Comments Add Comment

जाजरकोटमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

२० साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटीबजार नजिक पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवितै उद्धार गरिएको उनले बताए ।

उनकी श्रीमति र बच्चाको भने ज्यान गएको उनले बताए । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।

‘बाँकी दुई जनाको पनि मृत अवस्थामा शरीर देखेका छौं । शवलाई निकाल्ने काम भइरहेको छ’, डिएसपी सिंहले अनलाइनखबरसँग भने, ‘अर्को एउटा घर पनि पुरिएको छ । त्यहाँ पनि उद्दार टोली खटिएको छ ।’

हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको बताइएको छ ।

गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग 

जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गरेका छन् ।

अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा ३ साउनमा घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।

घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा २५ हजार रूपैयाँका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताए ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताए ।

पीडितलाई जिल्ला दैविक प्रकोप समितिले दुई लाख १६ हजार रूपैयाँ उपलब्ध गराइसकेको छ ।

पहिरोमा परी ५५ वर्षीय ललित बुढा, उनका नातिनी ९ वर्षीया सिर्जना बुढाको पहिरोले घर पुरिदा मृत्यु भएको थियो । (राससको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment