Comments Add Comment

मनुजबाबुको निबन्धः मेरी नारीयम श्रीमती


८३ वर्षको उमेरमा हृदयघातका कारण मृत्युवरण गरेका नेपालका ख्यातिप्राप्त निबन्धकार एवं कलाकार मनुजबाबु मिश्र करिब २७ वर्ष एकान्तबासमा रहे । यो एकान्तबास नेपाली कला–साहित्यका लागि उर्बर बन्न पुग्यो । एकान्तबासमै रहँदा उनले हजारौं चित्र बनाए भने दर्जनौं पुस्तक पनि लेखे ।

नेपाली र अंग्रेजी दुबै भाषामा दर्जनौं पुस्तक लेखेका मनुजको ‘मेरी नारीयम श्रीमती’ शीर्षकको यो निबन्धले उनको एकान्तबासका धेरै कुरा प्रष्ट पारेको छः

‘विगत एक दशकदेखि म एकान्तमा थिएँ, एक्लै आफ्नो कार्यकक्षमा बसेर काम गरिरहन्थें । सिर्जनात्मक कार्य प्रायः एक्लै बसेर नै गर्ने गरिन्छ, किनकि समुहमा बसेर साधना हुन सक्दैन । तर, पनि मैले त्यस्तो उराठलाग्दो एक्लोपनको अनुभव गर्नु परेको थिएन । मेरी अर्धागिंनी नारी ‘श्रीमती’ आसपासतीरै हुन्थिन् । म बरोबर उनको आवाज सुन्ने गर्दथेँ–भोकप्यासको खबर लिइरहन्थिन् । मित्र वर्गको आगमनमा चियाचमेनाको व्यवस्था मिलाउने गर्दथिन् ।

उनको आवाज यत्रतत्रबाट सुनिरहन्थें । अनि फुर्सदको समयमा सँगै बसेर वार्तालाप–सुख दुःखका कुरा गर्ने गर्दथें । उनको उपस्थिति व्याप्त थियो मेरो तमाम मानसिकताभरि । मानौं उनको उपस्थितिको अनुभवबाटै मात्र पनि मेरो जीवन सञ्चालित र सिर्जनात्मक प्रेरणा प्राप्त भइरहेको थियो । मेरा प्रत्येक रेखा, रंग रचना एवं लेखनभरि कुनै न कुनै रुपमा उनको प्रेरणा रही रहन्थ्यो । उनी मेरो भावप्रवाहको झोल थिइन् र म आफ्नै विचार प्रवाहको चौटा ।

म पनि मेरी श्रीमतीलाई छाडेर अनेकौं पटक, पाँच–छ वर्षसम्मका लागि देशविदेश गएको थिएँ । मेरो अनुपस्थितिमा घरायसी कार्यको चपेटाले गर्दा उनलाई सायद नियास्रो मान्ने फुर्सदै भएन । अथवा उनलाई कति उकुसमुकुस र एक्लोपनाको अनुभव हुँदो हो, त्यसलाई मैले कहिल्यै बुझ्ने प्रयास गरिनँ ।

नारीलाई मीठो भाषामा ‘आमा’ भन्ने गरिएको भए तापनि तीतोभाषामा ‘सर्वश्रेष्ठ नोकर्नी’ भन्न नमिल्ला र ? हुन त विश्वका अधिकांश मानिस कसै न कसैको नोकरनोकर्नी नै हुन्छन् । तर आमा, जन्मदातृ–धरतीमाताले खेलेको त्यस्तो ‘सर्वश्रेष्ठ नोकर्नी’ को भूमिकाको कुनै मूल्य हुँदैन

सायद मेरो पुरुषमा एउटा नारीको लामो सुस्केरामा व्यक्त व्यथालाई बुझ्नसक्ने सामथ्र्य नै थिएन । शब्द, सँगीत अथवा चित्रमा उनको व्यथित भावनाको भक्कानो रसाएको भए त्यो करुणरसको कविता, चित्र अथवा हृदयश्पर्शी सँगीत बन्न सक्दथ्यो होला । तर के गर्नु उनी मूक भावना मात्र व्यक्त गर्नसक्ने, सृष्टि सिर्जनाकी खानी, लेखपढ गर्न नजान्ने प्रकृतीजस्तै अनपढ थिइन् । म भने उनी आफुसँग छुट्टिएर गएको दिनदेखि नै शारीरिक रुपमा शिथिल र मानसिकरुपमा बिरामी नै परेको छु । उनी गएकै दिन बेलुका मैले आफ्नो अनुहार ऐनामा हेरेर एउटा रेखाचित्र बनाएको थिएँ । हृदयभित्रका सम्पूर्ण पीडा आएर मेरो अनुहारभरि गुजुल्टिएछन् । त्यो मेरो अनुहार ‘गुर्यनिका’को साँढेका जस्तो हृदयविदारक भएको रहेछ ।

दुई चार दिनको फरकमा हाम्रो ‘आ–जा’ यन्त्रमा कुरा भइरहन्छ । उनी भित्री व्यथाको भक्कानोलाई थिचेर मसँग कुरा गर्दैछिन् भन्ने कुरा म बुझ्न सक्दथें । सायद मेरो आवाजमा लुकेको व्यथालाई उनी पनि बुझ्दछिन् होला ।

‘मिश्रजी, कस्तो छ हजुरलाई, हजुरको लेखपढ, चित्र, खानपिन, पाहुनापछा, सरसफाई सबै राम्रो छ कि छैन । के पार्वतीले काम राम्रै गरिरहेकी छ ? न्यास्रो कत्तिको लागेको छ ?’

हामी दुबै फटाहा बोल्थ्यौं । एक अर्कालाई जतिसुकै न्यास्रो लागे पनि हनहनी ज्वरो नै आएको भए तापनि ‘यता सबै राम्रो छ, म निकै फेरिएको छु, आफूचाँहि बरु यताको पटक्कै पीर नगर्नू’ भन्दै आ–आफ्ना अन्तरव्यथा र न्यास्रोपनलाई रुन्चे हाँसो हाँसेर सुनाउथे गदथ्यौं । आफूलाई त्यहाँ पटक्कै बस्न मन नलागेको कुरा उनी भन्न चाहन्नथिन् किनकि घरमा हुँदा कुनै कुरा चित्त बुझेन कि ‘पर्ख न तिमी गनगने बुढालाई छाडेर एक–दुई वर्ष छोरा बुहारीकहाँ बसेर नआई कहाँ छाड्छु र’ भन्ने गर्दथिन् उनी । अनि म पनि ‘जाउजाउ, छोराछोरी जसकहाँ गए पनि जाउ, फर्केरै नआउने गरेर गए पनि जाउ, शान्तिसँग आफ्नो काम त गर्न पाउँला’ भनिदिने गर्दथें ।

हाम्रो ठस्केका कुरा सुन्दा उता छोरो भने हर्षले गद्गद् हुन्थ्यो । बाबुको बन्धनबाट आमाले मुक्ति पाउन लागेको देख्दा भने छोरीका आँखाभरि पनि आमाको मायाको झोल डबडबाउन लाग्दथे । दुवैको हृदयभरी आमालाई आफ्नो डेरामा लैजान पाउने आशा भरिएर आउँदथ्यो । अनि आमाको तानातान हुन्थ्यो छोरा र छोरीको बीचमा, ‘म लान्छु, होइन म लान्छु’ भन्दै । उत्तम उत्तम शब्दालंकारद्वारा उनीहरुको बीचमा आमाको ‘माया–प्रदर्शनी’ को प्रतिश्पर्धा चल्दथ्यो । छोरीको सँधै हार हुने समाज–छोराले जित्यो र आमा लिएर हिंडयो । म आधा मात्र बाँकी भएँ, निस्सहाय किंकर्तव्यको मुढो बनेर म आफै आधा भएको दृश्य हेरिरहें । छोरा र छोरीका व्यवहारमा होइन, शब्दमा गुञ्जिएका ‘मातृप्रेम’का आवाजहरु कताकता मलाई आफ्नै बिगतका कर्म र कर्तव्यका कहालीलाग्दा क्रन्दनका परिणामजस्ता लागे । किनकि मेरा बर्तमानका यथार्थताहरु सबै मेरै बिगतको उपहास गर्दैथिए त्यतिबेला ।

वर्तमानमा मेरो श्रीमतीको भूमिका आमामय बन्न पुगेको छ । आमाको माया छोराछोरीप्रति कर्तव्यै कर्तव्यले भरिएको स्वार्थविहीन, नौनीजस्तै नरम हुन्छ । उनका छोरा, बुहारी, नाती, छोरी पनि छन् । सबै जागिरे छन् । सबै डेरामा बस्छन्. । सानो नाति पनि स्कुल जाने हुनाले उनीहरुलाई सँधै डेरामा ताल्चा मारेर हिँडनुपर्ने हुन्छ । महिनाको ठूलो रकम दिन्छु, पढाईदिन्छु, आफ्नै छोरा सरि खाना लाउन दिन्छु आदि फोस्रो आश्वासन दिएर कुनै केटालाई ल्याएर राख्यो, केही महिनापछि उसैले लट्टीपट्टी पारेर हिँडिदिने ।

यस्तै हुँदा हुँदै उनीहरु आजित भइसकेका थिए । पुरुषहरुको अविश्वासिलो बानी, उच्छृंखल स्वभाव, छलकपट देखेर होला उनीहरु सकभर जन्मजात सहनशिल, इमानदार, मेहनती मानिएकी नारी केटीको खोजीमा थिए । भन्नेबेलामा बहिनी, छोरी, सेविका जे भने पनि सकभर थोरै तलबमा घरमा लगाएको सारा काम इमानदारीपूर्वक गर्नैैपर्ने एउटी ‘नोकर्नी’ नै खोजेका थिए उनीहरुले । त्यस्ती केटी नपाउँदा उनीहरुको बेहाल भइरहेको थियो । त्यस्ता बेलामा जब उनीहरुले आफ्नी श्रीमतीलाई मैले ‘जाउजाउ छोराछोरी जसकहाँ गए पनि जाउ’ भनेको सुने, उनीहरु आफ्नी आमालाई आफूकहाँ लैजान रसभरीजस्ता कुरा खुवाएर हानथाप गर्न लागेका थिए ।

यथार्थमा साँच्चीकै रसभरी ल्याएर आफ्नी कहिल्यै खान नदिएको भए तापनि । मभित्र भने आफ्नो बर्तमान सकसकाउँदथ्यो र नाभिदेखिको बल निकालेर चिसो खोकी खोक्न लाग्दथें, बर्तमानबाट प्रदुषित विकार र विकृतिका तुसहरु निकाल्न । कर्तव्यहरु ओइलाइसकेका र अधिकार, स्वतन्त्रताका तापक्रम भने बढ्दै थिए दिनप्रतिदिन । सहनशील नारी, सरल र स्वच्छ नारी, मेरी श्रीमती, तातो र न्यानो चाहिने उमेरमा चिसो सिरेटो चल्दासमेत गौरव गर्दथिन् आफ्नो सन्ततिको जीवनको रबाफिलो राप तापेर ।

मेरो मेख मार्न छोरा बुहारीसँग त्यति टाढा पुगेकी मेरी श्रीमती गएको दुई महिना पनि नपुग्दै कसरी ‘म बोर भएँ फर्कन्छु त्यतै’ भनून् । अनि म पनि ‘फर्केरै नआउने गरी गए पनि जाउ’ भन्ने मान्छे यति चाँडै कसरी ‘बोर भएँ, फर्केर आउ’ भनूँ । त्यसैले हामी दुबै अरु नै मार्फत आफू न्यास्रिएको कुरा एकअर्काकहाँ पुर्‍याउने गर्दथ्यौं ।

म नारीकै कोखबाट जन्मिएँ, नारीकै पालनपोषणबाट नारीकै काखमा हुर्र्किएँ, नारीकै माया पाएर पुलकित भएँ, खिलखिलाएँ, नारीकै उर्जा पाएर प्रगतितर्फ प्रोत्साहित भएँ, रोमाञ्चित भएँ, प्रेमी भएँ, पति भएँ, पिता भएँ, पूर्ण भएँ । नारी शक्तिको यस्तो रहष्य र व्यापकतालाई अलिअलि बुझ्न पनि मलाई पूरा चौसटठी वर्ष लाग्यो । आज आफू अर्धांगी हुन आइपुगेपछि मात्र पो आफ्नो वैदिक कालले व्याख्या गरेको ‘प्रकृती–पुरुष’को अर्थ र नारीशक्तिको महत्वतिर ध्यान जान लागेको छ । प्रकृति आदिभौतिक र पुरुष भौतिक, नारी अथवा आदि भौतिक शक्तिबिना भौतिक पुरुष ‘शव’ बरोबरको हुन जाने । त्यसैले पनि आदिकालदेखि नै मानिसले नारीलाई ‘धरतीमाता, प्रकृती’को रुपमा ठूलो मान्यता दिंदै आएको रहेछ ।

साँच्चै नारी प्रकृति हुन् । प्रकृतिको रहस्यात्मक शक्ति हुन्, जीव जगत्की उर्जा हुन, आगो हुन् (बृहदारण्यकोपनिषद), वस्तुजगत्की आत्मा हुन् । उनकै उपभोग, सम्भोग एवं प्रेरणाबाट मात्र नै मानवसंस्कृति, सभ्यताको विकासर पुरुषको पुरुषत्व क्रियाशील हुन सकेको हो । अझ ‘आदिभौतिक’ शब्द स्वयम् नै नारीबाट आएको हुनुपर्दछ । ‘आदि’को अर्थ हुन्छ, सृष्टिको मूल अथवा सुरुको । अनि ‘भौतिक’को अर्थ हुन्छ, प्रतीत रुप । सायद बिस–बाइस हजार वर्षअगाडि प्रस्तर युगका मानिसले सर्वप्रथम नारी शक्तिको महत्वलाई बुझिसकेका थिए र नारीको प्रतित रुप अथवा आदि भौतिक रुपको निर्माण गर्न लागिसकेका थिए ।

त्यसैले होला सर्वप्राचीन मूर्तिहरु पूरुषको नभएर नारीको नै अधिकांश संख्यामा देखिदै आएका हुन् । आदिप्रस्तरकालका त्यस्ता नारीमुर्तिहरुमा अष्ट्रियाको उलेन्डोर्फ नामक स्थानमा प्राप्त मूर्ति भेनस, पाँच हजार वर्षअगाडिको मिस्र, मेसोपोटामिया, मोहोनजोदारो, आदि ऐतिहासिक क्षेत्रमा प्राप्त सबै मूर्तिलाई ‘धरतीमाता’ भनींदै आएको छ । उनीहरु नारीमूर्तिको रचना गर्ने मात्र होइन, नारीलाई शभक्ति पुजासमेत गर्ने गर्दथे । प्राचीन बेबिलोनियाकी शक्तिमाता ‘मिलिता’, प्राचीन मेक्सीकोकी नारीमाता ‘ईस’, मध्यअफ्रिकाकी देवी ‘सलम्बो’, उत्तर अफ्रिकाकी संरक्षिका बनदेवी ‘वास्ट’ आदि आदि प्राचीन कालका पूजादेवी थिए । हाम्रो यताको भौगोलिक भेगमा त झन् नारीशक्तिबिना कुनै देवताको पनि देवत्व रहँदैनथ्यो । ब्रहम्मायणी नभए ब्रम्हा र ब्रम्ह नै नरहने, रुद्रायणी नभए रुद्रको रौद्रता नै शिथिल हुने, वाराही नभए बराहमा बँदेलै मात्र बाँकी रहने, आदर्श सती र सीता पनि नारी, डरलाग्दी चामुन्डा र भैरवी पनि नारी, जीवनदायी अम्बिका पनि नारी, रक्तकाली, काली, कराली, कात्यायनी पनि नारी ।

सृष्टिपालन, संहारकर्ता सबै नारी । नारी नभए देउतासमेत आधा हुँदा रहेछन् भने मेरी नारी नहुँदा मलाई त जाबो न्यास्रोसम्म लागेको न हो । आफ्नी अर्धागिंनीको पचास घटेपछि मैले आफू केवल पचास प्रतिशत मात्रको अर्धांग बाँकी रहेको अनुभव गर्नसक्नुपर्दथ्यो । त्यस्तो अनुभव भने मैले गर्न सकेको छैन, जतिसुकै एक्लिए तापनि ।

मेरी श्रीमती पनि नारी नै हुन् । उनीसँग नारीको तमाम शक्ति छ । आधुनिक कलाको परिभाषाअनुसारकी कलाकार उनी होइनन् । शिक्षिता भन्नाले बुझिने खालकी पठित पनि उनी होइनन् । तर पनि उनी सिर्जनाशक्ति सम्पन्न नारी हुन् । उनी मजस्तो अनुकरणकर्ता कलाकार होइनन् । मजस्तो कलाकारको कलाकृति–रचनालाई प्राचीन यहुदी, प्रारम्भीक इसाई अनि इस्लामहरुले प्रतिबन्ध नै लगाइदिएका थिए । किनकी मजस्ता कलाकार त खाली वस्तुजगतको प्रकृतिको अनुकरण मात्र गर्न सक्दछन् । त्यस्ता कलामा न त मान्छे बोल्नसक्छ, न बादल पानी पार्न । उनीहरुका लागि त्यस्ता कलाले केवल इश्वरको अपमान मात्र गर्न सक्दथ्यो । तर मेरी नारीको कला त सबै सजिव हुन्छन् । ती बोल्छन् । हिँडछन् । प्रगति गर्छन् । संस्कृति र सभ्यताको निर्माण गर्छन् । विद्वान र वैज्ञानिक बन्न सक्छन् । त्यस्तो पो कला । उनी कहिल्यै पनि अरुले व्याख्या गरिदिनुपर्ने कलाको रचना गर्दिनन् । उनका सबै चित्र प्रकृतिका जस्तै विचित्रका आकर्षक हुन्छन् । त्यसैले हुनसक्छ दुई–तीन सय वर्षअगाडिसम्म नारीकलाकार–चित्रकार–मूर्तिकारको कला इतिहासमा कतै पनि उल्लेखयोग्य नामै नआएको । उनी सँधै प्रकृतिजस्तै प्रेरणाको स्रोत मात्र बनिरहेकी छिन् ।

पहिले त नारी पूजनीय कुमारी हुन्, अनि प्रेरणाकी स्रोत प्रेमिका अनि श्रीमती, अनि कसैकी आमा । बाल्यकालमा नै आफ्नै आमासँग विमुख हुनुपरेको हुँदा आमाको प्रेम, स्नेह कस्तो हुन्छ भन्ने कुरा मैले बिर्सिसकें । तर पनि मलाई थाहा छ, म मेरी आमाको शरीरभरी उफ्रन्थें, आमासँग खेल्थें, खेलाइन्थें । आमाको शरीरभरी, हृदयभरी, मायाभरि, मातृत्वभरि, भित्र आमा बाहिर आमा, म आमामय थिएँ । म बाहिर आमा व्याप्त हुनुहुन्थ्यो । मभित्र भने आमा कति हुनुहुन्थ्यो भन्ने कुरा म सम्झन सक्दिनँ । मेरी आमा परलोक गएपछिका धेरै वर्षसम्म ममा मायाको खडेरी परेको थियो । म पटपट फुटेको–फुटाइएको–ओइलाइसकेको थिएँ । जीवनका त्यस्ता निरस घडीमा मेरी मति प्रेमिका बन्नुअगाडि नै श्रीमती बनेर मेरो जीवनमा आइपुगिन् । म पुनः रसाउन लागेँ, हरिलोभरिलो हुँदै आएँ । उनका माया, प्रेम, प्रेरणा एवं सहयोगबाट मलाई बिर्सिसकेको आमाको न्यानो मायाको आभास मिल्न लाग्यो ।

क्रमशः मैले आफ्नी श्रीमतीबाट आमामाथिको आमाको अगाध प्रेम र स्नेह पाउन लागेँ । त्यस्तो ताजा मायाको अगाडि मेरी जन्मदातृ आमाको बासयी माया केवल औपचारिकतामा उत्रदै जान लाग्यो । बाल्यकालमा आमाकोजस्तै यौवनावस्थामा हामी परस्परका शरीरभरि, आत्माभरि, आँखाभरि, हरेक क्रियाकलापभरि, जीवनभरी व्याप्त हुँदै आयौं । कहिलेकाँही त मलाई आमा र श्रीमती दुवै नारीको संयुक्त बिम्ब बोध हुन लागेको छ ।

आमाको अनुपस्थितिमा अबोध बालकको जुन अबस्था हुन्छ, त्यही अवीथा हुनेरहेछ श्रीमतीको अनुस्थितिमा वयस्क श्रीमानको पनि । नारीको यति ठूलो महत्व हुँदाहुँदै पनि रिसको आवेगमा म स्वयम्ले कति चोटी आफ्नी नारीलाई हकार्ने गरेको छु । के गर्नु मानवविकास र प्रगतिको इतिहासभरि यथार्थतामा कर्तव्यैकर्तव्यले पुर्दै आइरहेको छ । मानवअधिकारभित्र नारी पर्दिनन् । मानव कर्तव्य नामको कुनै संघ संगठन पनि छैन । फलस्वरुप अधिकारजति पुरुषको भागमा र कर्तब्यजति नारीको भागमा पार्दैै ल्याएको छ विकृत संस्कृति र संस्कारको परम्पराले ।

मेरो स्मृतिपटबाट मेरी आमाको माया, प्रेम र स्नेह धमिलिँदै गइसके, दिनप्रतिदिन बासी हुँदै गए, चिसिँदै गए, बिर्सिँदै गए, आउटडेटेड हुँदै गए, जीवनका अप्रिय ढिस्का बन्दै गए । जब कि श्रीमतीको माया ताजा, तातो, मुटु भड्काउने, मोर्डन थिए । बाल्यकालको अबोध अवस्थामा आमाको छातीभरी खेलेको भन्दा युवावस्थाको भावोत्तेजनामा श्रीमतीभरि खेलेको अनुभव अवश्य पनि स्वर्गीय हुन्छ । मानिसहरुले यथार्थतामा आफनी आमा र श्रीमतीको छातीमा झन्डै समान रुपले खेलेका हुन्छन् ।

एउटाले बाल्य आनन्द पाउँछ अबोध अवस्थामा, अर्कोले यौवन–आनन्द सचेत अवस्थामा । यौनतृप्तिका कुरा त क्षणिक हुन् । अन्य कतैबाट पनि त्यस्तो तृप्ति मिल्न सक्छ । यौनसेतुको आधार मानवीय हृदयको गहिराईबाट उब्जने माया, प्रेम, स्नेह हुँदै होइन । यौनपक्षका सम्भोगसम्बन्धलाई घटाइदिने हो भने बाँकी रहेकोमा आमामा श्रीमती र श्रीमतीमा आमाको आभास पाउन सकिन्छ । सायद विरुपाक्षको कथा यस्तै फेदको एउटा लहरा पनि हुनसक्छ ।

आज मेरी श्रीमती आमा, विशुद्ध आमा मात्र हुन पुगेकी छन् । सबैको आमाजस्तै आमा भएको हुँदा उनी पनि ओइलाइसकिन् । बासी भइसकिन् । आउट डेटेड भइसकिन् । चिसिइसकिन् । अब उनको छोरो उनको छातिमा आएर खेल्दैन । त्यसैले उ आमाबाट झन्झन टाढिँदै छ । अब त उसको माया आमालाई एक ठाउँमा उग्राएर बसिराखून भन्छ । तर पनि अझैसम्मकी सारसौंदी आमा त्यसरी बस्न सक्दिनन् अथवा पाउँदै–पाउँदीनन् ।

बुढेसकालले गर्दा उनलाई निद्रा पर्दैन । सधैं कतै न कतै दुखेको अनुभव गर्छिन् । तर, पनि उनी चाँडै उठ्छिन् । अड्डामा जानुपर्ने छोरा बुहारी नउठदै चियाचमेना बनाउँछिन्, तरकारी केलाउँछिन्, भान्छाको जोरजाम गर्छिन, छोरा बुहारीकहाँ ‘बेड टी’ पुर्‍याउँछिन्, स्नानादि सामग्रीको व्यवस्था मिलाइदिन्छिन्, रुँदै उठेको नातीलाई काखमा राखेर खाना खुवाउँछिन्, छोरा बुहारीलाई पनि खाना खाएर अड्डातीर पठाउँछिन् । अनि नातिलाई डोर्‍याँउँदै स्कुल पुर्‍याएर फर्कन्छिन् अनि बाँकी बचोट खान्छिन्, डङगुरीएका मैला लुगा धुन्छिन्, सुकाउँछिन्–सम्याउँछिन्, पटयाउँछिन् ।

बिहान बेलुकाका लागि किनमेल गर्न बजार जान्छिन्, पुन बेलुकाको जोरजाममा लाग्छिन्, सबैलाई खाजा खुवाउँछिन्, बेलुकाको खाना खुवाउँछिन्, नातिलाई थुमथुम्याएर सुताउँछिन् अनि बल्ल नआउने निद्राको आव्हान गर्दै ओछ्याउनमा पल्टिन्छिन् । केवल छोराबुहारी, नातिनातिनाप्रतिको स्वच्छ र निस्वार्थ माया र स्नेह नै उनका तमाम मानसिक प्रेरणा र शारीरिक शक्तिसञ्चालनका उर्जाको रुपमा रहेका हुन्छन् ।

वृद्धावस्थामा उनका लागि अति आवश्यक पर्ने भिटामीन, प्रोटिन र खाद्यवस्तुका उर्जातर्फ ध्यान पुर्‍याउने कोही हुँदैन । यसरी डेरामा आएर बसे तापनि आमाबाट कर्तव्यको मूल फुटि नै रहन्छ–आमाको आदर्श चरितार्थ भई नै रहन्छ । यस्ती नारी–आमा बनेकी नारीबाट छोराबुहारीलाई न त छलछाम, चोरी, ठगीको डर भयो, न त महिनावारीको मोटो रकम दिनुपर्‍याे, न त आधुनिक श्रीमतीलाईजस्तो गरगहना, श्रृंगार सामग्री, आधुनिक वेशभूषाले सजाइदिनुपरोस्, न रंगीचंगी रमझम र मनोरञ्जनका लागि खर्च गर्नुपरोस् । क्या मजा ।

यस्ती नारीलाई मीठो भाषामा ‘आमा’ भन्ने गरिएको भए तापनि यथार्थताको तीतो भाषामा भन्नुपर्दा विश्वब्रम्हाण्डभरि खोजे पनि पाउन नसकिने ‘सर्वश्रेष्ठ नोकर्नी’ भन्न नमिल्ला र ?

हुन त विश्वका अधिकांश मानिस कसै न कसैको नोकरनोकर्नी नै हुन्छन् तर पनि ती सबैको त मोलतोल हुन्छ । क्षमता, इमानदारी, दक्षता, सीप, सौन्दर्य, घराना सबैमा नम्बर दिइन्छ–घटाघट हुन्छ, बढाबढ हुन्छ । तर आमा, जन्मदातृ–धरतीमाताले खेलेको त्यस्तो ‘सर्वश्रेष्ठ नोकर्नी’ को भूमिकाको कुनै मुल्य हुँदैन । ती सबै आमाको कर्तव्यभित्र पर्दछन् । आमाका सबै कर्म कर्तव्यभित्र र छोराका सबै चाहना अधिकारभित्र पर्दछन् ।

चिसो सिरेटोजस्तो सास फेरेर ‘आमा’ बनेकी मेरी श्रीमतीलाई म सम्झिरहन्छु र दीर्घ निःश्वास लिने गर्दछु । प्रत्येक श्रीमतीले ‘आमा’ बन्नैपर्ने, आमाको कर्तव्यमा कसिनैपर्ने, सबै नारीको श्रृंखलाबद्ध रुप–बहुरुप यस्तै रहँदै आएको कुरा सम्झँदा भने भारी मन केही हल्का भएको अनुभव हुन्छ मलाई ।

यति धेरै रुप, यति धेरै आदर्श, यति धेरै माया, यति धेरै जिम्मेवारी, नारीको अवस्था, म के भनुँ मेरी श्रीमतीलाई । आमा भनूँ कि, श्रीमती भनूँ कि, सृष्टिकर्ता–धरतीमाता भनूँ कि, नोकर्नी भनूँ कि, रहष्यमय प्रकृति भनूँ कि, म के भनूँ मेरी नारीमय श्रीमतीलाई ।

अस्ति प्रचण्ड गर्मी भयो, हिमाली चिसो हावा बहँदा हृदयसम्म नै शीतल भयो । हिजो वर्षा भयो, खडेरीले सुकेका मेरा तमाम बोटबिरुवा रमाएर लहलहाए । आज सेताम्मे तुसारो परेको छ, आफ्नी नारी, श्रीमती, धरतीमातालाई सम्झँदै छु, चाँडै घाम लागोस् भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment