Comments Add Comment

गभर्नरको प्रश्न-यस्तो पाराले कहाँबाट आउँछ समृद्धि ?

१९ साउन, बुटवल । गभर्नर चिरन्जिवी नेपालले आन्तरिक उत्पादन बढाउन नलागेसम्म समृद्धि हासिल गर्न नसकिने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा सत्यवती लघु वित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय शनिबार उद्घाटनका क्रममा गभर्नर नेपालले युवा पुस्तालाई विदेशमा काममा जान रोकेर उत्पादनमा लगाउनुपर्ने धारणा राखे ।

‘हामी धेरैजसो नेपालीको ध्यान श्रीमान्, छोरा-छोरीलाई विदेश पठाए मात्रै पैसा कमाइन्छ भन्ने छ, के नेपाल मरुभूमि हो र यहां केही गर्न नसकिने ?’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भने, ‘कि नेपालीहरुको बुद्धि अरु देशका मान्छेको भन्दा कम हुन्छ भन्नुपर्‍यो,जसको कारण देश झन् झन् परनिर्भर हुंदै गएको छ ।’

उनले थपे-‘घर घरमा चाहे जति पैसा -ऋण) दिन बैंक/लघु वित्तहरु आइरहेका छन्, तर हामीहरु घर आंगनको पैसा टिप्न छाडेर दुःख बेसाउंदै खाडीमा भौंतारिरहेका छौं ।’

गभर्नर नेपालले स्वदेशमै केही गर्न चाहनेहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले सहजरुपमा ऋण दिने र ऋण लिएर जुनसुकै उद्यम गर्न सकिने प्रशस्त अवसरहरु रहेको औंल्याउंदै विदेश जाँदैमा पैसा नफल्ने बरु धेरै दुख कष्ट बेहोर्नुपर्ने सम्झाए ।

नीतिगत कुरा भन्दा ब्यवहारिक कुरा धेरै गरेका गभर्नर नेपालले महिलाहरुलाई लक्षित गर्दै जोड दिएर भने-‘श्रीमान् र छोरा छोरीलाई विदेश त पठाउँदै नपठाउनुस्,उता श्रीमानले दुख पाएको छ, यता घरमा बुढा बा आमा, छोराछोरी र श्रीमतीलाई चिन्ता, विदेशमा गर्ने मेहनत आफ्नै गाँंघरमा गर्‍यो भने त्यहां भन्दा धेरै कमाउन सकिन्छ ।’

कृषिजन्य वस्तु नै वर्षमा अर्बौंको आयात गर्नुपरेको उल्लेख गर्दै गभर्नर नेपालले आयातलाई प्रतिस्थापन गर्न खाद्यान्न, तरकारी, फलफूल र पशुपालनमा अझै पनि प्रचूर सम्भावना रहेकाले त्यसतर्फ लाग्न सुझाव दिए ।

नेपालको उर्बर माटो र हावापानी संसारकै राम्रो भएको तर्क गर्दै गभर्नर नेपालले विदेश जाने, आयात गरेको वस्तु किनेर खाने सोंच परिवर्तन गरी स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।

बिहान उठ्ने वित्तिकै नाकाबन्दी सम्झौं

गभर्नर नेपालले नेपाल कतिसम्म परनिर्भर भएको रहेछ भन्ने कुरा पछिल्लो समय भारतले गरेको नाकाबन्दीलाई सम्झे मात्रै पुग्ने स्मरण गराए ।

‘हाम्रो स्थिति के रहेछ भन्ने त ६ महिनाको अघोषित नाकाबन्दीले प्रमाणित गरिदियो नि, अझै पनि नचेत्ने ?’-जनप्रतिनिधिहरुलाई लक्षित गर्दै गभर्नरले भने-‘उर्बर भूमि बाँझा छन्, काम गर्न सक्ने युवा शक्तिलाई हामी आफै खाडीमा पठाउँछौं, यस्तो पाराले कहाँबाट आउँछ समृद्धि ?’

बिहान उठ्ने बित्तिकै रहेक दिन भारतले गरेको नाकाबन्दी सम्झेर युवा शक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने, उत्पादन बढाउने र देश बनाउने संकल्प गर्न जनप्रतिनिधिहरुलाई सुझाए ।

‘यो देश हाम्रो हो, हामी आफैंले बनाउने हो, विदेशबाट ल्याएको पैसा र विदेशीबाट देश बन्दैन भन्ने चेत सबै नेपालीका घरघरमा पलाउनुपर्‍यो’-गभर्नर नेपालले भने ।

कृषि उद्यम गर्न चाहनेलाई सरकारले ५ प्रतिशत सहुलियत ब्याज दरमा ऋण दिने नीति लिएको भएपनि अहिलेसम्म देशभर सात हजार सात सय जनाले मात्रै यो सुविधा लिएको उल्लेख गर्दै गभर्नर नेपालले बैंकबाट ऋण लिन नडराउन आग्रह गरे ।

‘मान्छे धनी हुने ऋण लिएर उद्यम गरेरै हो,बाउको सम्पत्तिले कोही धनी बन्दैन’-गभर्नरले थप सुझाउंदै भने-‘ऋणलाई बोझ हैन,अवसर सम्झेर काम गर्ने हो ।’

उद्योग,व्यवसाय गर्न अहिले सरकारी नीति नियमहरु पनि सहज रहेको र उत्पादन हुने वस्तुको बजारको कुनै समस्या नरहेको गभर्नरको दावी थियो ।

नेपालका ६० प्रतिशत जनता अझै पनि वित्तीय सेवाको पहुँच बाहिर रहेका,सुरक्षा र सञ्चार सुविधा अभावमा १ सय १६ स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको उल्लेख गर्दै गभर्नर नेपालले अब दुर्गम र विपन्न वर्गमा जान सुझाव दिए । संविधान कार्यान्वयनमा आएसंगै स्थानीय तह नै अधिकार सम्पन्न भएकाले केन्द्रको मुख नताक्न र आफै आत्मनिर्भर बन्न स्थानीय जनप्रतिनिधिलाई सुझाए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक पौडेल,बुद्धभूमि नगरपालिकाका प्रमुख केशवराज श्रेष्ठ,शिवराज नेगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, संस्थाका अध्यक्ष कमलप्रसाद ज्ञवाली, संचालक माधजराज आचार्य, रमा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत बाबुलाल नेपालले वित्तीय साक्षरता बढाउनुपर्ने खांचो औंल्याए ।

अधिकृत पुँजी ४ करोड,जारी पुंजी २ करोड २६ लाख र चुक्ता पुंजी १ करोड ५८ लाख २० हजार रहेको संस्थाको कार्यक्षेत्र कपिलवस्तु, रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान र जाजरकोट रहेको छ ।

हालसम्म तीन जिल्लाका १८ स्थानीय तहमा ५ वटा शाखा सञ्चालनमा ल्याई ३ सय ७२ समूह र १५ सय ९० सदस्य पुर्‍याएको संस्थाले संचालनमा आएको तीन महिनामा ५ करोड ३३ लाख कर्जा वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment