु भन्नुभयो, अहिले कानून बनाउने ठाउँमा हुनुहुन्छ । यहाँको विचारमा नेपालमा बलात्कारका घटना किन बढिरहेका होलान् ?

बलात्कारका धेरैवटा प्रकृति हुन्छन् । पहिलो कुरा, मुख्य गरेर हाम्रोजस्तो मुलुकमा राजनीतिक अस्थिरता भएका बेला बढ्ने गरेको छ । दोस्रो कुरा, न्यून चेतनास्तर र सामाजिक मनोवृत्तिले गर्दाखेरि पनि हुने गरेको छ ।

तेस्रो कुरा, पाश्चात्य छाडा संस्कृति पनि यसमा जिम्मेवार छ । पाश्चात्य संस्कृतिमा पनि राम्रा पक्षहरु हुन सक्छन् । तर, राम्रा पक्षलाई नलिएर नराम्रा पक्षलाई मात्र अंगाल्ने, पोर्नोग्राफी जस्ता कुराहरुले पनि बलात्कारजन्य घटनाहरु बढ्ने गरेका छन् ।

चौथो कुरा- कतिपय स्थानमा बदलाको भावनाले पनि हुने गरेको छ । परिवार, अभिभावकसँग इबी भयो भने त्यो इबी केटाकेटीसँग साँध्ने गरेको पाइन्छ । बलात्कार मात्र होइन, अपहरणकै घटना पनि इबी साँध्ने हिसाबले, फिरौती उठाउने हिसाबले हुने गरेका छन् ।

काभ्रेको तिमालको घटना, नौ वर्षकी बालिका बलात्कारको घटना, अस्ति भर्खर मधेसमा फिरौती लिइसकेपछि पनि बालक हत्या भएको घटना यसका उदाहरण हुन् ।

म अस्ति भर्खरै बर्दिया गएर आएँ । त्यहाँ यस्तो कुरा थाहा पाइयो कि हजुरबुवाले नातिनी, बुवाले छोरीलाई बलात्कार गरे । यी सबै घटना राजनीतिक कारणले भए भन्ने मेरो भनाइ होइन । तर, राजनीतिक अस्थिरता कायम गर्नका लागि अपराधिक समूहबाट पनि हुन सक्छ । योजनावद्ध तरिकाले नै हुन सक्छ । बिभिन्न प्रकारले हुन्छ ।

यो प्रसंगमा मैले ०४६ सालको उदाहरण दिने गरेकी छु । ०४६ सालमा बलात्कारका घटना धेरै भए । आपराधिक समूहले ‘प्रजातन्त्रमा जे पनि गर्न पाइन्छ’ भन्दै बलात्कार गरेर प्रजातन्त्रमा छोरीचेली, श्रीमती सुरक्षित हुँदैनन् भनेर गलत प्रचार गर्ने प्रयास गरेका थिए । त्योबेलामा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । मेरो आलोचना गर्नेहरुले त्यो कुरा बुझ्नुपर्छ कि पर्दैन ?

यो त चरणबद्ध भइरहेको छ । मैले शेरबहादुर देउवाकै कुरा अघि पनि गरें । यस्ता चिजहरु हुन सक्छन् है भने उदाहरण दिएँ ।

राजनीतिक अस्थिरता निम्त्याउनका लागि अपराधिक समूहहरु हरेक देशमा सक्रिय रहेकै हुन्छन् । यसमा सरकार सचेत हुनुपर्छ । दण्डहीनताको स्थिति अन्त्य हुनुपर्छ र अपराधमा संलग्न जुनसुकै पार्टीको किन नहोस्, कारवाही हुनुपर्छ ।

सरकार अहिले यी विषयमा गम्भीर र सचेत भएजस्तो लाग्छ तपाईंलाई ?

सरकार अलिकति गम्भीर भएको जस्तो त देखिन्छ । तर, जसरी नियन्त्रणमा लिनुपर्ने हो, त्यो गर्न सकिरहेको छैन । त्यही भएरै मैले यस्ता कुराहरुमा यदि सचेत भएनौ भने तिमीहरु असफल हुन सक्छौ है भनेर सरकारको ध्यानाकर्षण गराएको हुँ । त्यो हो मेरो मूल कुरा । तर, सबै कुरा राजनीतिक हिसाबले प्रेरित हुँदैन । मेरो त मात्र प्रश्न हो । प्रश्न भनेको त यकिन होइन नि त ।

तर, सांसदहरुबाटै तपाईंको आलोचना भइरहेको छ, सोसियल मिडियामा कतिपयले त सांसद पदबाट तपाईंको राजीनामा समेत मागेका छन् । आलोचकलाई के भन्नुहुन्छ ?

मैले गरेको विश्लेषण यदि गलत हो भन्ने लाग्छ भने म पदको पछाडि दौडिने मान्छे होइन । जिन्दगीमा यति धेरै वर्षसम्म राजनीति गरेर बल्ल यहाँसम्म आएको छु । यदि म पदकै लागि दौडिने मान्छे हुन्थें भने योभन्दा अगाडि धेरै पदहरु पाउँथें होला ।

यदि मेराबारेमा कसैलाई थाहा छ भने म अवसर पाएर पनि बेइमान नभएकी मान्छे हुँ । मेरो बारेमा जसले टीकाटिप्पणी गरे, मेरो बारेमा थाहा नहुने मान्छेहरुले गरे कि भन्ने लाग्छ मलाई । कतिपय थाहा हुनेले पनि गरेका छन्, यसमा मलाई अचम्म लागेको छ । मजत्तिको मान्छेले यस्तो बोल्छु होला त भनेर उनीहरुले बुझेनन् ।

जबकि म पार्टीभित्र नै यस्ता घटनामा जिम्मेवार मान्छेहरुलाई कारवाही गर्नुपर्छ भनेर निर्भिकतापूर्वक उभिएकी मान्छे हुँ । मैले कसैको संरक्षण गर्नका लागि, पद जोगाउनका लागि गरेको होइन । मलाई के प्राप्ति गर्नु छ र यो उमेरमा ? म त सबै गुमाएर आएकी मान्छे हुँ ।

कसैलाई राजीनामा दिनुपर्छ भन्ने लाग्या छ भने पनि मलाई कुनै ठूलो कुरा छैन । अगाडि-पछाडिको कुरा छाडेर, त्यसको स्पिरिट, मूल भावना र मूल मर्मलाई छाडेर एउटा शब्द पक्रेर उछाल्ने कुराचाहिँ ठीक होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment