Comments Add Comment

निबन्धः भत्किएको एक लय…

तर त्यसै बखत हारुकी मुराकामी जिस्किन आइपुगे । त्यसै बखत भन्नाले, त्यो समय जब म कसैलाई सम्झने प्रयासमा थिए । उनी भन्दै थिए, स्मृति नै मनुष्यको सबैभन्दा ठुलो सम्पत्ति हो । यो एक प्रकारको इन्धन हो जो जल्छ र तपाइलाई न्यानोपनको आभाष हुन्छ ।

मुराकामी कथन ठिकै होला तर सबै स्मृति न्यानो नहुन पनि सक्छ । जे जस्तो होस् हामी तम्तयार रहन्छौँ आफ्ना तीता मीठा सम्झनाका पानाहरु पल्टाउन । जस्तो कि आज मलाई खोल्न मन छ एक अपुरो स्मृतिपाना । यसै बखत स्मृतिमा कतै गुन्जिन्छ पल्लो घरको त्यो बोली ।

तिमी यो घरको नयाँ काम गर्ने हो ?

उनको मोटो आवाजले म झस्किए ।

घर पछाडिको कलमा मोप पखाल्दै गर्दा एक्कासि तेर्सिएको थियो त्यो प्रश्न । पहिलो पटक थियो त्यस घर सराईपछि उनीसँग भएको मेरो जम्काभेट र एक अप्रत्यासित प्रश्नसँगको साक्षात्कार । नेपथ्यमा गुनगुन गरिरहने त्यस आवाजसँग म परिचित नै थिए । तर आज आवाज धनीको सग्लो ज्यान उभिएको थियो आफु अघि । प्रश्नले थोरै तिर्मिरिए । अलिकति झोँक जस्तो केही सर्र्र उक्लियो टाउकोतिर । कता कता अहंम्मा ठेस लागे जस्तो पनि भयो । चिन्दैन चिनी अर्काको घरमा काम गर्ने भन्दिने भन्दै भुत्भुतिए आफैसँग । त्यसपछि दम्भ सहितको ठुलो स्वरमा चिसो जवाफ फर्काइदिए ।
हैन ।

उनले मेराबारे गरेको अड्कलबाजीले दिमाग तातिसकेको थियो । तर उनले कुरो त्यही सकिनन् । सोझाइन् अर्को सोघाई म तिरै ।
ए भाडामा बस्ने उसोभा । अनि काम के गर्छौ त ?
त्यसपछि भने मेरो पालो आयो रवाफिलो पारामा जवाफ दिने । एकै सासमा भनिदिए,
म त पत्रपत्रिकामा लेख्छु । पढाउने काम पनि गर्छु ।

अघिको उनले देखेको काम गर्ने केटी अब एक्कासि पढालेखा युवती बनिसकेकी थिई । मेरो जवाफले थोरै असहजपनका धर्साहरु सल्बल गर्यो उनको अनुहारमा । म भने भित्रभित्र गद्गदाउँदै थिए । त्यसपछि उनी चुपचाप घरभित्र छिरिन् ।

००००

केही समय म अलि बढी व्यस्त रहेँ हुँला । कुनै यात्रामा निस्किएको थिए । कार्यक्रमहरुतिर पनि अल्मलिए । भेटघाट या आफ्नै नजिककाहरुसँगको मन दुखाई, गुनासो या मीठा पलहरु यस्तैमा म अल्भिmए । त्यो मोटो आवाजसहितको झोलिएको ज्यानको ख्यालै भएन । अनि फेरि एक दिन एक्कासि लाग्यो, सुन्ने छ त छिमेकघर । बिहानै देखि सुनिने आवाज खै ? घरको छटमा यताउति डुलिबस्ने मोटो देह कता हरायो ?

सुनिन्छ कि त्यो आवाज भन्ने लाग्यो र पर्खिरहेँ । तर झण्डै हप्तौ बित्दा पनि केही चालचुल भएन । कुतुहल्ता हृवात्तै अग्लियो । केही समय अघि मात्रै असहज घटना भएको थियो त्यहाँ । दिमागभरि असरल्लै छ त्यही समय ।

एकाबिहानै उनको घरमा सुरु भएको थियो कोलाहाल । आरोप प्रत्यारोपको चर्को हल्लीखल्ली बढ्दै जादा यसो पर्दा उघारेर हेर्न बाध्य भए । देखेँ उही आमै निकै मलिन अनुहार सहित भर्‍याङमा उभिएकी छिन् । अर्को घरकी महिला उनी माथि खनिएकी छ । आरोप छ, उनको घरमा बस्न खोज्नेहरुलाई ती बृद्धाले घरभाडा महड.्गो छ भन्दै भाँडिदिन्छिन् रे । उनको रिसको पारो यति चढेको छ की उनी आमाकै उमेरकी ती बृद्धालाई तँ भन्न पछि पर्दिन । यता भर्याड.्मा उभिएकी आमै नीलो कालो अनुहारसहित थर्रर कामेको आवाजमा आफु माथिको आरोपको प्रतिकार गर्ने प्रयासमा छिन् । ती महिलाको आक्रोसित बोली र हकारपकारका अघिल्तिर उनी निकै निरीह हुन्छिन् । केहीबेरको भनाभन पछि ती महिलले साह्रै नमीठोगरी बृद्धाको ब्यक्तिगत कुरा औँल्याउछे ।

तँ जस्तो हो हामी, सबै छोरीहरुलाई मारेर एउटालाई पोस्ने । पापी बुढी ।

साँच्चै अप्ठेरो भयो अवस्था । स्पष्ट देखिदैथियो हाम्रो सामाजिक मनोबिज्ञान । छोरा नभएकी एकल महिलामाथिको प्रहार । म अवाक रहेँ । ती आमैलाई कति दुःखी बनायो होला ? कसैप्रतिको तीतो पोख्न किन हामी उसको व्यक्तिगत जीवनतिर मोडिइहाल्छौ ?

छोरा नभएकी ती आमै कान्छी छोरीलाई साथ लिई बसेकी रहेछिन् । एकल महिला अनि छोरा नहुनु कति पीडादायी भएको होला उनको समय । अघिल्लो पुस्ताकी उनले पहिले नै पनि कति प्रताडना सहेकी होलिन् । आज यस उमेरमा छिमेकसम्मले पनि उही कुरामा घोचपेच गर्छ । कोसँग बस्ने, कसलाई सम्पत्ति दिने भन्ने त नित्तान्त व्यक्तिगत कुरा हुन् । अरुले किन यसरी टाउको दुखाउँछन् होला ?

ती आमैले जतिसक्दो प्रयास गरिन् आफु निर्दोष रहेको पुष्टि गर्न । तर ती महिलाले केही नसुनी सकेको गाली र आरोप बर्साई अन्तमा नाकैमा चेतावनीको औलो ठड्याई बाटो लागी । त्यो वेगिलो समय पार भएपछि यसो आफैलाई छामे, मन निकै चिसो भएको रहेछ ।

००००

आज सदाझैँ एक सामान्य बिहानी छ । तर मन भने अलि असामान्य भएको छ । सम्झदैछु उही छिमेकी आमैलाई । किन उनले पहिलो नजरमै मलाई अर्काको घरमा काम गर्ने महिला देखिन् होला ? उनको त्यस मनोविज्ञान बारे अलि गहिरिएरै सोच्नु छ कुनै दिन । तर यतिखेर त्यो आकृति र उनी बारेका केही कुराहरु मनमा तैरिरहेका छन् ।

सम्झदैछु उमेरका रेखाहरु छरपस्टै पोखिएको एक उदास अनुहार, सेत्ताम्मे केस र छाती झोल्लिएको भद्दा ज्यान । प्राय उनी देखिन्थिन् निरस निरसझैँ लाग्ने हरियो नीलो बुट्टेदार फल्सरहित चिप्लो सारीमा । उमेर लभगभ मध्य साठी । बिहान पाँच बज्दा नबज्दै सनिन्थ्यो उनले कल खिचेको आवाज, रामनामको गनगन, गुनगुन । केही बेर पछि बज्थ्यो पुजाको टिन्न घण्टी पनि । यस्ता धेरै कुराहरुसँग म नजिकिईसकेकी थिए । त्यसपछि सुनिन्थ्यो नाड.्लो निफनेको आवाज, नातानातिनीहरुसँगको बोलाइ चलाई । कहिलेकाहीँ त बिहानैबाट सुरु हुन्थ्यो उनको लम्बेतान असन्तुष्टि । धारामा पानी नआएको गनगन, ट्वालेट जाम भएको भुत्भुताई देखि भाडामा बस्नहरुले फोहोर गरेको कर्कर्सम्म पनि । उनको बोली, बानी, सबैसँग म पत्तै नपाई बानी परिसकेको रहेछु । कुनै बिहान रुटिन ब्रेक हुँदा म यसो पर्दा उठाएर उनको घरतिर हेर्न थालेकी थिए । उनको उपस्थिती, एक लयझैँ भइसकेको रहेछ ।

त्यही लय भत्किएको महसुस भएको दिन उनको बारे सोधखोज गरेकी हुँ । केही समयमा नै धेरै थोक भइसकेछ छिमेकमा । म विलकुल आफ्नै दुनियाँमा मस्त । थाहा लाग्यो उनी त बितिसकेछिन् । हत्तेरिका ।. कति क्षणिक जीवन । अनि मेरो उनीबारेको अनभिज्ञता, महानगरीय नियति । छिमेकी बितेको महिनौ पछि मात्र थाहा लाग्छ मृत्यु महानगरहरुमा । म अलिकति डिस्टर्ब भएको छु यतिखेर । सबै थोक भेटे जस्तो लाग्ने यो सहरमा नजानिदो गरी गुमाइसकेका हुदा रहेछौँ हामीले एकअर्काप्रतिको वास्ता र सद्भाव । मात्र एक घर परकी ती बृद्धा बितेको निकै समयसम्म पनि म चाल पाउँदिन । क्या बिरक्तिलो कुरा यो । मनभरि तीतो पोखिएको छ । लाग्छ मेरो पनि उही हाल हुनेछ । एक गुमनाम अन्त्य ।

हामी महानगरीय भीडमा एक्लिसकेका छौँ । बिलकुल आइसोलेटेड । उनी नरहे पनि ताजै छ त्यो समय । उनले गरेको प्रश्न, रनक्क भएको मेरो दिमाग अनि मैले फर्काएको चीसो जवाफ । धेरै दिनपछि आज फेरि उनको सम्झनाले छोपेको छ, किन कि आज म आमालाई सम्झँदैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment