Comments Add Comment

आइजीपीसाप ! होटल रेष्टुरेन्टमा भेट र डेट गर्नु अपराध हो ?

प्रहरीले 'सलामी', श्रमिक महिलाको इज्जत लिलामी


महानगरीय प्रहरी वृत्त बालाजुले गत आइतबार सो क्षेत्रका होटल, रेष्टुरेन्ट र कटेजहरुमा गरेको स्वीच अपरेशनले ठूलो सफलता प्राप्त भएको वृत्तका इञ्चार्ज डीएसपी चिरञ्जीवी कोइरालाले गर्वका साथ सञ्चारकर्मी बोलाएर बताए । उनले चलाएको ‘अप्रेशन स्वीच’ का क्रममा आपराधिक क्रियाकलापमा संलग्न १३४ जना समातिएछन् ।

समातिने अधिकांश विभिन्न उमेर समूहका महिला थिए । पुरुषलाई अलग्गै हिरासतमा राखेको प्रहरीले महिलाहरुलाई पनि लहरै राखेर फोटो खिचियो । सामूहिक फोटोसेसनपछि मिडियामा पठाइयो-बालाजु प्रहरीको सफलता विभिन्न होटलबाट १३४ अपराधी पक्राउ ।

केही सञ्चारमाध्यमले डीएसपी कोइरालाको सिंघम स्टाइललाई ग्लोरीफाइ गर्दै कथित अपराधी महिलाको फोटोमा आँखा छोपेर समाचार प्रकाशन-प्रसारण पनि गरे । तर, ती महिलाले अप्रेशन स्वीच नै चलाउनुपर्ने गरी कुन अपराध गरे भन्ने प्रहरीले बताएन । उसले रेडिमेड जानकारी दियो- अश्लील गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं ।’

जतिबेला प्रहरीले बालाजु क्षेत्रका होटल रेष्टुरेन्टबाट १३४ जना अपराधी समातेको प्रचार गरिरहेको थियो, त्यति नै बेला काठमाडौंको काँडाघारीबाट अपहरित बालक निशान खड्काको अभिभावकसँग अपहरणकारीले करोडौं फिरौती मागिरहेका थिए । लगभग त्यही समयमा १३ वर्षीया बालिकामाथि जवर्जस्ती करणीको समाचार आएको थियो ।

बालक अपहरणकारी र बालिका बलात्कारीलाई फेला पार्न नसकेको प्रहरीको बहादुरी बालाजुमा मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि प्रकट भएको रहेछ । प्रहरीले आपराधिक गतिविधिमा संलग्न भनेर पक्राउ गरेका अधिकांश महिला विभिन्न रेष्टुरेन्ट र रिसोर्टहरुमा काम गर्ने श्रमिक थिए ।

पुरुषचाहिँ होटल, रेष्टुरेन्ट सञ्चालक, मजदुर र ग्राहक थिए । उनीहरुले गरेको अपराध कर्म के हो ? प्रहरीले यौनजन्य गतिविधिमा संलगन थिए भन्दियो । तर, यो अभियोग न त पुष्टि भयो, न त कतैबाट प्रतिवाद नै हुन सक्यो ।

काठमाडौंको बालाजुमाथि रानीवन क्षेत्र, भक्तपुरको पलाँसे, ललितपुरको गोदावरीलगायतका क्षेत्रमा आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरेर रेष्टुरेन्ट, कटेज र रिसोर्ट सञ्चालनमा छन् । ती ठाउँमा महिला श्रमिक पनि काम गर्छन् । कतिपय जोडीहरु गोप्य र एकान्त ठाउँ खोज्दै डेटिङका लागि ती ठाउँमा जान्छन् भने कतिपय परिवार र साथीभाइ जान्छन् ।

कार्यथलोबाट अपराधी करार गर्दै श्रमिक महिला र आन्तरिक पर्यटकलाई पक्राउ गरेर प्रहरी थानामा लैजानु, उनीहरुको फोटो खिचेर सञ्चारमाध्यममा सार्वजनिक गर्नु प्रहरीको शान्ति सुरक्षा अन्तर्गतको दायित्व हो ? यदि हो भने कानून हातमा लिएर महिलामाथिको इज्जत र प्रतिष्ठामाथि योभन्दा ठूलो सामूहिक बलात्कार अरु हुन सक्दैन

काठमाडौंको भीडभाड र व्यस्तताबाट छलेर मान्छेहरु ती ठाउँमा आराम गर्न र मनोरञ्जनका लागि जान्छन् । जानेहरु धेरैजसो जोडी हुन पनि सक्छन् । होटल, रेष्टुरेन्ट, कटेजहरुलाई सरकारले नै मनोरञ्जन क्षेत्र भनेको छ । ती मनोरञ्जक क्षेत्रमा महिला श्रमिक कार्यरत छन् । बालाजु प्रहरीले अप्रेसन स्वीचका क्रममा पक्राउ गरेका कथित अपराधी यस्तै सेवाग्राही र श्रमिक महिलाहरु नै हुन् ।

यो सामूहिक बलात्कार होइन ?

कार्यथलोबाट अपराधी करार गर्दै श्रमिक महिला र आन्तरिक पर्यटकलाई पक्राउ गरेर प्रहरी थानामा लैजानु, उनीहरुको फोटो खिचेर सञ्चारमाध्यममा सार्वजनिक गर्नु प्रहरीको शान्ति सुरक्षा अन्तर्गतको दायित्व हो ? यदि हो भने कानून हातमा लिएर महिलामाथिको इज्जत र प्रतिष्ठामाथि योभन्दा ठूलो सामूहिक बलात्कार अरु हुन सक्दैन । त्यो पनि प्रहरीबाटै ।

होटल, रेष्टुरेन्टमा खान वा बस्न गएका सेवाग्राहीलाई आपराधिक क्रियाकलापमा संलग्न भनेर सार्वजनिकरुपमा बेइज्यती गर्ने अधिकार प्रहरीलाई कसले दियो ? आईजीपीले जवाफ दिनुपर्छ । के बालाजु क्षेत्रका रेष्टुरेन्टबाट समातिएका महिलाले कसैको अपहरण गरेर फिरौती मागिरहेका थिए ? जोडीसहित गएका युवकहरु बालिका बलात्कार गरेर फरार भएका अभियुक्त थिए ?

आफ्नो कमाइमा घुमफिर गर्ने, मनोरञ्जन गर्ने अधिकारमाथि प्रहरीको हस्तक्षेप र अपराधी सरहको व्यवहार सभ्य समाजमा स्वीकार्य छैन । अझ कार्यथलोबाट महिला श्रमिकलाई जबर्जस्ती पक्राउ गरेर यौनकर्मीका रुपमा फोटो सार्वजनिक गर्ने प्रहरीको हर्क नुै पनि हालतमा क्षम्य हुन सक्दैन । कुनै अपराधीले गर्ने भौतिक बलात्कार भन्दा पनि यो प्रहरीले श्रमिक महिलामाथि गर्ने यस्तो व्यवहार जघन्य अपराध हो ।

बालाजु र गोंगबु क्षेत्रमा शक्ति समूह र महिलाका निम्ति महिला मञ्च भन्ने संस्थाले गरेको एक अनौपचारिक अध्ययन अनुसार सो क्षेत्रमा मात्रै मनोरञ्जन क्षेत्रमा करिब १५ सय विभिन्न उमेर समूहका महिला कार्यरत छन् । गोंगबु प्रहरीले १८ वर्षमुनिका किशोरीलाई भने मनोरञ्जन क्षेत्रबाट उद्धार गरेर यी संस्थाहरुलाई बुझाउने गरेको छ ।

मनोरञ्जन क्षेत्रमा बाल श्रमिक राखिएको छ भने उद्दार गर्नु प्रहरीको दायित्व हो । अपराधिक क्रियाकलापको सूचना व्यवसायीबाट आउछ भने प्रहरी तत्काल जानु कर्तव्य हो । गैरकानुनी काम भइरहेको छ भने निगरानी गर्नुपर्छ । तर, व्यक्तिको निजी जीवनमा दख्खल दिने र इज्जत प्रतिष्ठामाथि सार्वजनिक बेइज्जति गर्न प्रहरीले कुनै हालतमा पाउदैन । यो प्रवृति तत्काल रोकिनुपर्छ ।

हाकिम फेरिनासाथ टार्गेट

बालाजु वृत्तका प्रहरी इञ्चार्ज फेरिनासाथ महिला श्रमिकलाई ‘आपराधिक क्रियाकलाप संलग्न भएको’ बिल्ला भिराएर पक्राउ गर्नु सामान्य जस्तै भइसकेको छ । यही घानमा त्यहाँ खान, बस्न र डेटिङमा गएको सेवाग्राही पर्ने गरेका छन् । होटल रेष्टुरेन्ट सञ्चालकले सलामी नबुझाएको झोंक ग्राहक र महिला श्रमिकमाथि पोखिने गरेको व्यवसायीहरु बताउँछन् ।

व्यवसायी र प्रहरीबीच कारोबार नमिल्दाको सजाय, सेवाग्राही र श्रमिक महिलाले आपराधिक रुपमा पाउनुपर्ने र सार्वजनिक रुपमा बेइज्जती भोग्नुपर्ने नियति बालाजुको मात्र होइन । अन्यत्रका प्रहरी हाकिम पनि नयाँ कामको शुरुआत यस्तै बहादुरीबाट गर्छन् ।

यसै साता महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामराज राई आफैं सक्रिय भएर गोकर्ण, कपन क्षेत्रका रिसोर्ट तथा रेष्टुरेन्टहरुमा कथित अप्रेसन चलाए । खाना खाइरहेका बेला एक्कासी आएर प्रहरीले पाखुरामा समातेपछि २ जना अन्य साथीसहित रहेकी एक युवतीले प्रतिवाद गरिन् । अनि के चाहियो ? डीएसपी आफैं गएर उनलाई मुख छाड्दै भ्यानमा कोचे ।

पढेलेखेकी ती युवतीले प्रहरीको ज्यादती विरुद्ध बोल्दा उनलाई डीएसपीले धम्की दिए-तेरो फोटो खिचेर केटासँग सुतेको अवस्थामा रंगेहात होटलको कोठाबाट समातिएको समाचार पत्रकार बोलाएर दिन्छु । तेरा घरपरिवारलाई फोन गरेर खबर गर्दिन्छु ।

डीएसपीबाटै यो तहको ब्ल्याकमेलिङमा परेकी ती युवतीसामु चुपचाप अपराधी सरह प्रहरी भ्यानमा पस्नु र हिरासतमा एकरात बिताउनुको विकल्प थिएन । भोलिपल्ट रेष्टुरेन्ट सञ्चालकहरु उनलाई छुटाउन जाँदा उल्टै डीएसपीले आफू इन्चार्ज भएर आएको यत्रो दिनसम्म पनि भेट्न नआएको र मानभाउ नदिएको भन्दै अप्रत्यक्षरुपमा सलामी मागे ।

उनले निःशंकोच भएर बोलिरहे- ऊ त्यो सिपाही (गेटमा पहरा दिइरहेको) को त इज्जत छ । म त डीएसपी हुँ । मेरो सम्मान हुनुपर्दैन ? हेर्नुस, प्रहरी कार्यालयका धारा बिग्रेका छन्, बत्ति बिग्रिएका थिए । मैले खल्तीबाट निकालेर मर्मत गर्ने ? प्रहरीबाट तपाईहरुले सुरक्षामात्र खोज्ने ? हाम्रो समस्या नदेख्ने ? त्यो केटीले ओभरस्मार्ट भएर म डीएसपीलाई मुख छाडेपछि ल्याउनुपरेको हो । त्यसको …(यौनाङ्गको नाम लिदै) जहाँसुकै देओस् मैले साँचो लाइदिने हो र ? यसो आफ्नो पावर देखाइदिएको पो त ।

आइजीपीलाई लाज होस

बुटवलको क्याफेबामट छापा हानेर गाडीमा युवालार्इ हाल्दै प्रहरी

व्यवसायीले डीएसपीलाई सलामी नबुझाउँदा रेष्टुरेन्ट र होटलमा खाजा खाइरहेका वा भेट र डेटमा गएका सेवाग्राही अनाहकमा अपराधी बन्नुपर्ने यी प्रतिनिधिमूलक घटनाले आइजीपी सर्वेन्द्र खनाललाई लज्जाबोध हुनुपर्छ । नेपाल प्रहरीको आइजीपीका रुपमा आमा मानिसले पनि धेरै अपेक्षा गरेका काबिल अफिसर हुन् खनाल । प्रहरीलाई आधुनिक समाजमैत्री बनाउनु उनको दायित्व हो ।

प्रहरी र व्यवसायीबीच कुरा नमिलेपछि यौन धन्दाको रेडिमेड अभियोगमा सेवाग्राही र श्रमिक महिलाको चीरहरण हुने गर्छ । आइजीपी खनालले यो नबुझेको विषय होइन

बालाजु र बौद्धका यी दुई घटना उदाहरणमात्र हुन् । दरवारमार्गका प्रहरी हाकिमले क्यासिनोबाट सलामी र खाजा नपाउँदा दुःख दिएका उजुरीको छानविन हुनुपर्दैन ? अपराध महाशाखाका हाकमिले सलामी (पैसा) नपाउँदा प्रतिष्ठित व्यवसायीलाई हतियार केसमा फसाइदिन्छु भनेका कल रेकर्ड सुन्नुपर्दैन ? यी प्रश्न आइजीपीमाथि उनकै संगठनभित्रबाट उठेका छन् । जसले आफ्ना हाकिमसामू प्रत्यक्ष सोध्न सक्दैनन् ।

बौद्धका डीएसपीबारे उजुरी गर्दा उनीभन्दा माथिका हाकिमहरु सिधै भन्छन्- ऊ त गृहसचिवको मान्छे हो । हामीले छुन मिल्दैन, उल्टै हामीलाई सरुवा गराउने हैसियत राख्छ । दरवारमार्गका डीएसपी प्रचण्डका पूर्व एडीसी होलान् । अर्को कुनै डीएसपी अर्को शक्तिशाली नेता वा प्रशासकको नजिकको मान्छे होलान् । पावर लगाएर लाइनको डीएसपी बन्ने अनि नागरिकमाथि ज्यादती र व्यवसायीसँग असुली गर्न छुट दिने ?

माथिको पहुँचमा कमाइ अड्डा छानेर जाने अफिसरका कारण काठमाडौं उपत्यकाका विशेषतः मनोरञ्जन व्यवसाय -होटल, रेष्टरेन्ट, रिसोर्ट, पाटी प्यालेस, क्लब) जस्ता व्यापारिक प्रतिष्ठानहरु प्रहरी र गुण्डा दुवैतिरबाट असूलीको अखडा बनेका छन् । प्रहरी र व्यवसायीबीच कुरा नमिलेपछि यौन धन्दाको रेडिमेड अभियोगमा सेवाग्राही र श्रमिक महिलाको चीरहरण हुने गर्छ । आइजीपी खनालले यो नबुझेको विषय होइन ।

ओली, बादल र रविन्द्र अधिकारीलाई प्रश्न

र अन्त्यमा, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामवहादुर थापा बादल र पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रश्न- तपाईहरुले सपना देखेको र बनाउन खोजेको समृद्ध नेपालका सुखी नेपालीहरु कस्ता हुनेछन् ? बालाजु र बौद्ध प्रहरीको निशानामा परेका जस्तै कि सम्मानित नेपाली ?

काठमाडौं वरिपरि हरिया मनमोहक डाँडामा स्तरीय होटल र रेष्टुराँहरु खुलुन् । त्यहाँ सेवाग्राहीहरुको भीडभाड र बाक्लो चहलपहल होस । वरिपरिका गाउँका कृषकले उत्पादन गरेका अर्गानिक कृषि उपजहरु तिनै होटलमा विक्री गरेर आम्दानी बढोस् । काठमाडौंको भीडभाड र धुलो धुँवाबाट निस्किएका नागरिक शान्त र सुरक्षित वातावरणमा मनोरन्जन लिन पाउन् ।

आन्तरिक र बाहृय पर्यटकले खचाखच होटल,रिसोर्ट लगायतका मनोरन्जनस्थलमा हजारौं युवा जनशक्तिले रोजगारी पाउन् । २०/२५ हजार रुपैया मासिक कमाउन अवैधबाट बिदेशिन बाध्य भएका हाम्रा छोरीचेलीले यिनै ठाउँमा रोजीछाडी इज्जतका साथ काम गर्न पाउन् । प्रहरीले व्यवसायी र सेवाग्राहीलाई सम्मानका साथ सुरक्षाको अनुभूति दिलाओस अनि राज्यकोषमा राजश्वको ओइरो लागोस् ।

प्रहरीको काम व्यक्तिका निजी जीवनको चियोचर्चो गर्नु र व्यावसायिकबाट हप्ता/मासिक असुली नभएको झोंक महिलाको इज्जतलाई बजारमा सौदाबाजी गर्नु किमार्थ होइन । केही प्रहरी अधिकृतको यस्ता अस्वीकार्य हर्कतको कलंक समग्र प्रहरी संगठन र राज्यले बोक्न नपरोस

यही होइन हामीलाई देखाइएका सपना ? यदि तपाईहरुले देखेको समृद्ध नेपालको भीमकाय सपनाको एक टुक्रा यो परिकल्पना पनि हो भने शुरुआत काठमाडौंका यिनै २/४ ठाउँबाट गर्नुस । जहाँप्रहरी जाँदा सेवाग्राही, व्यवसायी र श्रमिक महिलाहरु बर्कोले मुख छोपेर भाग्नु नपरोस् । उल्टै प्रहरीलाई त्यो बर्को ओढाएर अभिनन्दन गरुन् जनताले । हाम्रा छोरी चेलीले त्यहाँ काम गर्दा वा खान पिउन जाँदा अपराधिक कृयाकलाप गरेको झूठो र बनावटी लाञ्छना खेप्नु नपरोस ।

यसका लागि प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरी हाकिमलाई राखेर समृद्ध नेपाल र सुखी नेपाली अभियानमा प्रहरीको दायित्व सम्झाइदिए पुग्छ । पर्यटनमन्त्रीले २ वर्षमा ५० लाख विदेशी पर्यटक भित्र्याउने सपनाको शुरुआत यी मनोरञ्जन क्षेत्रलाई सभ्य र सुरक्षित गन्तव्यका रुपमा विकास गर्न सामान्य पहल लिए पुग्छ ।

आम मान्छेको आत्मसम्मान हुँदैन ?

के मनोरञ्जन क्षेत्रमा काम गर्नु महिलाको अपराध हो ? महिला-पुरुष सहमतिमा कुनै होटल वा रिसोर्टमा गएर खानु-बस्नु अपराध हो ? काठमाडौंमा बस्ने र घुम्ने पार्क छैनन् । वरिपरि काँठका ग्रामीण दृश्यसँग बहलाउँदै रिफ्रेसमेन्टका लागि परिवार पनि जान्छन् । प्रेमी प्रेमिका घुम्न जान्छन् । समृद्ध नेपालमा नागरिकका यी अधिकारको सुरक्षा गर्नु प्रहरीको दायित्व होइन ?

प्रहरीको काम नागरिकलाई आपराधिक क्रियाकलापको बिल्ला भिराउँदै किन पक्राउ गरेर इज्जतको लिलामी गरिन्छ ? के आम मान्छे र श्रमिक महिलाको आत्मसम्मान हुँदैन ? सभ्य समाजमा प्रहरीले यसको जवाफ दिनुपर्छ ।

प्रहरीको काम व्यक्तिका निजी जीवनको चियोचर्चो गर्नु र व्यावसायिकबाट हप्ता/मासिक असुली नभएको झोंक महिलाको इज्जतलाई बजारमा सौदाबाजी गर्नु किमार्थ होइन । केही प्रहरी अधिकृतको यस्ता अस्वीकार्य हर्कतको कलंक समग्र प्रहरी संगठन र राज्यले बोक्न नपरोस भन्ने मात्र आशय हो यो टिप्पणीको ।

आम रुपमा नेपाल प्रहरी सधैं सम्मानित नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment