Comments Add Comment

अन्नपूर्ण गाउँपालिकामा हेलिकाेप्टर निषेध !


२२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पूर्वाधार निर्माण गरिरहेको छ । त्यसका लागि एक गाउँ एक हेलिप्याड निर्माण सरकारको योजना छ । तर, अन्नपूर्ण गाउँपालिकाले भने हेलिकाेप्टर अवतरणमा निषेध गरेको छ ।

गाउँपालिकाले अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलार्ड असर परेको भन्दै हेलिकाेप्टर अवतरणमा रोक लगाएको हो । उद्दारका लागि अरु बेला हेलिकाेप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइबेसनले वन्यजन्तु नै भागेका कारण गाउँपालिकाको चौथौ गाउँसभाले यस्तो निर्णय गरेको अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

पछिल्लो समय हेलिकाेप्टरमार्फत अन्नपूर्ण, माछापुच्छ्रे क्षेत्रमा जाने तथा घुम्ने पर्यटक बढेका थिए । गाउँपालिकाको यो निर्णय भदौदेखि लागू हुनेछ । हेलिकाेप्टर निषेधबारे हेलिसर्भिस कम्पनीहरुलाई जानकारी गराउने र अटेर गरे कारबाही गर्ने अध्यक्ष कुँवरको भनाइ छ ।

प्राकृतिक सम्पदाको संरक्षणका लागि यो कदम उठाउनु परेको कुँवरले बताए । यसअघि अन्नपूर्ण संरक्षण आयोजना एक्यापले पनि अनुमतिबिना सो क्षेत्रमा हेलिकाेप्टर अवतरण गर्न तथा नउडाउन भनेको थियो तर, हेलिकाेप्टर कम्पनीहरुले अटेर गरेर उडाउने तथा अवतरण गर्ने गराइरहेका छन् ।

अन्नपूर्ण बेसक्याम्पमै हेलिकाेप्टरमा जान पाइन्थ्यो । पैसा हुनेहरु हेलिकाेप्टरमा गएर हिउँमा खेलेर फर्किने गरेका थिए । केही हेलिकाेप्टर कम्पनीले अहिले पोखरादेखि अन्नपूर्ण बेसक्याप र माछापुच्छे आसपाससम्म यात्रु लिएर जाने गरेका छन् ।

संरक्षित क्षेत्र ऐनमा पनि जथाभावी हेलिकाेप्टर अवतरण गर्न नपाउने व्यवस्था छ । गाउँपालिकाले हेलिकाेप्टरमा रोग लगाएर पदमार्गको विकास र प्रवद्र्धन गर्ने नीति लिएको छ । नयाँ पदमार्ग पहिचान गर्ने, भएका पदमार्ग मर्मत सम्हार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्राउने योजना गाउँपालिकाको छ ।

अहिले अन्नपूर्ण गाउँपालिकामा विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लाग्द्रुक पदमार्ग, पुनहिल पदमार्ग, मर्दी पदमार्ग लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment