Comments Add Comment

कुलपतिज्यू, यस्तो पढाइले समृद्धि आउला ?

'सक्षम नेपालीलाई आजैदेखि विदेशिनबाट रोकौं'

अचेल सडकको किनारमा थुप्रिएको फोहोरको डंगुर र हाम्रो शिक्षा प्रणालीबाट उस्तै गन्ध आइरहेको जस्तो लाग्छ । लाग्छ, यदि बेलैमा सोचिएन भने यसले महामारी नै निम्त्याउनेछ ।

दिनानुदिन ओरालो लागेको हाम्रो उच्चशिक्षाले आफूसँगै हाम्रो देशलाई पनि अधोगतितर्फ लम्काइरहेको छ । नेपालको शिक्षा प्रणालि ठग्ने र ठग्न प्रोत्साहन गर्ने मानसिकताले ग्रसित छ भन्न हिच्किचाउनु पर्दैन । यस्तै यस्तै अवस्था रहिरहने हो भने यो देशले श्रीराम मथे जस्ता बुद्धिजीवीहरु गुमाइरहनेछ । विदेश पलायन भैरहेका नब्बे हजार भन्दा बढी शिक्षित र दीक्षित जनशक्तिले अर्काको देशको आर्थिक, एवम् सामाजिक विकासका लागि समर्पण गरिरहनुपर्ने छ ।

गज्जब छ, स्वयं प्रधानमन्त्री कुलपति रहेका विश्वविद्यालयहरुको लगाम कस्ने काम भएको छैन । स्वदेश छोड्न बाध्य भैरहेका नेपालका सबैभन्दा सक्षम जनशक्तिलाई स्वदेशमै स्वास फेर्न अलिकति सजिलो बातावरण बनाउने कदम चाल्ने लक्षण देखिएको छैन । अचम्म लाग्छ, केपी ओलीले आफू राष्ट्रप्रेमी भएको दाबी भने दैनिकजसो गरेको सुनिन्छ । प्रधानमन्त्री ज्यू के तपाई साँच्चै नै देशप्रेमी भएको पुष्टि गर्न चाहनुहुन्छ ? यदि हो भने, सबैभन्दा पहिले वौद्धिक पलायनतालाई रोक्नुस् र यो मुलुकले गरेको लगानीको प्रतिफल यही देशका बासिन्दाले खाने वातावरण मिलाउनुहोस् ।

तपाई काम नै गर्न चाहनुहुन्छ भने हालको वस्तुस्थितिबारे केही जानकारी आवश्यक देखिन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध एक कलेजमा मास्टर्सको कक्षामा प्रवेश गर्नासाथ एक प्राध्यापकले फूर्ति लाउँदै भने, ँआज तिमीहरुलाई पढाउन मैले हिजो केही पढ्नु नै परेन ।

विद्यार्थी दङ्ग । ‘अहो कति जान्ने रहेछन् सर’ भन्ने भयो । मलाई चाहिँ यो कुरा पचाउन अलिकति गार्‍हो भयो, कताकता अटस मटस भइरहेको थियो । बिहान ९ बजेदेखि बेलुका ५बजेसम्म अफिसमा काम गर्नुपर्ने वाध्यताका कारण बिहान ६ः३० बजे नै पढ्न आएको विद्यार्थीलाई चिया गफ सुनाएर समय बर्बाद गर्ने बाहेक उनले थप केही पढाएनन् । समय खेर गएकोमा मन पोलिरहृयो ।

साँच्चै भन्नुपर्दा दिनभरि काम गरेर बिहान ३ घण्टा कक्षाकोठामा पढेको भरमा मास्टर्स सम्भव नै नहुनुपर्ने हो । अमेरिकाको युनिभर्सिटी अफ मिसिगनका अनुसार एउटा विषयका लागि कक्षा कोठामा हप्ताको तीनघण्टा बाहेक कक्षा बाहिर कम्तिमा ९ घण्टा पढ्नुपर्छ । ध्यान दिनुहोस्, पढ्नुपर्छ । रट्नुपर्छ होइन ।

‘ततमीहरु त केही पढ्दैनौ । मास्टर्सका विद्यार्थीले त धेरै पढ्नुपर्छ । पढेको पढ्यै गर्नुपर्छ । तिमीहरु जस्तो अल्छी भएर हुन्छ ? आफूले पढ्नै नपर्ने सरको रटान एकोहोरो थियो । तर, उनले मास्टर्सको विद्यार्थीले के पढ्नुपर्छ भन्ने कुराचाहिँ सधैँ गोप्य नै राखे । शायद, थाहा नै पो थिएन कि !

संसारभरिका विद्यार्थीको एउटा चरित्र चाहिँ मिल्छ । विद्यार्थी सधैँ ठग्ने उपाय खोजिरहेको हुन्छ । कसरी कामै नगरी वा कमभन्दा कम काम गरेर धेरै अंक ल्याउने भन्ने खोजीमा हुन्छ, विद्यार्थी । शिक्षक र पाठ्यक्रमले सकेसम्म यो प्रवृत्तिलाई न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्ने हुन्छ ।

युनिभर्सिटी अफ मिसिगनको विद्यार्थीले पनि कम्तिमा ९ घण्टा स्वेच्छाले पढ्दैन । नपढ्ने उपाय नै हुँदैन उसँग र अनिमात्र पढ्छ । कुन दिन के पढ्ने, गृहकार्य के लिएर आउने भन्ने कुरा पहिले नै शिक्षकले आफैँ पर्याप्त अध्ययन गरेर तोकिदिएको हुन्छ । कक्षाकोठामा त पढेको कुरामा छलफल हुन्छ र त्यही छलफलका आधारमा उसको मूल्यांकन पनि हुन्छ । हरेक दिन उसले पढेको आधारमा, गरेको गृहकार्यको आधारमा र लेखेको विश्लेशणका आधारमा उसको मूल्यांकन भइरहेको हुन्छ । यस्तोमा ठग्ने कसरी ? हाम्रोमा यो विधि कहिले अवलम्बन गर्ने ?

वाशिङ्गटन युनिभर्सिटीको टिचिङ्ग सेन्टरका अनुसार एउटा कोर्ष बनाउन कम्तिमा पनि ६ महिना लाग्छ । कक्षा शुरु गर्नुभन्दा ६ महिना अगाडिदेखि कोर्षको उद्देश्य, कोर्ष पढेर विद्यार्थीले सिक्ने कुरा, प्रयोग गर्ने पुस्तक र पढाउने तरिका निर्धारण गर्नुपर्छ । र, तीन महिना अगाडिदेखि कोर्षको समयतालिका, मूल्यांकन गर्ने आधार र प्रयोग गरिने साधनको तयारी जरुरी हुन्छ ।

युनिभसिर्टी अफ सान फ्रान्सिस्कोका एक प्रोफेसरले आˆनो अनुभवमा भनेका छन्, ‘उनी एउटा एक घण्टे कक्षाका लागि ४ घण्टा तयारी गर्छन् । यो समयमा विद्यार्थीलाई गृहकार्य गर्न सहयोग गर्ने, विद्यार्थीको गृहकार्य जाँच्ने समय जोडिएको छैन ।’

नेपालको परिप्रेक्षमा भने स्नातकोत्तर पढ्ने विद्यार्थीले ५/ ६ सय पृष्ठको एउटा पुस्तक पढे पुग्छ । र, शिक्षकले पनि त्यति पढाए हुन्छ । यी पाठ्यपुस्तकहरुको गुणस्तरको पनि कुरा गरौँ ।

स्नातकोत्तर तहको सामाजिक कार्यमा प्रयोग हुने एउटा पुस्तकमा लेखिएको छ, ‘सबैजना आˆनो ठाउँमा बस्नुपर्छ । गरीबहरु धेरै हल्ला नगरी मर्नुपर्छ ।’ कस्ता किसिमका पुस्तक पढाइ भैरहेका छन् हाम्रा विश्वविद्यालयमा ।

के शिक्षकको काम अगाडि उभिएर गफ दिने मात्र हो ? विचार, विमर्श, छलफल, अन्तरक्रियाबाट के पढ्ने र पढाउने कार्य सम्भव छैन ? के स्नातकोत्तर तहका विद्यार्थीलाई अगाडि उभिएर ‘क’ बाट कछुवा घोकाउनु आवश्यक छ ? यो किताबको यो पृष्ठदेखि यो पृष्ठसम्म पढेर आऊ, भोलि छलफल गर्छौं भनेर छलफल गराउँदा विद्यार्थीले ‘क’ बाट कछुवा भन्ने कुरा आफैँ जान्दैन ? के विद्यार्थीले आफैँ पढेर, छलफल गरेर शिक्षा प्राप्त गर्दा कुनै पनि विषयको परिभाषा मात्र नभएर, विश्लेषण गर्ने, आˆनो विचार राख्ने, र वस्तुपरक आलोचना गर्ने क्षमताको समेत विकास गर्छ ?

तर, यति सजिलो काम किन भइरहेको छैन शिक्षामन्त्री ज्यू ? म नै भन्छु, ‘किनभने यो सम्भव हुन त विद्यार्थीले मात्रै होइन, शिक्षकले पनि अहिलेको भन्दा कैयौँ गुना बढी काम गर्नुपर्छ, पढ्नुपर्छ । अनि तपाईंले पनि । पाठ्यक्रम बनाउनेले पनि । कक्षा कोठामा ‘गफ दिएर’ तलब खाइरहन पाएका कसैले पनिबिना दबाव किन ल्याउने शिक्षण विधिमा परिवर्तन ? चित्त नबुझ्नेहरु विदेश गइरहेका छन्, जान्छन् ।

केही ठूला अन्तराष्ट्रिय संस्थामा काम गर्ने दुई विदेशीहरुको टिप्पणी याद आउँछ, यस प्रसंगमा । उनीहरु मलाई भन्दै थिए- ‘तिम्रो रिपोर्ट त नेपालीको जस्तो छैन त ! नेपालीहरुलाई त लेख्नै आउँदैन ।’ सबै नेपालीलाई उस्तै भनेर सामान्यीकरण गरेको मलाई मन परेन र जवाफमा भनें- तिमीहरुले कतिजना नेपालीले लेखेको के-के पढ्या छौ र यसरी सबै नेपाली यस्ता भनेर भन्छौ ?’ तर, मैले सिधै, निर्धक्कसँग ‘होइन’ भन्न पनि सकिनँ ।

पढ्ने, लेख्ने क्षमताको विकास गर्ने अभ्यास त हामीकहाँ हुँदैहुँदैन । अनि भन्दैनन् त विदेशीले ‘पढ्न पनि लाज लाग्ने रिपोर्ट ?’ रिसर्च पढेर, ठूला अन्तराष्ट्रिय संस्थामा काम गर्नेहरुले नेपालीलाई लेख्न आउँदैन भन्नुमा उनीहरुको गल्ती होइन । न त समस्या अंग्रेजी भाषाको नै हो ।

कलेजमा रिपोर्ट लेख्न लगाउँदा विद्यार्थीलाई शिक्षकले बाटो देखाउन कति समय दिन्छन् ? अनि तोकिएको शिक्षकसँग बाटो देखाउने क्षमता हुन्छ ? विद्यार्थीले बुझाएको रिसर्चमा प्रक्रिया, नियम मिलेका छन् कि छैनन् भन्ने कुरामा कत्तिको ध्यान दिइन्छ ? मिलेको छैन, विद्यार्थीले जानेन भने के गरिन्छ ? काहीँबाट सारेर पो ल्यायो कि भनेर कति गहिरिएर हेरिन्छ ? सारेकै थाहा भएपछि के गरिन्छ ?

हाम्रा शिक्षकमा सीपको कमीका साथसाथै विश्लेषण गर्ने, वस्तुपरक आलोचना गर्ने र सहने क्षमताको कमी पनि समस्या हो । आलोचनाजति नै वस्तुपरक होस् वा सकारात्मक होस्, त्यसलाई त जरैबाट उखेलेर फालिन्छ हाम्रा कक्षा कोठामा । सानैदेखि नै शिक्षक भनेको भगवान, भगवानले भनेको सबै सही भन्ने मात्रै शिक्षा पाएका छौँ, हामीले । पढ्ने त केही हुँदै हुँदैन, सिक्ने भनेको शिक्षकले जे भन्नुभयो त्यही । अनि उपाय के त ? जे सुन्यो, सोह्रैआना सत्य हो भन्यो, जाँच अगाडि रट्यो । तीन घण्टाको समयमा घोकेको ओकल्यो, सक्किगो ।

यो सार्ने र सार्न प्रोत्साहन गर्ने प्रणालीमा साँच्चै नै शिक्षा खोजिरहेका विद्यार्थी पनि भेटिन्छन् । काम चोर नै काम चोरको वीचमा फसेको उसले पढ्न खोज्दा पढ्ने के भनेर बाटो देखाइदिने मान्छे भेट्दैन । र, पढ्ने, मेहनेत गर्ने, गृहकार्य आफैँ गर्ने विद्यार्थीले पनि उत्तिकै अंक ल्याएर पास हुने, सारेर, ठगठाग गर्ने विद्यार्थीले पनि उत्तिकै अङ्क ल्याउने भनेपछि मेहनेत गर्नुको औचित्य आखिर के रहृयो ? भन्ने निष्कर्ष निस्कन्छ ।

सम्पूर्ण नेपालले आर्थिक विकासको नारा लगाइरहेको समयमा हामीले आर्थिक विकासको सबैभन्दा बलियो पूर्वाधार, शिक्षालाई बिर्सनुहुँदैन । सडक, पुल भनेका समयसँगै खिइँदै जाने वस्तु हुन् भने शिक्षा, विचार, नवीनता भनेको हुर्कंदै जाने सन्तति जस्ता हुन् ।

दिगो आर्थिक विकासको ज्वाला नै नवीनता हो । तर, नवीन सोचका लागि पहिले त सोच्ने, विश्लेषण गर्ने क्षमता चाहिन्छ । हाम्रो दिमागलाई त रट्दै, चोरबुद्धि लगाउँदैमा फुर्सद छैन, सोच्ने कहिले ? आर्थिक विकास गर्ने आखिर कहिले ?

प्रधानमन्त्रीज्यू, तपाई नेपालमा राजनीतिक र आर्थिक दबाव दिएर हाम्रो देश हडप्न तम्तयार विदेशीलाई त देख्नुहुन्छ । तर, आˆनै देशको कमजोर शिक्षाका कारण नेपालमै भएका अन्तराष्ट्रिय संस्थामा नेपाली नागरिकको क्षमता नपुगेर विदेशीहरु आएर काम गर्नुपर्ने लाजमर्दो अवस्थाप्रति तपाईं किन अनविज्ञ ? कि बुझीबुझी बुझ पचाउँदै हुनुहुन्छ ?

देशका ठूला ठूला प्रोजेक्टहरु विदेशीले डिजाइन गरिदिनुपर्ने अवस्था रहेको त पक्कै पनि थाहा होला । ती मानिसहरु पनि हाम्रै जस्तो विश्वविद्यालयका उत्पादन हुन् । फरक यति हो, उनीहरुको ज्ञान लिने र दिने विधि सही छ । हाम्रो देशमा उपलब्ध भएको सबल जनशक्ति चाहिँ विदेशिएर अरुकै देश विकास गर्दैछ । जे भयो भयो, अब नेपाललाई चाहिने जनशक्ति हामी नै उत्पादन गरौँ । त्यो गर्न समय लाग्ला, सक्षम नेपालीलाई चाहिँ आजैदेखि बिदेशिनबाट रोकौं । प्रतिभाहरुलाई यहीँ फुल्ने मौका दिउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment