Comments Add Comment

तीन म्यानपावर व्यवसायीका तीन थरी कुरा !

आन्दोलन सरकारविरुद्ध कि आफ्नै अध्यक्षविरुद्ध ?

२० साउन, काठमाडौं । म्यानपावर व्यवसाय सञ्चालनका लागि सरकारले तोक्न लागेको ६ करोड धरौटीको प्रावधान बहसमा छ । म्यानपावर व्यवसायीहरुले सरकारमाथि आपत्ति जनाएका छन् । तर, यही विषयलाई लिएर म्यानपावर व्यवसायीवीचै झगडा पर्न थालेको छ ।

म्यानपावर व्यवसायीहरुले एकातिर श्रममन्त्रीविरुद्ध नेकपा नेताहरुसँग हारगुहार गरिरहेका छन् भने अर्कोतर्फ आफ्नै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको राजीनामासमेत माग्दैछन् । आन्दोलन सरकारविरुद्ध केन्दि्रत गर्ने या आफ्नै संघविरुद्ध ? यसबारे व्यवसायीवीच मत बाझिएको छ ।

आखिर ६ करोड प्रकरणमा म्यानपावर व्यवसायीवीच फाटो पर्नुको कारण के हो ? हामीले यसबारे केही म्यानपावर व्यवसायीहरुलाई सोधेका छौं-

संघ नालायक, अध्यक्षको भूमिका शंकास्पदः विमल ढकाल

संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसनिकट म्यानपावर व्यवसायी विमल ढकालले भने वैदेशिक रोजगार व्यवसायी संघ निकम्मा र नालायक भएको प्रतिक्रिया दिए ।

सरकारले व्यवसायीहरुलाई विस्थापित गराउने गरी ६ करोड धरौटी ल्याउन लागेको विषयमा समयमा नै व्यवसायीहरुलाई जानकारी नदिएर सरकारलाई सहयोग गरेको भन्दै ढकालले संघ निकम्मा र नालायक भएको बताए ।

उनले भने, ‘धरौटी बढाउन लागेको भन्ने कुरा थाहा हुँदाहुँदै पनि पनि संघले धरौटी कुनै हालतमा बढ्दैन भनेर हल्ला गर्‍यो, त्यो गलत थियो । अध्यक्षले यस विषयमा चनाखो हुनुपर्ने, त्यो पनि हुनुभएन ।’

निवर्तमान अध्यक्ष ढकालले संघका अध्यक्ष गुरुङको भूमिकामाथि नै प्रश्न उठाए । ‘आज सैयौं व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने गरी सरकारले धरौटी बढाउन लागेको छ, यो कुरा अध्यक्षले पहिले नै थाहा पाउनुभएको थियो,’ ढकालले भने, ‘तर, सही र सत्य कुरा अध्यक्षले समयमै व्यवसायीलाई जानकारी गराउनुभएन । उहाँको भूमिका नै शंकास्पद देखिएको छ ।’

धरौटी बढाउनु आवश्यक नरहेको र धरौटी बढाउने विषय कुनै पनि हालतमा व्यवसायीलाई मान्य नहुने ढकालले बताए । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन संघले कुनै पनि कार्य गर्न नसकेको समेत उनले आरोप लगाए ।

तर, म्यानपावर व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कम्पनीहरुको संख्या कम हुनुपर्दैन र ? सरकारले ल्याउन लागेको प्रावधानको विरोध किन ? अनलाइनखबरको प्रश्नमा ढकाल भन्छन्, ‘वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन अत्यन्तै आवश्यक छ, तर संख्या घटाउनका लागि धरौटी नै वृद्धि गर्नुपर्छ भन्ने सोच्नु गलत हो । संख्या घटाउन अन्य सहज उपायहरु पनि छन् ।’

माफियाहरुले आफ्नो पूँजी लगानी गरेर यो व्यवसायलाई एकलौटी बनाई सिण्डिकेट खडा गर्न धरौटीको रचना भएको हुन सक्ने ढकालले बताए । ६ करोड रुपैयाँ धरौटी पुर्‍याउनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफियाहरुको चलखेल हुन सक्ने ढकाल बताउँछन् ।

व्यवसायीहरु पार्टीभन्दा माथि उठौं : सीता देवकोटा

वैदेशिक रोजगार व्यवसायीका तर्फबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य रहेकी कांग्रेसनिकट व्यवसायी सीता देवकोटाले सार्वजनिकरुपमै संघका अध्यक्ष गुरुङलाई एक मिनेट पनि अध्यक्षको कुर्सीमा बस्ने हैसियत नभएको बताइन् ।

अध्यक्ष भएर गैरजिम्मेवार तरिकाले बोलेको, व्यवसायीको हितको पक्षमा भन्दा आफ्नै पार्टीको सरकारले गरेको निर्णयलाई भित्रभित्रै सघाएको देवकोटाको आरोप छ ।

यो समस्या सम्पूर्ण व्यवसायीहरुको समस्या भएकाले सबै व्यवसायीले मिलेर समाधान खोज्नुपर्ने देवकोटा बताउँछिन् । हरेक पार्टीका व्यवसायीहरुको हितमा काम गर्ने शुभेच्छुक संस्थाहरु भए पनि पार्टीगत स्वार्थभन्दा माथि उठेर व्यवसायीको हितमा सोच्न उनले आग्रह गरिन् ।

नेपाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य एवं व्यवसायी देवकोटाले धरौटी बढाउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताइन् । वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन संख्या घटाएर नहुने उनको तर्क छ ।

संख्या घटाउनकै लागि धरौटी वृद्धि गर्ने भन्ने कुरा न्यायसम्मत नभएको देवकोटा बताउँछिन् । संख्या घटाउने भए लाइसेन्स दिन नहुने उनको भनाइ छ । देवकोटा भन्छिन्, ‘दिनेबेलामा सञ्चालन अनुमति दिने, अनि सञ्चालन भइसकेपछि चाहिँ संख्या घटाउँछु भन्नु गलत हो ।’

सरकारले ल्याउन लागेको धरौटी वृद्धिको अवधारणाले महिला व्यवसायीहरु पूर्णरुपमा विस्थापित हुने उनले दाबी गरिन् । धरौटी बढ्ने कुरामा संघको धेरै कमजोरी रहेको उनले बताइन् । संघले धरौटीका विषयमा आलटाल र ढाँटछल गर्न खोजेको देवकोटाको आरोप छ । ‘संघ भनेको सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधि हो, एउटा पार्टीनिकटको व्यवसायी निर्वाचित भयो भन्दै संघलाई राजनीतिकरण गर्नुभएन,’ उनले भनिन्, ‘संघमा केही व्यक्तिको हालिमुहाली देखियो ।’

कांग्रेसनिकटले सहयोग गरेनन्ः अध्यक्ष गुरुङ

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ राजनीतिक आस्था जतातिर भए पनि व्यवसायीहरु एकजुट हुनुपर्ने बताउँछन् । तर, कांग्रेसनिकट व्यवसायीहरुले सहयोग नगरेको उनको गुनासो छ । संघले केही गरेन भन्नु गलत सोच भएको उनी बताउँछन् ।

विहीबारको भेलामा धेरै व्यवसायीहरुले उच्छृंखल गतिविधि गरेको भए पनि त्यसलाई आफूले ठूलो विषयका रुपमा नलिएको गुरुङले अनलाइनखबरलाई बताए ।

‘संघ आफैंले नीतिगत निर्णय गर्न सक्दैन, हामीले हाम्रो कुराहरु राख्ने हो, निर्णयकर्ता त सरकार हो नि,’ उनी भन्छन्, ‘सरकारले कस्तो निर्णय गर्छ, त्यसपछि संघ कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिइन्छ ।’

धरौटी बढाउने विषयलाई विधेयकमार्फत लगेर समस्या समाधान नहुने भन्दै अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न यो क्षेत्रमा रहेका समस्या छलफलको माध्यमबाट समाधान गर्नुपर्ने बताए । र, समस्याको समाधान खोज्न राजनीतिक भेटघाट तीव्र बनाउन लागिएको गुरुङले जानकारी दिए ।

आफूले केही नगर्ने र संघले पनि केही गरेन भन्नु विपक्षीहरुको विरोध गर्ने शैली गलत भएको गुरुङले बताए ।

‘संघले केही गरेन भन्नुहुन्छ, उहाँहरुले चाहिँ के गर्नुभयो त ?’ अध्यक्ष गुरुङ भन्छन्, ‘उहाँहरुको पार्टी पनि प्रतिपक्षमा छ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्न सकिन्थ्यो नि, खै त उहाँहरुले गर्नुभएको ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment