Comments Add Comment

‘नाई नभन्नु ल ५’ का ३ हिरोइनः प्रियंका नबोल्ने, केकी अमेरिका, स्वस्तिमा व्यस्त


निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ५’मा ३ चर्चित नायिकालाई अनुवन्ध गर्दा सोचेका थिए होलान्, पब्लिसिटीमा राम्रै फाइदा हुन्छ । तर, चलचित्र रिलिज हुन करिब २ साता मात्र बाँकी रहँदा विकासले कुनै पनि नायिकाहरुबाट सोचेको साथ पाएका छैनन् ।
चलचित्रकी मुख्य नायिका स्वस्तिमा खड्का शुक्रबारदेखि नयाँ चलचित्र ‘बुलबुल’ मा व्यस्त हुँदैछिन् । यो चलचित्रमा समय दिनुपर्ने भएकाले अब स्वस्तिमासँग ‘नाई नभन्नु ल ५’को पब्लिसिटीका लागि समय छैन ।

अर्की नायिका केकी अधिकारी अमेरिकामा छिन् । उनीसँग पनि यो चलचित्रका लागि समय छैन । आफैले लगानी गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि दिनरात नभनी दौडिएकी केकीले ‘नाई नभन्नु ल ५’का लागि समय छुट्याउन आवश्यक ठानिनन् । हुनत, यो चलचित्रको मुख्य नायिका उनी होइनन् । चलचित्रले राम्रो व्यापार गर्‍यो भने त्यसको क्रेडिट केकीले लिन खोज्छिन् या के गर्छिन् हेर्न बाँकी छ ।

यता ‘नाई नभन्नु ल’को दोश्रो सिरिजदेखि लगातार काम गरिरहेकी नायिका प्रियंका कार्की मिडिया फेस गर्ने मुडमा छैनन् । यसको पछाडि कारण छ । चलचित्र ‘कथा काठमाण्डु’मा प्रियंकाले दिएको उत्तेजक दृश्यको कारण उनको चर्को आलोचना भैरहेको छ । प्रचारमा हिँड्दा यही विषयमा बढि प्रश्न आउन सक्ने भएकाले उनी केही समय मिडियासँग दुरी बनाउन चाहन्छिन् । त्यसैले उनले ‘नाई नभन्नु ल ५’ को प्रचारमा हिड्न नसक्ने जानकारी गराइसकेकी छिन् । उनी कति समय मिडियाबाट भाग्छिन् हेर्न बाँकी छ ।

तर, चलचित्रका निर्देशक विकासराज आचार्य भने ३ नायिकाको विषयमा केही नबोल्ने बताउँछन् । चलचित्रको ‘बालापन’ बोलको गीतको भिडियोमा पनि विकासले ३ नायिकालाई पनि नृत्य गराउन चाहेका थिए । तर, तिनै जनाले समय दिन नसकेपछि गीतको भिडियोमा अनुभव र सेड्रिनालाई मात्र अभिनय गराइएको छ ।

अब फिल्मको पब्लिसिटीमा पनि यीनै दुई बालकलाकार प्रयोग गर्नुको विकल्प उनीसँग रहेन । फिल्ममा नवनायक अभिषेक नेपाल पनि छन् । तर दर्शकले उनलाई चिन्दैनन् । विकास भने अनुभव र सेड्रिना नै मुख्य कलाकार भएकाले उनीहरुको साथ भए पुग्ने दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment