Comments Add Comment

बुढीगण्डकीको मुआब्जा वितरणमा चरम लापरबाही

डुवानमा नपर्ने करिव ३५ रोपनी जग्गालाई तीन करोड मुआब्जा वितरण

२१ साउन, गोरखा । बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणमा चरम लापरवाही देखिएको छ ।

डुवानमा नपर्ने गोरखाको करिब ३५ रोपनी जग्गाको मुआब्जा वितरण भएको खुलेपछि लापरबाही भएको पाइएको हो । ‘डुवानमा पर्दै नपर्नै जग्गालाई पनि मुआब्जा वितरण भयो,’ स्रोत भन्छ, ‘कतिपय डुब्ने जग्गा चाही डुवानमा नपर्ने भनेर आको छ ।’

जग्गा डुवानमा नपर्ने भएपनि साविकको बुंकोट, नाम्जुङ्ग र फुजेलका २१ जनाले मुआब्जा पाएका हुन् ।

मुआब्जा वितरण समितिले उनीहरुलाइ करिव तीन करोड मुआब्जा रकम वितरण गरिसकेको छ । ‘सबैभन्दा बढी बुंकोटमा बाँडिएको छ, एउटै व्यक्तिलाई ४६ लाख वितरण भएको छ ।’ स्रोत भन्छ ।

लापरबाहीका कारण मुआब्जा वितरणमा भएको त्रुटी थाहा पाएपछि आयोजना र मुआब्जा वितरण समितिले आˆनो कमजोरी ढाकछोप गर्न उनीहरुलाई बाँडिएको रकम फिर्ता गर्न प्रक्रिया सुरु गरेको छ ।

केही व्यक्तिलाई प्रहरी परिचालन गरी पक्राउ गर्नसमेत पछि नपरेको समिति र आयोजनाले मुआब्जा रकम फिर्ता गर्न उनीहरुलाइ पत्राचारसमेत गरेको छ ।

आयोजनाको लापरवाहीले दुःख पाएको स्थानीयले गुनासो गरेका छन् । ‘साथीहरुले तेरो जग्गा पनि डुवानमा परेको छ भने, मैले मेरो डुवानमा पर्दैन भने, विश्वास नगरेनगर तैले त पैसा पाउदैनस् नी ! भनेर रिसाएर गए । लगतै सिउरेनटारस्थित आयोजना इकाइको कार्यालयमा गएर हेरे डुवानमा पर्ने भनेर नाम आएको रहेछ अनि प्रक्रिया पुर्‍याएर रकम लिएको हुँ,’ मुआब्जा लिएका एक स्थानीयले भने ।

आफ्नो कुनै गल्ती नभएको भन्दै आयोजनाको लापरवाहीका कारण समस्या भोग्नुपरेको उनले बताए ।

उनलाई रकम फिर्ता गराउन प्रशासनले प्रहरी परिचालन गरेर नियन्त्रणमासमेत लिएको थियो । ‘रकम लिनुमा हाम्रो के दोष छ र त्यो त आयोजनाकै कमजोरी हो, व्यर्थ हामीलाई दुख दिने ।’ उनले भने ।

पहिलो चरणमा मुआब्जा वितरण भएको गोरखाको साविक तीन गाविस (घ्याल्चोक, भूम्लिचोक र दर्वुङ) मा कुनै त्रुटी नआएपनि दोस्रो चरणमा मुआब्जा वितरण गरिएको साविकको तिन गाविस (बुंकोट, नाम्जुङ्ग र फुजेल) मा भने आयोजनाको चरम लापरवाहीका कारण त्रुटी भेटिएको छ ।

आयोजनाले निर्धारण गरेको डुवान क्षेत्र नापी कार्यालयमा रुजु भएर जानुपर्ने भएपनि सिधै मुआब्जा समितिमा पठाएपछि त्रुटि भेटिएको हो ।

‘पहिलेको तिन गाविसमा मुआब्जा वितरण अघि सबै डाटा हामी कहाँ अत्यावधिक भएर रुजु भएर गयो र केही समस्या आएन,’ नापी कार्यालयका एक कर्मचारीले भने, ‘तर बुंकोट, नाम्जुङ्ग र फुजेलको हकमा हामीकहाँ रुजु नगरी सिधै मुआब्जा वितरण समितिमा पठाइयो अनि समस्या आएको हो ।’ डुब्ने नडुब्ने जग्गाको रुजु नगर्दा समस्या भएको उनले बताए ।

गल्ती ढाकछोप गर्नका लागि अहिले आयोजनाले रातारात नापी कार्यालयमा डाटा रुजु गराएको छ । मुआब्जा वितरण भएका डुवानमा नपर्ने स्थानीयहरुसँग रकम माग गरेको छ ।

हालसम्म पाँच जनाले रकम फिर्ता गरिसकेको मुआब्जा वितरण समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए ।

‘पाँच जनाले पैसा फिर्ता गरेर जग्गा उनीहरुको नाममा पास गर्ने निर्णय गरिसकेका छौं, बाँकीलाई २५ गते भित्र फिर्ता गर्न भनेर पत्राचार गरेका छौ ।’ उनले भने ।

गोरखाको सिउरेनटार स्थित आयोजनाको वातावरण मुआब्जा वितरण पुर्नवास तथा पुनस्थापना इकाइका प्रमुख कृष्ण कार्कीले नापी नक्सामा केही कमजोरी हुँदा समस्या आएको बताए ।

‘ती जग्गाहरु पहिले जग्गा रोक्कामा सूचना प्रकाशित गर्दा पनि परे, यहाँबाट निकालेको सूचिमा पनि नाम छ, फेरि बुढिगण्डकीले तयार पारेर नापी र मालपोत कार्यालयमा राखेको रिपोर्टमा पनि छ, तर पछि आयोजनाको क्षेत्रफलको सिमानामा हामीले पिलर गाड्दा स्थानीयबाट पो थाहा भयो,’ उनले भने । अहिले पनि नापी कार्यालयमा रुजुको काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment