Comments Add Comment

मार्क्सको समाधिस्थलमा ‘कमरेड भाउजू’


कालो बादल आकाशमा मडारिइरहेको छ । कतिखेर पानी दर्कने हो ठेगान छैन । उसै पनि बिबिसीको मौसमी भाविष्यवाणीले बिहानको एघार बजेपछि दिनभर वर्षा हुन्छ भनेकै छ । पानीका कारण घरबाट हतारहतार तयार भएर निस्कन्छु । घरबाट आठ मिनेटजतिको पैदल यात्रा छ ट्रेन स्टेसनसम्मको । लामा फड्को मार्दै छु । आजको यात्रामा साथ दिएकी छिन् कमरेड भाउजूले ।

ट्रेन स्टेसनमा खासै भीडभाड छैन । अफिस र स्कुल जानेहरूले हो ट्रेनमा भीडभाड बढाउने । त्यो समय बितिसक्यो । पौने नौ बजेको ट्रेने गुड्यो । कमरेड भाउजूलाई बाटाभरि हातैमा समातेको थिएँ । टे«नमा सिट खाली देखियो । छेउको सिटमा राखेँ ।

यो हतारको यात्रा हो कार्ल मार्क्सको समाधि स्थलसम्म । त्यहाँ पुग्न करिब पैताँलिस मिनेटको एउटा ट्रेन यात्रापछि फेरि अर्को ट्रेन बदल्नुपर्दछ । दोस्राे ट्रेनको यात्रा करिब दश मिनेटको छ । स्टेसनमा उत्रेपछि दश/पन्ध्र मिनेट पैदल हिँड्नुपर्दछ । यति सामान्य जानकारीको भरमा यात्रामा निस्केको छु । बाँकी जे होला देखा जाएगा ।

लामो ट्रेन यात्रामा समय कटाउन कोटको खल्तीबाट आइफोन झिकेँ र इमेल चेक गरेँ । केही इमेलहरूको जवाफ फर्काएँ । त्यसपछि फेसबुक लगइन गरेँ । केही फेसबुके साथीहरूको जन्मदिन देखायो ।

चिहानघारीमा कुनै शुभकार्य हुन सक्छ ? अन्धविश्वासलाई च्यालेन्ज गर्न मैले मार्क्सबाटै सिकेको हुँ । मार्क्सकै समाधिस्थल अगाडि उभिएर पुस्तक विमोचन गर्ने भएपछि अरूलाई किन सोधूँ ? उनले नै भनेका छन्– धर्म भनेको अफिम हो

तीमध्ये आधाभन्दा बढीलाई चिनेको छैन । कहिल्यै भेटेको पनि छैन । तर पनि, लामो समयदेखि फेसबुक मित्र भएको नाताले आफ्नैजस्ता लाग्दछन् तिनीहरू । दुःखसुख बराबर बाँड्ने गरेका छौँ फेसबुकमै । फेरि फेसबुक पनि एउटा समाज जस्तो भइसक्यो आजकल । भच्र्युयल समाज । त्यही समाजको असल सदस्यको नाताले औपचारिकता पूरा गर्न भटाभट शुभकामना दिएँ ।

ट्रेन ठाउँठाउँमा यात्रु चढाउँदै उतार्दैै दौडिरहेको छ, आफनो समयमा । अझ भनौँ ठीक समयमा रोकिँदै दौडिँदै । अपवादबाहेक बेलायतमा ट्रेनलाई हेरेर घडीको समय मिलाए हुन्छ । उसो त घडीले पनि सधैँै ठीक समय कहाँ दिन्छ र ? राम्रै चलिरहेको घडी बिग्रेर कुनै पनि बेला बन्द पनि हुनसक्छ । मानिसको ज्यान पनि एकैछिनमा के हुन्छ कसलाई थाहा ? कुनै चिजको ग्यारेन्टी छैन यो संसारमा । ट्रेनको के कुरा ?

फेसबुक लगआउट गरेँ । सरसर्ती नेपालका समाचारको पोर्टलहरुमा आँखा डुलाएँ । उही संविधान सभाको किचकिच, महँगी, बेरोजगारी, बन्द हडताल, खाना पकाउने ग्याँसको अभाव । झर्को लागेर समाचार पढ्न छाडेँ ।

आइफोन बन्द गरेर कोटको खल्तीमा राखेँ । कमरेड भाउजूलाई सुमसुम्याउँदै काखमा राखेँ । झ्यालबाट बाहिर हेरेँ । सूर्यनारायणको अत्तोपत्तो छैन । धुम्म अँध्यारो जस्तो छ । मानिसहरूको खासै भीड छैन बाटामा । जनवरी महिनाको उराठलाग्दा छोटा दिन । पानी र हिउँको बारम्बार दर्शन पाइन्छ तर सूर्यनारायणको दर्शन दुर्लभ हुन्छ जाडो महिनामा । यी सबै हेर्ने बानी परिसक्यो ।

ट्रेन अन्तिम गन्तव्यमा रोकिएको कुरा फटाफट मानिसहरू उत्रेपछि थाहा पाएँ । अब अर्को ट्रेन बदल्नुपर्ने भयो । अगि आएको जमिनमाथि माथि दौडने ट्रेन थियो । अबको ट्रेन जमिनमुनि चल्ने ।

जमिनमुनि ट्रेन चलेपछि नेटवर्क सिग्नल हुँदैन । फोनले खेलौनाको काम मात्रै गर्दछ, गेम खेल्ने । गेम नखेल्नेले अँध्यारो सुरुङमार्गभित्र चल्ने ट्रेनस्टेसनको उज्यालामा देखिने मानिसहरू र त्यस स्टेसनको भित्तामा टाँसिएका ठूलठूला विज्ञापनका पोस्टर हेरेर चित्त बुझाउँदछन् ।

यात्रा छोटो थियो । करिब दश मिनेटमै स्टेसनमा उत्रिएँ म । मान्छेको भीड छिचोल्दै बाहिर निस्केँ । जमिनमुनि चल्ने ट्रेनलाई ट्युब भनिन्छ लन्डनमा । हरेक ट्युबमा मान्छेको भीड अचाक्ली हुन्छ । नहोस् पनि किन ? एक सय बाउन्न वर्षअघि बनाइएको सुविधा अहिलेको बढ्दो जनसङ्ख्याको अनुपातमा कसरी पुगोस् ?

बहिर निस्केपछि आइफोनले सिग्नल टिप्यो । एउटा टेक्स्ट म्यासेज आएको रहेछ ।

‘तपाईं कता ?’ साथी जोनाथनले पठाएको ।

उसलाई थाहा थियो आज मेरो छुट्टी हो भनेर ।

‘चिहानघारीमा’ छोटो एसएमएस पठाएँ ।

‘कसको निधन भयो ?’ उसले दुःखी हुँदै सोध्यो ।

‘विस्तृत भरे भनौँला’ यति लेखेर मैले कुरा टुङ्ग्याएँ ।

ट्रेन स्टेसनबाट करिब दश/पन्ध्र मिनेट हिँडनुपर्ने कार्ल मार्क्सको समाधि स्थल पुग्न । यति मात्रै थाहा थियो मलाई । बाटो थाहा थिएन ।

प्रविधिले सजिलो बनाइदिएको छ । खल्तीबाट फोन झिकेँ । जानुपर्ने ठाउँको ठेगाना टाइप गरेँ । गन्तव्य १२ मिनेट टाढा रहेको जनायो । त्यसले देखाएको बाटोमा अगाडि बढेँ । एक सय मिटर ठीकअगाडि गएपछि देब्रे मोडिनू भन्यो; म देब्रे लागेँ । त्यसपछि सीधै जानू भन्यो; त्यतै लागेँ । बाटामा खासै मानिसहरू छैनन् । अलिक बेरपछि दाहिने मोडिनू भन्यो; मैले सो आज्ञा पालन गरेँ र अगाडि बढदै गएँ ।

करिब सात/आठ मिनेट हिँडेपछि एउटा पार्क अगाडि पुगेँ । दिशा निर्देश गर्ने गुगल म्याप पनि अलमल पर्‍याे । एकैछिनमा फेरि नयाँ बाटो बतायो । पार्कबाट दाहिने जाऊ । करिब सय मिटर दाहिने गएपछि देब्रे जाऊ भन्छ । उसको गन्तव्य त उही अगि आएको ट्रेन स्टेसनतिर पो देखायो । म फेरि पार्कको गेट अगाडि फर्केँ ।

बिलकुलै मानिसहरूको चहलपहल छैन पार्कअगाडिको गल्लीमा । कोही बाटामा हिँड्लान् र ठेगाना सोधुँला भनेर पर्खेर बसेँ । सानो बच्चालाई डोर्‍याएर आउँदै गरेकी एक अङ्ग्रेज महिलालाई परैबाट देखेँ । पार्कअगाडि आइपुगेपछि अङ्ग्रेजीमा सोधेँ ।

‘तपाईंलाई थाहा छ, कार्ल मार्क्सको समाधिस्थल ?’

यो पार्कभित्रबाट जानुपर्दछ । बाहिर निस्कने बित्तिकै तपाईंको देब्रेमा एउटा गेट हुनेछ । त्यहाँबाट भित्र पस्नोस्, त्यहीँ कार्ल माकर््स बाँचिरहेका छन् । कुराबाट लाग्दथ्यो उनमा कार्ल मार्क्सप्रति सम्मान छ ।

धन्यवाद भनेँ मैले ।

(तपाईं भारतीय हो ?) उसले सोधी ।

(नेपाली हो) भनेँ ।

(तपाईं माओवादी हो ?) फेरि सोधी ।

(हैन) हैन, म सामान्य मानिस हुँ । कुरा यतिमै टुङ्ग्याएर बिदा मागेँ अनि उसले भने अनुसार पार्कभित्र छिरेँ ।

हिउँदमा पात झरेका उजाड रूख र हिउँले खाएर कक्रिएका भुइँका घाँस वसन्त पर्खिरहेका थिए । छोटो पैदल यात्रा रहेछ, करिब तीन/चार मिनेटमै पार्कबाहिर निस्कँे ।

देब्रेपट्टि एउटा गेट थियो । भित्र प्रवेश गरेँ । गेटमा बसेको व्यक्तिलाई भित्र जान चाहेको कुरा बताएँ । उसले एउटा हातेपर्चा थमाउँदै भन्यो चार पाउन्ड शुल्क लाग्दछ । पैसा तिरेर भित्र प्रवेश गरेँ । हातमा भएको पर्चामा समाधिस्थलको बारेमा सामान्य जानकारी थियो । भित्री पानामा भएको नक्सा पल्टाएर कार्ल मार्क्सको समाधिस्थल खोजेँ । गेटबाट दुई मिनेट पनि नलाग्ने रहेछ । एकैछिनमा पुगिहालेँ ।

वरिपरि विभिन्न व्यक्तिहरूको समाधिस्थल भएको ठाउँमा कार्ल मार्क्स विशाल अजङ्गको अर्धकदको सालिक ठडिएको देखेर अचम्म लाग्यो । शरीरमा एक प्रकारको तरङ्ग पैदा भयो । मुट्ठी कसेर हात उठाउनुपर्दथ्यो होला, अगाडि पुगेपछि श्रद्धाले मेरो शिर निहुरियो । नमन गरेँ महान् व्यक्तित्वलाई ।

खास गरी कमरेड भाउजूलाई कम्युनिस्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको सालिक देखाउनु थियो । अझ भनौँ कार्ल मार्क्सलाई कमरेड भाउजू देखाउनु थियो । कमरेड भाउजू र कार्ल मार्क्सको भेटघाट भएको कुरा संसारलाई देखाउनु थियो । संसारलाई देखाउने प्रमाणका रूपमा फोटो खिच्नु थियो । तर, त्यहाँ म एक्लै गएको थिएँ ।

त्यस सुनसान समाधि स्थल वरपर हेरेँ । त्यहाँ बिलकुल मुर्दा शान्ति थियो । फोटो खिचिमाग्नुपर्‍याे कोही छन् कि भनेर नजर लगाएँ ? करिब दश मिनेट यता हेरेँ; उता हेरे अहँ, कोही देखिएनन् । फर्केर गएँ गेटमा । टिकट काट्ने व्यक्तिलाई नै अनुरोध गर्नुपर्‍याे भनेर ।

अठार÷बीस वर्षका दुई जना गोरी युवती क्यामेरा बोकेर मूल गेटबाट भित्र पस्दै गरेको देखेँ । म टक्क अडिएर वरपरको फोटो खिच्न थालेँ । उनीहरू पनि फोटो खिच्दै थिए । फोटो खिचिदिन अनुरोध गर्ने अनुकूल समय पर्खिरहेको थिएँ । उनीहरूले फोटो खिचिसकेछन् क्यारे । त्यहीँबाट फर्कन लागेको देखेपछि अनुरोध गरेँ ।

एउटा कालो कपाल भएको विदेशीले मस्त तरुनीलाई गरेको सो अनुरोधले उनीहरू धकाए । जवाफ नै दिएनन् । म आफू लेखक भएको र मेरो पुस्तक यहीँबाट सार्वजनिक गर्न चाहेको बताएँ । र पुस्तक देखाएपछि कार्ल मार्क्सको समाधिस्थलसम्म गएर फोटो खिचिदिन राजी भए । उनीहरूले मेरो आइफोनबाट धित मरुन्जेल मेरो फोटो खिचिदिए । खिचेको फोटो पटक पटक देखाउँदै कति फोटो खिचे, खिचे ? आखिर जति पटक खिचे पनि म उही हुँ, मार्क्सको सालिक उही थियो । धुम्म परेको दिन र एन्टिलाइट परेर भनेजस्तो राम्रा फोटा आएनन् । जे आयो त्यसैमा चित्त बुझाएँ र उनीहरूलाई धन्यवाद दिएर बिदा गरेँ ।

त्यहीँबाट मेरो पुस्तक कमरेड भाउजू आफैँले विमोचन गरेँ भनेर फेसबुकमा र ट्विटरमा फोटो पोस्ट गरेँ । त्यसपछि मार्क्सको समाधिस्थल वरपर ककसका समाधि रहेछन् भनेर हेर्न निस्केँ ।

सन् १८३९ देखि सञ्चालनमा आएको यो विशाल समाधिस्थलमा धेरै नाम चलेका लेखक, विद्वान्, कलाकार, राजनीतिकर्मी, वैज्ञानिक आदिको समाधिस्थल रहेछ । सैँतीस एकड जमिनमा फैलिएको रहेछ । बाउन्न हजारवटा समाधिस्थलमा एक लाख अठसट्ठी हजार जना समाधिस्थ गरिएको रहेछ । कतिपय परिवारको एउटै समाधि स्थल हुँदो रहेछ । जिउँदो हुँदा सँगै रहेका परिवार मृत्युपछि पनि सँगै समाधिस्थ गर्ने यो चलन मलाई मन पर्‍याे । परिवारको साथ जन्मदेखि मृत्युसम्म !

दार्शनिक कार्ल मार्क्सको समाधिस्थलको जग्गा जिन्दगीभर साथ दिएका उनका प्रिय मित्र र कम्युनिस्ट दर्शनका प्रवर्तकमध्येका एक एङ्गेल्सले किनिदिएका रहेछन् । सन् १८८३ मा निधन भएर समाधिस्थ गरिएका मार्क्सको त्यहाँ सन् १९५६ मा विशाल ठूलो सालिक बनाइको रहेछ ।

मार्क्सको समाधिस्थलको अर्कोपट्टि नजिकै अफ्रिकन कम्युनिस्ट पार्टीका नेता युसुफ डादु, क्लाउडिया जोन्सलगायतका समाधिहरू रहेछन् । रमाइलो रोचक कुरा के छ भने जिन्दगीभर मार्क्सका कट्टर विरोधी, आलोचक तथा राजनीतिक विचारक हर्बट स्पेनसरको समाधिस्थल भने मार्क्स ठीकअगाडि रहेछ । परस्पर विरोधी तथा आलोचकको समाधिस्थल यसरी आमनेसामने राख्नु भनेको स्वर्गमा पनि विरोध र तर्क गरिरहुन भन्ने त होला नि । आफ्नै तर्कले एकछिन त मनमनै हाँसो पनि उठ्यो ।

हुन त त्यहाँबाट मार्क्सको सालिक हटाउन कम्युनिस्ट विरोधीहरूले बेलाबेलामा विरोध पनि गर्दा रहेछन । सन् १९७० बम प्रहार गरेर ध्वस्त बनाउन खोजिएको र सन् १९८१ मा तोडफोड गरेर नष्ट गर्ने प्रयास गरिएको रहेछ तर दुवै योजना सफल भएनछन् । आजकल पनि बेलाबेलामा त्यो सालिक हटाउन विरोध गर्दा रहेछन् । यस्तो घटना थाहा पाउँदा नेपालमा प्रथम जनआन्दोलन ०४६ र दोस्रो जनआन्दोलनको समयमा तोडफोड गरिएका सालिक सम्झन्छु । सालिक भत्काएर विचार कहाँ मर्दछ र ? त्यो त क्षणिक आवेगबाहेक केही होइन । वरपर घुमी ककसका सालिक रहेछन् हेर्दै थिएँ । पानीका मसिना छिटा बर्सन थाले । हतारहतार ट्रेन स्टेसनतर्फ दौडिएँ । ट्रेन स्टेसन पुगरे भिजेको कपाल र लुगा टकटक्याएँ ।

पाँच मिनेटपछि ट्रेन आउने सूचना मोनिटरमा डिस्प्ले भएको थियो । आइफोन खल्तीबाट झिकेर फेसबुक लगिन गर्ने विचार गरेँ । जमिनमुनि भएकाले नेटवर्क सिग्नल थिएन । त्यो त भुसुक्कै बीर्सेछु । त्यसपछि अगि खिचेका फोटाहरू हेर्न थालेँ । हेर्दाहेर्दै यति मग्न भएछु कि ट्रेनबाट उत्रेका मानिसको भीडले धक्का दिएपछि मात्र थाहा पाएँ ट्रेन त प्लेटफर्ममा अगि नै आइसकेको रहेछ ।

करिब दश मिनेटपछिको छोटो यात्रापछि अर्को ट्रेन बदल्नु थियो । अब जमिनमाथि चल्ने ट्रेनमा चढेँ । जमिनमाथि चल्ने ट्रेन भएकाले टेलिफोनमा सिग्नल मज्जाले पक्डियो । हतारहतार फेसबुक लगिन गरेँ । अहो कति धेरै लाइक, कमेन्ट्स आएका ? धेरैले पुस्तक विमोचनबारे हृदयदेखि शुभकामना र बधाई दिएका थिए ।

फेसबुकका एक जना मित्रले लेखे– ‘किन कार्ल मार्क्सको समाधिस्थलमा कथासङ्ग्रह विमोचन गरेको ?’

मैले जबाफ दिएँ– यसको बारेमा कुनै दिन लेखुँला ।

‘प्रमुख अतिथि छैन; सभापति छैन; कार्यक्रमको ब्यानर छैन; आफैँले आफ्नो पुस्तक विमोचन गर्ने यो कुन चलन हो ?’ एक जना ढर्रावादी लेखकले इनबक्समा म्यासेज पठाए ।

उनलाई पनि अगि लेखेको जबाफको कपी गरेर टाँसिदिए र मनभरि अनेक थरीका कुरा खेलाउँदै ट्रेनको यात्रामा पुस्तक विमोचनको उत्साहले मच्चिँदै आएँ । सर्जकभन्दा ठूलो अरूको हुन सक्छ ? आफूले बिहे गरेर ल्याएको दुलहीको घुम्टो उघार्न बाहिरको मान्छे बोलाउने ? आफूले जन्माएको सन्तानको मुहार हेर्न अरूको सहयोग लिने ? यस्ता विचारहरू केही वर्षदेखि मनमा आइरहेको थियो । एक दिन मैले निर्णय गरेँ ‘आफ्नो पुस्तक अबदेखि सके आफैँ विमोचन गर्दछु नसके अरूबाट मरिगए विमोचन गराउँदिन ।’ सोही पूर्वनिर्णयअनुरूप आफैँले आफ्नो कथासङ्ग्रह विमोचन गरेँ । हुन सक्दछ यो मेरा अराजक विचार हो । जसले जे भनून् म आफ्नो निर्णयमा अटल छु ।

त्यसो त कार्ल मार्क्सको समाधिस्थलमा कथासङ्ग्रह विमोचन गर्नुअगि धेरै पटक सोचँे । गर्नु कि नगर्नु भनेर कसैलाई सोधिनँ । यतिसम्म कि कथाकार श्रीमती र ठूला भएका छोराहरूलाई पनि सोधिनँ । न त मेरा साथीहरूलाई नै सोधेँ । ठाडो भाषामा भन्ने हो भने समाधिस्थल भनेको चिहानघारी । चिहानघारीमा कुनै शुभकार्य कसरी सम्पन्न हुन सक्छ ? यही परम्परामा हुर्केका मेरा परिवार र साथीभाइ । उनीहरूबाट आउन सक्ने नकारात्मक उत्तरका कारण कसैलाई सोधिनँ । अन्धविश्वासलाई च्यालेन्ज गर्न मैले मार्क्सबाटै सिकेको हो । मार्क्सकै अगाडि उभिएर आफूले लेखेको पुस्तक विमोचन गर्ने भएपछि अरूलाई किन सोधूँ ? मार्क्सले नै भनेका छन् धर्म भनेको अफिम हो ।

कथासङ्ग्रह त्यहाँबाट विमोचन गर्नुपर्ने धेरै कारण छन् । त्यसमा केही रोचक र अनौठो संयोग पनि छ ।

मेरो साहित्यिक यात्राको श्रेय मार्क्सवादी साहित्यलाई जान्छ । आठ कक्षा पढ्दादेखि नै लुकीछिपी मार्क्सवादी साहित्य पढ्ने गरेको थिएँ । त्यसैको निरन्तरताले मलाई साहित्यमा लाग्ने प्रेरणा र ज्ञान दियो । धन्य छु मार्क्सवादी साहित्यप्रति, जसले मलाई संसार बुझ्ने चेतना दियो ।

 

बेलायत आउनुअगि बेल्जियमको राजधानी ब्रसेल्समा बाह्रै्र वर्ष बसेँ । म बसेको ठाउँबाट बीस मिनेटको बसको यात्राबाट पुगिन्थ्यो, ब्रसेल्सको मुटु ‘ग्रेन्ड प्यालेस’ । त्यहाँ बाह्रै्रैमास पर्यटकको भीड हेर्नलायक हुन्छ । त्यहाँको चोक र पर्यटकको भीडभाड देखेपछि वसन्तपुर तथा पाटन दरबार स्क्वायरको झझल्को आउँदछ । त्यस स्क्वायरको दक्षिणपट्टि एउटा प्रसिद्ध क्याफे छ । त्यही क्याफेमा बसेर मार्क्स र एङ्गेल्सले विश्वलाई हल्लाउने कम्युनिस्ट घोषणापत्र लेखेका थिए । त्यहाँ अहिले पनि क्याफे र रेस्टुरेन्ट सञ्चालित छन् । त्यस्तो ऐतिहासिक क्याफेमा बसेर कैयौँँ पटक कफी पिउने सौभाग्य मिलेको थियो । एक पटक त त्यहीँ बसेर कफी पिउँदापिउँदै कविता पनि लेखेको थिएँ । म कति भाग्यमानी !

अझ रोचक कुरा भनूँ उक्त कथासङ्ग्रहका अधिकांश कथामा नेपालमा माओवादी द्वन्द्वकालको समयमा बेलायत पलायन भएका कमरेडहरू र केही कमरेडहरूबाटै पीडित पात्रहरू छन् । तीनीहरूलाई साङ्केतिक रूपमा कम्युनिस्ट दर्शनका प्रर्वतक मार्क्सको समाधिस्थलसम्म पुर्‍याउने चाहना थियो । त्यस्ता महान् दार्शनिक व्यक्तिबाट प्रभावित म । यस्तै प्रभाव र संयोगका कारण मैले सो कथासङ्ग्रह मार्क्सलाई स्मरण गर्दै उनैको समाधि स्थलबाट विमोचन गरेको हो । ट्रेनले आधा बाटो पूरा गरिसक्यो । बाहिर सिमसिमे पानी परिरहेको छ । ट्रेनमै समाचारपत्र र अनलाइन पत्रिकाकालागि पुस्तक विमोचनको समाचार खेस्रा बनाएँ ।

ट्रेनबाट उत्रने बित्तिकै स्टेसनमै फेरि फेसबुक खोलेँ । प्रशस्त बधाई र शुभकामना आएका रहेछन् । कसैलाई जबाफ नदिईकन आइफोन खल्तीमा हालेर पानीमा भिज्दै फटाफट घरतर्फ पाइला बढाए । घर पुगेपछि आफूलाई पुछपाछ गरेर अर्को लुगा लगाएँ । फटाफट कम्प्युटरमा विमोचनको समाचार टाइप गरेर पत्रपत्रिकामा पठाएँ । अनलाइन पत्रिकाले त उति नै खेर भटाभट समाचार छाप्न थाले । फेसबुकमा हल्लाखल्ला भएको त्यो अनौठो खालको पुस्तक विमोचनको समाचार कुरेर बसेका रहेछन् जस्तो लाग्यो अनलाइन पत्रिकाका सम्पादकहरू ।

पुस्तक विमोचनको समाचारले यति धेरै महत्व पायो कि म आफैँ छक्क परेँ । मैले थाहा पाएसम्म नेपालका राष्ट्रियस्तरका दैनिक, साप्ताहिक पत्रिकामा र अनलाइनमा गरी पचासी वटामा समाचार आएको रहेछ । सबै पत्रकार मित्रहरूले ठूलो गुन लगाएर सहयोग गर्नुभयो । आएजति सबै समाचारलाई फेसबुकमा राखेँ । कति मित्रहरूले त्यही समाचारका मुनि प्रतिक्रिया लेखे ‘अब त किताबै नपढे हुने भयो । …. पुस्तकको समीक्षा, टिप्पणी पत्रिकामा नछापिए पनि पुस्तकले राम्रै बजार पाउने भयो… आदि आदि ।’

यस पटक सोसियल मिडियाले तुरुन्त पार्ने प्रभाव र त्यसको व्यापकताबारे प्रत्यक्ष अनुभव गरेँ । धेरै दिनसम्म एउटा सफल काम सम्पन्न भएको आनन्दको अनुभूतिले तरङ्गित भइरहेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment