Comments Add Comment

हर्मिताजमा हराएको एउटा मान्छे


“तपाईंका छोरा रवीन्द्र मिश्र दाइ राजनीतिमा लाग्नुभयो, तपाईलाई कस्तो लागेको छ ?”

भर्खरै साझा पार्टी बनाएका थिए रवीन्द्र मिश्रले त्यतिबेला । विवेकशील साझा बनेकै थिएन । रवीन्द्रका बारेमा मैले पत्रकारिताको शैलीमा मनुजबाबु मिश्रलाई सोधें ।

सरल शैलीमा कुरा गर्ने मनुजबाबु मिश्रले भने “रविन पहिले धरहरा थियो राजनीतिमा लागेर ऊ घन्टाघर भयो । त्यो पनि भत्केला भन्ने डर छ ।”

राजनीतिप्रति वितृष्णा भएकाले नै हो, मनुजबाबु मिश्र गुप्तबास बसेको । छोरो राजनीतिमा लागेको उनलाई मन नपरेको उत्तर थियो त्यो ।

जति मान्छे मरुन् जति मान्छे जन्मिउन् । जति नै बिहेको बाजा बजोस् । जति नै मान्छे रोओस् गुप्तबासबाट उनी बाहिर ननिक्लनेमा गनिइसकेका थिए । बर्षाैं बर्षमा कहिले काहीँ यस्सो तोडिन्थ्यो गुप्तबास । त्यो पनि एकदमै आक्कल झुक्कल । उनलाई भित्र बसाउने कारण थियो– त्यही राजनीति ।

राजतन्त्र गएपछि पनि राजतन्त्र नआई बाहिर निस्कन्न भनेर अढाई दशक बढी गुप्तबास नै बसे ।

एकपल्ट अहिलेका प्रधानमन्त्री केपि शर्मा ओली उहाँलाई भेट्न बौद्ध महांकाल नजिकै तीनचुलेस्थित उनकै घरमा पुगेका थिए । गणतन्त्रका प्रधानमन्त्रीलाई उनले भने– म राजतन्त्र नआई बाहिर निस्कन्न ।’

प्रधानमन्त्री ओली त्यतिबेला राष्ट्रवादी छविका मान्छे भेट्दै हिँडेको समय थियो । कीर्तिनिधि बिष्ट र माधव घिमिरेलाई भेटेको केही समयपछि ओलीले उनलाई भेटेका थिए ।

मनुजबाबुले त्यसो भनिरहँदा ओलीले भनेका थिए ‘तपाईको देश प्रेमलाई कायम राख्दै चित्र बनाउनुस, तपाईको चित्र मलाई मन पर्छ ।’

छोराले, छोरीले जसजसले जे भने पनि मनुज बाहिर निक्लेनन् । यहाँसम्म कि आफ्नै जीवनीको किताब ‘हर्मिताज अढाई दशक गुफामा’ निक्लने दिन पनि उनी बाहिर आएनन् । उनैको डिजाईन अनुसार सत्यमोहन जोशी र डाक्टर तारानाथ शर्मालाई बोलाइयो । उनी आएनन् । हर्मिताज निक्लियो, उनी बाहिर आएनन् । उनकै सल्लाहमा उनको प्रिय नाम हर्मिताज राखेर किताब निकालिएको थियो ।

घोष्ट राइटिङ नेपालबाट निक्लेको किताब कुसुम भटराईले लेखेका थिए । अब किताबमा उनकै सम्झना मात्र बाँकी रह्यो ।

विमोचनको दिन बिहान फेरि फोन गरेर भनेथें– तपाईले भन्नुभएका सबैलाई बोलाएको छु, आउनुहोला । उनले भने ‘के गर्नुु कमलजी यो बहुुदल नगएसम्म कतै जान्न भनेर बोलिहालें । आफ्नै बचन हटाएर म हल्का हुुन्न चाहन्न । मैले धेरैलाई धेरैपल्ट सरी भनें । तपाईलाई पनि भनें सरी ।’

सबै माया गर्नेहरुलाई सरी भन्दै उनी हर्मिताजमै बसिरहन्थे मनपरि मननपरि । चित्रहरु । निबन्धहरु । लेखहरु । अन्तवार्ताहरु । र धेरै हरुहरु सँगै उनको बिहान बेलुुका बन्थ्यो । बेलुुका बिहान ।

उनी भन्थे– आजकल त म प्रत्येक बिहान जन्मन्छुु प्रत्येक बेलुुका मर्छुु । ऐनामा हेर्ने नाक पनि मनुुजबाबुुकै हो कि अरुकै जस्तो पो लाग्छ ।

यी सबै कुरा सम्झँदा लाग्छ अहिले म मनुजबाबुसँगै छु । कुरा गरिरहेछु । यही त हुन्छ मान्छेसँग । मान्छे माथि जान्छ, उसको याद तल बस्छ । यही यादलाई किताब बनाइएको हर्मिताजको बिमोचन समारोहमा संस्कृतिविद सत्यमोहन जोशीले भनेका थिए– एक अदभुत मानव हो मनुजबाबु मिश्र ।

खलिल जिब्रान महान कलाकार हुुन् । उनीसँग मनुुजबाबुुको जस्तै जीवन थियो । जसरी बिसं २००६ मा मनोजबाबुुकमा एकै परिवारको छ जनाको मृत्युु भयो । जिब्रानको पनि त्यस्तै कथा छ । ईमोसनल एटयाचमेन्ट भएका जिब्रान निवासको नाम पनि ‘हर्मिताज’ नै रहेछ ।

अर्का जर्मन लेखक तथा चित्रकार गुुन्टर ग्रासले पनि आफ्नो निवासको नाम राखेछन् हर्मिताज । हर्मिताज शब्दमा मनुुजबाबुले आफ्नो जीवनको संगीत भरेको भेटे । यो शब्दमा उनी यति एकोरिए ।

उनले शब्द र अर्थ जीवनमै खोज्न थालेथे । हर्मिताजको नेपाली अर्थ हो– आश्रम । एकान्तबास । ‘हर्मित’ भनेको जोगी, जोगीको आश्रम हर्मिताज । यसैले उनले आफ्नो निवासलाई कला संग्राहलयकै रुप दिएर नाम राखे– हर्मिताज ।

विसं. ०४६ सालदेखि नमरुञ्जेल मनुजबाबु फरक–फरक भवनमा बस्दै आएका छन् । तर, जुन भवनमा सरे पनि उनले ‘हर्मिताज कला कुटी’ साथै लिएर गए । र, शब्दको अर्थ खोज्दै एकान्त गुुफाझैं बनाए घरलाई पनि ।

मनुजबाबुले अनुकरणलाई भन्दा जीवन्त कलालाई, स्वाभाविक कलालाई महत्व दिए । उनले धेरै मानिसलाई अगाडि राखेर स्केच बनाए । फोटोबाट नक्कल उतारेनन् । यही कारण उनी कलाको स्वाभाविक प्रस्फुटन र मौलिकताको पक्षमा रहे । राति दुुई बजेदेखि बेलुुकी पाँच बजेसम्मको उनको रुटिन नियमित थियो ।

नियमिततामा आकस्मिकता खोजेर उनी चलिरहेका थिए ।

जीवनको अध्याँरो पक्षको खोज उनको कलाको बिशेषता हो । उनले बिश्वभर घुुमेर यसलाई झन दह्रो ढंगमा अगाडि बढाउदै आएका थिए । इटलीका विद्वान समाजशास्त्री टम्स एकिनासले ‘म्यान इज अ सोसल एनिमल’ भनेर पहिलोपटक भनेका थिए । मनुजबाबुलाई त्यो भनाइले छोयो । त्यसैलाई लिएर हिँडे । अब त्यो समाज पनि बदलियो भनेर मनुजबाबु भन्थे ।

एक भेटमा भनेका थिए– न्यूयोर्कमा फुटपाथमा हिँड्नेको बाउ को हो, आमा को हो, घर कहाँ हो केही थाहा छैन । मानिस व्यक्तिवादी हुँदै गयो । मान्छेको व्यक्तित्व एक्लो पर्दै गयो । पल्लो घरको मान्छे मरिसक्यो, वल्लो घरको मान्छेलाई थाहा छैन, त्यसैले– म्यान इज एन एनिमल ।

समाज निजात्मक भइसक्यो, यसलाई ‘सोसियल’ भन्नै मिल्दैन । पटक पटकको भेटमा उनी यसै भन्थे ।

फ्रयान्को रिभेला औषधि विज्ञानका डाक्टर हु्न् । उनी एकिनासकै समकालीन हुन् । उनले ‘गार्गान्तुवा एन्ड पान्ताग्रोएल’ भन्ने उपन्यास लेखे । गार्गान्तोआ यस्तो खन्चुवा हो, यस्तो दैत्य हो, जसलाई जति खाए पनि पुग्दैन । हो, आजको आधुनिक मानिस पनि त्यही गार्गान्तुवा झैं भयो, आजको मानिस दुईखुट्टे जनावर भयो । तर, रुप त फेरि पनि मानिसकै छ । भनेपछि हामी मानिसभित्र जनावर कहाँ छ त ? मनुुजबाबुु प्रश्न गर्थे । म उत्तर खोेजेर एकोरिइरहन्थें ।

तमसोमा ज्योर्तिगमय । ‘तम’ अर्थात अँध्यारोभित्र जो गहिराईमा पस्न सक्छ, उसले नै नयाँ कुरा फेला पारेर ज्योतिमा ल्याउन सक्छ । ज्योति भनेको प्रकाश ।

अँध्यारोमा जो पसेकै छैन, जसले अँध्यारो देखेकै छैन, उसले ज्योति ल्याउन सक्दैन । त्यसैले गहिराइ भनेको अन्धकार हो, त्यही अन्धकारबाट मोति निकाल्ने हो । जहाँ स्वर्गको कुरा गरिन्छ, त्यहाँ नर्क त पछि लागेर आउँछ । पहिला नर्क नहेरी स्वर्गको अर्थै हुँदैन ।

टन्न अघाएको मानिसलाई पाँचतारे होटलको खाना ल्याएर के अर्थ भो ? मनुजबाबुको अहम खोजको विषय त्यही हुन गयो । उनले त्यही खोजका क्रममा हासिल गरेको ज्ञानलाई, अनुभव र सम्वेदनालाई कहिले चित्रमा कोरे, कहिले निबन्धमा लेखे, कहिले उपन्यासमा बुने, कहिले कविताका लयमा उने ।

प्रकृति कला हो । बिज्ञान हो । अध्यात्म हो । दर्शन हो र हो असीमित भण्डार । यो भण्डारबाट मान्छेले जे पनि झिक्न सक्छ । स्रस्टा र द्रष्टा प्रकृति मात्र हो । मान्छे त त्यसलाई अलिक बुुझेजस्तो गर्ने पृथ्वीको एक जीव हो । मान्छे जति बुझ्दै गयो, उति प्रकृतिमा निहुुरिँदै जान्छ । प्रकृति उही रहन्छ । नबुुझ्दै मान्छे मरिसक्छ । जसरी लटरम्म फलेको फल निउरीमुुन्टो लगाएर झुुकिरहेको हुुन्छ, मान्छे प्रकृतिप्रति त्यसरी नै झुुक्दै जान्छ । जब उसमा ज्ञान भरिन्छ ।

खोज र अनुुसन्धान बाँदरले त गरिरहन्छ, मान्छेले नगर्ने कुरै भएन । आफ्नो आफ्नो रुचिको बिषयमा खोज गर्नु मान्छेको आफनो रुप हो । कलाको क्षेत्रमा निरन्तर खोज गरिरहेका मान्छे थिए मनुुजबाबुु मिश्र ।

पहिलो पल्ट भेट्दा लाग्थ्यो के बनाएको होला खाली मान्छेको सिङ उम्रेको चित्र बनाएको छ । मान्छेभित्रको पशुत्वलाई देखाउने उनको अभिलाषा त्यसमा झल्किएको भनेर धेरै नै आइसक्यो ।

अजब गज्जब मान्छे थिए मनुजबाबु । एक दिन कलाकार रागिनी उपाध्याय र म जाउँ भनेर पाँच बजे फोन गर्दा भन्थे– अब नआउनु म सुत्छु, बरु आउन सक्नुहुन्छ भने तीन बजे बिहान आउनू । किनकि म दुई बजे नै उठिसक्छु ।

सुतेपछि सपना देख्ने, सपना नदेखे तर्कना गर्ने । तर्कना लामो हुँदै गए पछि जाग्ने । जागिसकेपछि पनि तर्कनाको लहर चलिरहेकै हुन्छ । अनि त्यसलाई सिर्जनामा उतार्ने उनको स्टायल थियो ।

साथीभाइले बिहान मर्निङ वाक जान आग्रह गर्दा उनी नजानुको कारण त्यही रहेछ । ‘मर्निङ वाक गएँ भने त मेरो त्यो ताजा विचारको श्रृंखला टुटिहाल्छ नि’, यसै भन्थे उनी ।

जीवनका बारेमा पछिल्लोपल्ट भेट्दा उनी अलि निराशजस्तै देखिन्थे । भन्थे– ‘दुई बजे ब्युँझिए पनि कहिले उठेर काम गर्छु, कहिले गर्न सक्दिनँ । उत्साह घटेर गएको छ ।’

उनले चुरोट खाने भनेकै दुई सर्काे हो । दुई सर्काे तानेर निभाउँदै भनेथे– उपलब्धीको आशा हो जीवन । जन्मिएदेखि हालसम्म केही उपलब्धी हासिल गरौं भनेर संघर्ष गर्दागर्दै मानिस मर्छ ।

तर, जसरी कलाको क्षेत्रमा हर्मिताज मर्दैन, त्यसैगरी मनुजबाबु पनि मर्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment