Comments Add Comment

प्रधानमन्त्रीको ब्रिफिङ : कांग्रेस उदण्ड भयो, मोदी उदार छन्

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै मेहनत गर्नुपर्ने भएको बताएका छन् ।

भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध राम्रो भएको तर, प्रमुख विपक्षी दल कांग्रेस जसरी हुन्छ सरकारलाई असफल बनाउन योजनामा लागेको उनको दाबी थियो ।

सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले ‘आज केही बि्रफिङ गर्छु’ भन्दै सम्बोधन सुरु गरेका थिए । उनले साढे २ घन्टा बोलेपछि बैठक भोलिलाई स्थगित भयो ।

जोशीको सिफारिस किन ?

सुरुमा ओलीले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस र अस्वीकार गर्नुका कारण खुलाएका छन् । उनले न्यायपरिषद्बाट आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको नेताहरुलाई बताएका छन् ।

‘अनुमोदन नगर्ने भनेर पठाएको होइन । केही कुरा आएपछि गर्न नमिल्ने जस्तो देखियो’ उनले भनेका छन् ।

प्रधानन्यायाधीशमा आफैंले सिफारिस गर्ने र आफैंले अस्वीकृत गर्न पार्टी सांसदहरुलाई हृवीप लगाएको भन्दै प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

कांग्रेस उदण्ड ढंगले प्रस्तुत भयो

प्रधानमन्त्री ओलीले भने कांग्रेस सरकारलाई जसरी हुन्छ असफल पार्नुपर्छ भनेर लागेको बताएका छन् । त्यसक्रममा बेलाबेला उदण्ड ढंगले प्रस्तुत हुन थालेको उनको विश्लेषण थियो । कांग्रेस त्यसरी आउनुमा अन्तर्राष्ट्रिय आयामहरु पनि होलान् भन्दै पश्चिमाहरुतिर संकेत गरेका छन् ।

राष्ट्रियता र शान्ति सुरक्षालाई खलल पुर्‍याउन सीके राउतलगायतका शक्तिहरु सक्रिय भएको पनि उनको विश्लेषण छ ।

मोदी उदार, चीनसँग राम्रो छ

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारको छिमेकी मुलुकहरुसँग सम्बन्धबारे पनि बताएका छन् ।

पछिल्लो समय भारतसँग सम्बन्ध सुधार भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्ष नेपाल र आफ्नो सरकारप्रति निकै उदार देखिएको उनको बि्रफिङ छ । यद्यपि भारतको कांग्रेस लगायतका शक्तिले भने अहिले पनि विभिन्न बहानामा खेल्ने खोजेको उनले बताएका छन् ।

अर्को छिमेकी चीनसँग पनि सम्बन्ध राम्रो भएको ओलीले बि्रफिङ गरेको सचिवालयका एक सदस्यले बताएका छन् ।

अझै मेहनत गर्नुपर्ने देखियो

पछिल्लो समय नेकपामा नेताहरुले सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने माग उठाएका छन् ।

बुधबारको बैठकमा ओली यसप्रति नरम देखिएको एक नेताले बताए । उनका अनुसार ओलीले सरकारले अझै मेहनत गर्नु पर्ने देखिएको बताएका छन् । ‘सरकारबारे धेरै कुरा त भएन । उहाँले राम्रो काम नगर्नेहरुले विदा पाउनसक्छन् भनेको छु भन्नुभएको छ’ एक नेताले भने ।

सरकारलाई अझ प्रभावकारी बनाएर पार्टी र मन्त्रिपरिषद्मा रहेकाहरु एकवद्ध भएर लाग्नुपर्ने उनको धारणा थियो ।

नेताहरुका अनुसार भोलिको सचिवालय बैठकमा सांगठनिक विषयमा छलफल हुनेछ भने सरकारको कामकारबाहीको समीक्षा गर्न छिट्टै स्थायी कमिटी बैठक बोलाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment