Comments Add Comment

बानेश्वरका होस्टलमा प्रहरी अनुगमन : विद्यार्थीको पलङमा गाँजा र तास !

जब वार्डेन र विद्यार्थीको ‘लभ’ पर्‍यो…

अल्फा ब्वाइज होस्टल ।

२५ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्‍यो ।

ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाको बिक्री वितरण गर्नु भएको खुल्यो ।

उनले आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको बयान दिए । ‘फोन गरेर कति चाहिएको छ जानकारी गराउँछन् । त्यसपछि पशुपति गएर किनेर ल्याउँछु’, लामाले भनेका छन्, ‘त्यसपछि प्याक गरेर उनीहरुको जिम्मा लगाउँछु ।’

उनका अनुसार पशुपतीबाट ५ सय रुपैयाँमा किनेर ल्याएको गाँजालाई विभिन्न स-साना पोकामा प्याक गरेपछि ४ हजार रुपैयाँमा विक्री गर्न तयार हुन्छ । एक पटक ल्याउँदा ३५ सय नाफा हुने भएकाले यो धन्दामा लागेको उनले सुनाए ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा भित्रिने लागूऔषध सुन्दरीजल र साँखु क्षेत्रबाट आउँछ । हाल पक्राउ परेका लामामाथि प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

बुद्ध ब्वाइज होस्टल ।

यसअघि पनि बानेश्वर क्षेत्रमा प्रहरीले आयोजना गरेको ‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको थियो । तर, प्रहरीले प्रमाण हात पारिसकेको थिएन ।

लामाको बयानबाट होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको पुष्टि भएपछि बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गर्ने तयारी थाले ।

जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले सुरु गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको छ ।

‘होस्टलका विद्यार्थीले होहल्ला गर्ने गरेको र मध्यराति आएर छरछिमकलाई समेत डिस्टर्ब गर्ने गरेको गुनासा त आएका थिए’, डिएसपी काफ्लेले अनलाइनखबरसँग भने, ‘तर, अनुगमनका क्रममा स्थिति झनै भयावह भेटिएको छ । होस्टलमा विद्यार्थी कसरी लागूऔषध दुर्व्यसनमा फसेका रहेछन् भन्ने छर्लंङ भएको छ ।’

सञ्चालक भेटिएनन्, विद्यार्थी तासमा रम्दै !

स्थान : काठमाडौं महानगरपालिका-१०, बुद्धनगर

समय : दिउँसो ११ः३० बजे

नेपाल होस्टल एसोसिएनका केन्द्रीय अध्यक्ष चेतन दाहाल, वडा सदस्य रोहिणी श्रेष्ठ, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिका पदाधिकारी, बानेश्वर वृत्तका डिएसपी काफ्ले नेतृत्वको प्रहरी टोली अल्फा ब्वाइज होस्टल पुगे ।

जहाँ ठूलो बोर्डमा अंग्रेजीमा लेखिएको थियो, ‘सुरक्षित, आरामदायी, शान्तिपूर्ण र पारिवारिक वातावरण ।’

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले ।

बोर्डमा ४ विशेषणको प्रयोग गरेर होस्टलको ब्याख्या गरिए पनि अनुगमनकर्ताको हुलै घरमा प्रवेश गर्दा पनि कोही मानिस बाहिर निस्किएनन् ।

न त त्यहाँ सोधपुछ गर्नलाई सुरक्षागार्ड नै थिए । वडा सदस्य श्रेष्ठले सञ्चालकलाई बोलाउन थालिन् । क्रमशः अन्यले पनि खोजी गरे ।

तर, अहँ…! चुइँ.. समेत सुनिएन ।

केहीबेरमा नजिककै रहेको कोठाको झ्यालबाट एक विद्यार्थी च्याए । र, भने, ‘उहाँहरु त हुनुहुन्न जस्तो छ ।’

अनुगमनकर्ताको टोलीले सञ्चालकको नम्बर मागेपछि अन्कनाउँदै दिए । निकैवेरसम्म पनि सञ्चालक नभेटिएपछि टोली तितरवितर हुँदै थियो । डिएसपी काफ्लेले बाहिरैबाट विद्यार्थीको एउटा कोठामा च्याए ।

उनीहरु तास लुकाउँदै थिए । प्रहरी निरीक्षकको टोली कोठाभित्र प्रवेश गरेर हेर्‍यो । तासको बुक प्रहरी बरामद गर्‍यो । कोठामा चेकजाँज गर्दै जाँदा विद्यार्थीको पलङ मुनिएको ड्रयरभित्र एउटा कागजको पोको फेला पर्‍यो ।

‘सुरुमा त कागज च्यातेर फालेको हो कि भन्ने लागेको थियो’, एक अनुगमनकर्ताले भने, ‘तर, त्यहाँ त गाँजा पो रहेछ ।’

केहीवेरमा होस्टल सञ्चालक सुराबहादुर खाम्चा (सीबी) र उनकी श्रीमति सुशीला आइपुगे । महिलाले विद्यार्थीको बचाउ गर्न खोजिन् । तर, विद्यार्थीलाई सोध्दा उनीहरुले सञ्चालकलाई जवाफ फर्काउन सकेनन् ।

उनीहरुले मौन समर्थनपछि सञ्चालक पनि चकित भए । उनीहरुले आफूहरुलाई होस्टलमा भइरहेको गतिविधिबारे अनविज्ञता प्रकट गरे ।

अब सुधार गर्ने प्रतिबद्धता जनाए । तर, अनुगमन टोलीले सञ्चालकलाई प्रहरी वृत्तसम्मै पुर्‍यायो । र, आइन्दा सोही प्रकृतिका गतिविधि भेटिए कडा कारबाही हुने कागज गराउँदै होस्टल एसोसिएसनको रोहबरमा छोड्यो ।

होस्टल सञ्चालकलाई गराइएको कागजमा होस्टलमा सुरक्षाका लागि तल्लो तलामै कार्यालय राख्ने, नियमित मोनिटर गर्ने, सुरक्षा व्यवस्थित गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

सुरक्षागार्ड छैनन्, को आए, को गए थाहा छैन

पछिल्ला समय होस्टलमा हुने गरेका चोरीका घटनाबारे प्रहरीमा रिपोर्ट हुने संख्या बढ्दो छ । यद्यपि, होस्टलबाट हराएका सामग्री हत्तपत्त भेटिँदैनन् ।

बुद्धनगरकै रुरु ब्वाइज होस्टलमा बस्ने प्रबल आचार्यको केही महिना अघि ल्यापटप हरायो । उनले बानेश्वर प्रहरी वृत्त र अपराध महाशाखामा उजुरी दिए । तर, उनले आफ्नो गुमाएको सामान फिर्ता पाउन सकेनन् ।

सञ्चालकले समेत क्षतिपूर्ती दिएनन् । होस्टल एसोसिएसनले समन्वय गर्ने जिम्मेवारी आफ्नो भएको बताउने गरे पनि पीडितले क्षतिपूर्ति पाउने गरेका छैनन् ।

‘यस्ता घटनामा एसोसिएसनको भूमिका पीडितको पक्षमा भन्दा पनि सञ्चालककै पक्षमा देखिने गरेको छ’, एसोसिएनकै एक अधिकारी भन्छन्, ‘सोधपुछ गर्ने बाहेक केही काम हुँदैन ।’

एसोसिएसनका अध्यक्ष चेतन दाहाल भने आफूहरुले सहजिकरण गर्दै आएको दाबी गर्छन् ।

‘अभिभावक र विद्यार्थीबीचका कतिपय घटना प्रशासन समक्ष नै आइनपुग्ने गरी हामीले आपसी समझदारीमा मिलाउने गरेका छौं’, दाहालले भने, ‘होस्टलमा बस्ने सबै समाजका अंग हुन् । सबै राम्रा हुन्छन् भन्ने छैन । हामीले अनुगमनका लागि समिति पनि बनाएका छौं ।’

बानेश्वरका डिएसपी काफ्ले होस्टलमा हुने चोरीका घटना सञ्चालककै लापरबाहीले हुने गरेको बताउँछन् । ‘एशोसिएनकै नियममा पनि होस्टल सञ्चालकले सुरक्षागार्ड वा सीसी टिभी राख्नुपर्ने उल्लेख गरिएको छ’, काफ्लेले भने, ‘तर, उनीहरुले यो सामान्य आचारसंहिता समेत पालना गरेको देखिँदैन ।’

अनुगमन टोली रुरु होस्टलमा पुग्दा ३ जना व्यक्ति होस्टलको गेटभित्र उभिइरहेका थिए । अनुगमन टोलीले सोधी खोजी गर्दा उनीहरु मध्ये दुर्इ जना मात्रै उक्त होस्टलका विद्यार्थी भएको खुल्यो । सञ्चालकलाई अर्का व्यक्तिबारे सोध्दा उनी नाजवाफ भइन् ।

उनले ती एक विद्यार्थीको पहिचान नै गर्न सकिनन् । ‘धारा बनाउने मान्छे आउने भएकाले ढोका खुल्लै थियो’, उनले भनिन्, ‘त्यसैले थाहा भएन ।’

यद्यपि, अधिकांश होस्टलले आफ्नो परिसरभित्र को प्रवेश गरे, को गरेनन् भन्ने विषयको रेकर्ड नराख्ने गरेको अनुगमनका क्रममा देखिएको छ ।

जब वार्डेन र विद्यार्थीको ‘लभ’ पर्‍यो…

बानेश्वरकै एक होस्टलका वार्डेन र नजिकै रहेको गर्ल्स होस्टलकी विद्यार्थीको सम्बन्ध सामान्य ‘हेराहेर’ बाट छोटो अवधिमै प्रेम सम्बन्धमा परिणत भयो ।

सुरुवाती दिनमा केही समस्या भएन । तर, जब उनीहरुबीचको सम्बन्ध टुट्यो, तब समस्या यति बढ्यो कि प्रहरीमै उजुरी गर्नु पर्‍यो ।

सम्बन्धमा फोटा आएपछि वार्डेनले युवतीलाई जथाभावी म्यासेज र गाली गर्न थाले । अश्लिल गाली समेत गर्न थाले । त्यसको सुइँको पाएर युवतीको दाइले वार्डेनलाई कुटपिट गरे । अन्ततः प्रहरीसम्म घटना पुग्यो ।

दुई जना २४ घण्टा प्रहरीको थुनामा बसे । अन्तिममा आइन्दा गल्ती नहोर्‍याउने सहमतिमा उनीहरुलाई छाडियो ।

पछिल्ला समय होस्टलका कारण आफूहरुले समस्या भोगिरहेको भन्दै छिमेकीहरु समेत सामुदायिक प्रहरीमा गुनासो पोख्न थालेका छन् ।

मादक पदार्थ सेवा गरेर आएर सञ्चालकले नै पिटाइ खानु परेकादेखि बर्थडे र अन्य विभिन्न बहानामा रातभर होहल्ला गर्ने गरेकोसम्म घटनाका उजुरी प्रहरीमा पर्ने गरेका छन् ।

‘केटाको होस्टलमा केटी पस्ने र केटीमा केटा पस्ने पनि अनुगमनका क्रममा पाएका छौं’, डिएसपी काफ्ले भन्छन्, ‘राति १०/११ बजेसम्म खुल्लै राख्ने, सुरक्षागार्ड, सीसी क्यामेरा र आवश्यक कागजपत्रविनै सञ्चालन भइरहेका होस्टलहरुलाई हामीले सचेत गराएका छौं ।’

होस्टलमा यदी कुनै घटना भइहाले समेत सञ्चालकसँग विवरण नहुने स्थिति देखिएकाले पनि यो अभियान चलाउनु परेको उनले बताए । ‘हाम्रो एरियाको हरेक क्षेत्रमा यो अभियान जारी रहन्छ’, डिएसपी काफ्ले थप्छन् ।

तस्वीरः चन्द्र अाले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment