Comments Add Comment

वीरगञ्जमा नेपाल भारत साहित्य महोत्सव शुरु

२७ साउन, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव सुरु भएको छ । नेपाल भारत सहयोग मञ्च, गि्रन केयर सोसाइटी भारत र हिमालिनी मासिकको आयोजना भएको महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गरे ।

कार्यक्रममा उनले साहित्यको कुनै सीमा नहुने र योबिना जीवन अधुरो हुने बताए । ‘हामीले सेक्सपियरलाई पढ्यौं, प्रेमचन्दलाई पढ्यौं, महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि पढ्यौं, अनि युरोप तथा पश्चिमी मुलुकका महान साहित्यकारहरुलाई पढ्दैछौं’ उनले भने ‘साहित्यको सीमा हुन्थ्यो भने यो संभव हुने थिएन ।’

विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले पेशा त्यागेर साहित्यमा लागेको बताउँदै मुख्यमन्त्री गद्दीले साहित्यले मानिसलाई खुशी रहन सिकाउने बताए । ‘मैले धेरै डाक्टर, इन्जिनियर जस्तो पेशा त्यागेर साहित्यमा लागेको भेटेको छु । उनीहरुलाई मैले किन साहित्यमा लाग्नुभयो भनेर सोध्दा, उनीहरुले उत्तरमा भन्ने गरेका छन् । जो रस, जो मज्जा साहित्य लेखनमा हुन्छ, जीवन जीउन जुन मजा साहित्यमा मिल्छ अरु पेशामा मिल्दैन’ उनले भने ।

नेपालमा पनि नोवल पुरस्कार जस्ता ठूला साहित्यिक पुरस्कार जित्न सक्ने साहित्यकार रहेको पनि उनले दावी गरे ।

नेपाल भारत साहित्य महोत्सव जस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनको भनाइ छ । ‘नेपाल र भारतबीच रोटी बेटीको अनि धर्मको मात्रै सम्बन्ध छैन । भावनात्मक सम्बन्ध पनि छ’ मुख्यमन्त्री राउतले भने ‘समय समयमा हुने साहित्यिक जमघटले दुई देशको भाषिक एवं साँस्कृतिक सम्बन्धमा प्रगाढता बढाउँछ, भावना आदान प्रदान हुँदा एक अर्कालाई हेरेर जिउने आधार मिल्छ ।’

आचार्य महाश्रमणका विदुषी शिष्या डा. चरित्र प्रज्ञाले सन्त र साहित्यकार मिलेर देशलाई अगाडी लैजान सक्ने बताइन् । ‘सन्त र साहित्यकार समाजका आँखा हुन् । आँखा र दिशा सही भयो भने समाज सही बाटोमा हिँड्छ’ उनले भनिन् ‘मानिसले नै सीमा बनाएको हो र अहिले मानिसले नै सीमा तोडन चाहिरहेका छन् । सबै मानिस एक हुन भन्ने भावना बढ्दो छ ।’

वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावसका महावाणिज्यदुत विसी प्रधानले वीरगञ्ज संकिर्ण प्रवेशद्वारबाट अब खुला प्रवेशद्वारमा परिणत भएको बताए ।

महोत्सवमा नेपाल तथा भारतमा साहित्य क्षेत्रबाट विशिष्ट योगदान पुर्‍याउन सफल ध्रवचन्द्र गौतम, डा योगेन्द्र नाथ शर्मा अरुण लगायतलाई सम्मान समेत गरिएको थियो ।

महोत्सवमा साहित्यकार रमेश पौड्यालले नेपाल भारत साहित्य यात्रा २०१८, वीरगञ्ज, हाम्रो साहित्य : वैकल्पित ज्ञानकोशको एउटा संकल्पना विषयक कार्यपत्र लगायतका कार्यपत्रमा छलफल भइरहेको छ । महोत्सवमा नेपाल र भारतका २ सय ५० भन्दा बढी साहित्यकारहरु सहभागी रहेका साहित्यकार एवं उद्योगी गणेश लाठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment