Comments Add Comment

कांग्रेस युवा नेताहरुको स्वीकारोक्तिः हाम्रै कारण ‘नेकपा’ जुरमुरायो

२३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेताहरुले आफूहरुकै कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुरमुराएको स्वीकार गरेका छन् ।

नेविसंघको १२ औं महाधिवेशन सुनिश्चितता लागि भन्दै बुधबार राजधानीमा भएको अन्तक्रियामा युवा नेताहरुले कांग्रेस आन्तरिक रुपमा एकढिक्का भएर प्रस्तुत हुन नसक्दा सबैतिर कमजोर हुन पुगेको बताएका छन् ।

कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर भएका कारण कम्युनिस्ट दुई तिहाई बहुमतका साथ सरकारमा पुगेको उनीहरुको दाबी छ । ‘कांग्रेसको देशभरमा विद्यार्थी संगठनहरुमा तीन अध्यक्षका दाबेदार छन् भन्ने खालका हल्ला सुन्छु’, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, यहि कारण केपी ओली सत्तामा पुगेका हुन् ।’

कांग्रेस अहिलेकै पाराले अघि बढे अझै कमजोर हुने भन्दै उनले विद्यार्थीहरुलाई नेतृत्वलाई सहि बाटोमा अगाडि बढ्ने गरी आफुलाई प्रस्तुत गर्न आग्रह गरे । ‘विद्याथीहरु बिद्यार्थी राजनीति गरिरहेका छैनन् । विद्यार्थीको यस्तो समस्या पर्‍यो भनेर कसैले फोन गर्दैन’ भण्डारीले भने, ‘विद्यार्थी राजनीति पार्टी राजनीतिमा केन्दि्रत छ । नेताका पछि लागेर आफ्नो भविष्य सुरक्षित गर्न खोजे जस्तो ।’ नेता भण्डारीले अहिले कांग्रेसमा रहेका सवै तहका नेतृत्व परिर्वतन गर्नुपर्ने अवस्थामा रहेको बताए ।

पार्टीको केन्दि्रय नेतृत्व नै गलत भएको र त्यो रोग नेविसंघमा समेत सरेको उनको आरोप छ । ‘निर्वाचनमा भएको हारको जिम्मेवारी लिनु भनेर मैले सभापतिलाई कैयौं पटक भनेँ । तर मान्नु भएको छैन्’ नेता भण्डारीले अगाडि भने, ‘नेताहरुमा नैतिकता र जिम्मेवारी बहन गर्न सक्ने क्षमता नभएका कारण अहिलेको अवस्था बेहोर्नुपरेको छ ।’

कार्यक्रममा अर्का केन्दि्रय सदस्य नविन्द्रराज जोशीले पनि कांग्रेसले विद्यार्थी राजनीतिलाई संल्याउन नसकेसम्म देशमा कम्युनिस्टको चुरीफुरी कायमै रहने बताए । ‘हामी केपी ओलीको चुरीफुरी ठीक भएन भनिरहेका छौं तर हाम्रै पार्टीमा नेतृत्व तहमा उस्तै अवस्था छ’ जोशीले भने, ‘विद्यार्थी राजनीतिमा कांंग्रेसले पद ठूलो होइन भन्ने स्थापित गर्न सक्नुपर्ने मैले देखेको छु ।’

कार्यक्रममा नेविसंघका उपाध्यक्ष प्रकाश राना, नविन राई, महामन्त्री कुन्दनराज काफ्ले, नेताहरु छितिज भण्डारी, हिमालदत्त श्रेष्ठ लगायतले नेविसंघ भित्रको किचलो अन्त्य हुनुपर्ने र नेतृत्वमा गुट हावी हुन नहुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment