Comments Add Comment

भरतपुर अस्पताललाई टर्सरी अस्पताल बनाउँछौंः स्वास्थ्यमन्त्री यादव

२७ साउन, चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय अस्पताल)अस्पताल बनाउने बताएका छन् ।

आइतबार भरतपुर अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले भरतपुर अस्पताल जिल्ला अस्पताल नभइ विशेषज्ञ सेवा दिने (टर्सरी) अस्पतालको रुपमा रहेको बताए ।

भरतपुर अस्पतालले टर्सरी लेभलको अस्पतालले दिने सुविधा प्रदान गरेपनि मान्यता भने जिल्ला अस्पताल सरहको छ। सुविधा सम्पन्न टर्सरी अस्पताल बनाउन उपयुक्त वातावरण र जग्गा आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई मन्त्री यादवले आग्रह गरे ।

भरतपुर अस्पतालको जग्गा अब अन्य प्रयोजनका लागि एक टुक्रा पनि दिन नहुने मन्त्री यादवको जोड छ । ‘अस्पतालको जग्गाको निकै महत्व छ,’ यादवले भने, ‘ठेक्का लगाएको र अन्य संघसंस्थालाई दिएको जग्गा फिर्ता गर्न र । अस्पतालको जग्गा उपयोग गरेकाहरुलाई आफ्नो बन्दोबस्त आफै गर भन्नुपर्‍यो’

अस्पतालमा निरीक्षण गर्दा अस्पतालको भविष्य राम्रो देखेको भन्दै उनले गरीब जनताले उपचार गर्ने ठाउँ भएकाले सबैले ध्यान केन्दि्रत गर्नुपर्ने बताए ।

क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई जोडेर अघि बढे चितवनलाई मेडिकल एकेडेमिक हब बनाउन सकिने मन्त्री यादवको भनाइ छ ।

मन्त्री यादवले सरकारले स्वास्थ्य र शिक्षालाई नीतिगतरुपमा पहिलो प्रथामिकतामा राख्ने भन्दै स्वस्थ्य र शिक्षित नागरिक भए देश आफैं विकास हुने बताए ।

उनले प्रत्येक स्थानीय तहमा प्राइमरी लेवलको अस्पताल निर्माण गरेर भरतपुरलगायतका अस्पतालमा देखिएको भीड कम गर्न सकिने जिकिर गरे । ‘सरकारले प्रत्येक गाँउपालिका र वडासम्म स्वास्थ्य सेवा पुर्‍याउने गरी नीति बनाएको छ,’ उनले भने, ‘यसपटक २०० अस्पताल बनाउन बजेट छुट्टाइएको छ ।’

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउनुपर्ने माग यहाँका सवै राजनीतिक दल, स्थानीय सरले गर्दै आएका छन् ।

अतिविशिष्ट सेवाहरु प्रदान गर्ने भरतपुर अस्पतालमा वाषिर्क दुई लाख पँचास हजार बिरामीहरुले उपचार सेवा लिने गरेका छन् । उक्त अवसरमा मन्त्री यादवले अस्पतालले सुरु गरेको न्यूरो सर्जरी यूनिटको समेत उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेललगायतले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रूपमा विकास माग गरे ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्काले अस्पतालको अवस्थाको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment