Comments Add Comment

सामान्य दुखाईमा पेनकिलर खानु हानिकारक ! यस्ता छन् साइडइफेक्ट ?

सामान्य दुखाई सहन हामीलाई गाह्रो लाग्छ । विसञ्चो जस्तो भयो, शरीरको कुनै भाग दुख्यो भने त्यसको तत्काल समाधान खोज्छौं । समाधानका लागि हामीलाई सजिलो लाग्छ, पेन किलर । अर्थात दुखाई कम गर्ने औषधी ।

पेन किलर जुनसुकै औषधी पसलमा पाइन्छ । धेरै पैसा लाग्दैन । चिकित्सकको प्रेस्किप्सन पनि देखाइरहनु परेन । चकलेट किने झै किन्न सकिन्छ ।

पेन किलर खानसाथ दुखाई कम भएको अनुभव पनि हुन्छ । तर, यो शारीरिक समस्याको ठोस समाधान होइन । पेन किलरले क्षणिक रुपमा सञ्चो अनुभव गराएपनि त्यसको दीर्घकालिन असर रहन्छ । त्यसैले पेनकिलर सेवन गर्नुअघि सर्तक हुनैपर्छ ।

हतारमा पेनकिलर

आजभोलीको व्यस्त जीवनशैलीको कारण हामीसँग तनावमुक्त र फुर्सदिलो समय नै हुँदैन । हरेक समय कामको चापको कारण हामी यति धेरै व्यस्त हुन्छौं कि हामीलाई राम्रोसँग आराम गर्ने पर्याप्त समय नै हुँदैन ।

यस्तोमा कहिलेकाँही सञ्चो नभएर घरमा बस्न पर्यो भने हामीलाई धेरै छटपटी हुन्छ र त्यो भन्दा ठूलो समस्या केही लाग्दैन । हामी सकेसम्म चाँडो ठिक भएर काममा र्फकन चाहन्छौं ।

त्यसैले कुनै पनि दुखाईबाट लड्नको लागि हामी न त आफ्नो उर्जा खर्च गर्न चाहन्छौं न त धेरै समय । धेरै समय लगायर ठिक हुनुभन्दा हामी पेनकिलर खाएर भएपनि आफ्नो काम धान्न हिँड्ने गर्छौं ।स

हामीलाई अलिअलि दुखाई हुनासाथै पेनकिलर ट्याबलेट खानु धेरै सजिलो विकल्प लाग्छ । विभिन्न किसिमको दुखाई जस्तो टाउको दुख्ने, जीउ दुख्ने पेट टुख्ने, दाँत दुख्ने आदीको लागि बजारमा विभिन्न थरि पेनकिलर सजिलै पाइन्छ ।

पेनकिलरको असर

फरक फरक किसिमका पेनकिलरले शरीरको विभिन्न भागमा हुने दुखाईको लागि काम गर्छन् । यस्ता पेनकिलरले यति छिटो दुखाई कम गर्छन् कि हामीलाई लाग्छ यो त कुनै चमत्कारी औषधि नै हो ।

प्रभावकारी ढंगले केही मिनेटमा दुखाई गायब भएपछि हामीलाई राहत महसुस हन्छ र फेरि हामी आफ्नो नियमित दैनिकीमा व्यस्त हुने गर्छौं ।

यसैले पनि हामीलाई शरीरमा हल्का दुखाई हुनासाथै एउटा पेनकिलर मुखमा राखिहाल्ने बानी नै लागिसकेको छ । यसले तत्कालै हामीलाई दुखाईबाट राहत दिएपनि यसले विस्तारै हाम्रो शरीरको दुखाईसँग लड्ने क्षमता घट्छ भन्ने बारेमा हामीले ध्यान नै दिँदैनौं ।

हामी धेरैले शरीरको दुखाईसँग स्वयं र प्राकृतिक रुपमा लड्नको सट्टा दुखाई कम गर्न पेनकिलर्सको सहायता लिइहाल्छौं । कुनै पनि कुरा छिटो र सजिलो सक्न विभिन्न उपाय लगाउने मानव प्रवृति हो रसजिलो पेनकिलरको लत पनि त्यसै प्रवृत्तिको परिणाम हो ।

के हो पेनकिलरको लत ?

पेनकिलर यस्तो औषधि हो जसको प्रयोग माइग्रेन, आर्थाइटिस, ढाँड वा कम्मर दुख्ने, काँध दुख्ने, पेट दुख्ने, हाडजोर्नी दुख्ने जस्ता विभिन्न दुखाईबाट अस्थायीरुपमा छुटकारा पाउनको लागि गरिन्छ ।

पेनकिलर बनाउन मफिर्न जस्ता नार्कोटिक्स र ननस्टेसाइडल एन्टी एन्फ्लेमेटरी ड्रग्स, एसेटेमिनोफेन जस्ता नन-नार्कोटिक्स केमिकलहरुको प्रयोग हुन्छ ।

अलिअलि दुखाई हुनासाथै पेनकिलर खाइहाल्ने बानीको कारण धेरैलाई थाहै नपाई शारीरिक रुपमा यसको लत लगिसकेको हुन्छ ।

यस लतको धेरै नराम्रो प्रभाव हुन सक्छ भन्ने कुरा हाम्रो जतिबेला चाहृयो त्यतिखेर ट्याबलेट मुखमा राख्दा हामीले सोच्दैनौं ।

अन्य एडिक्सन जस्तै यसको पनि साइडइफेक्ट्हरु हुन्छन् । लत नै लागिसकेपछि यसका एडिक्टले कैयौं पटक दुखाई नै नभए पनि पेनकिलर खान थाल्छन् ।

यसरी पेनकिलर धेरै प्रयोग गर्ने मानिहरुलाई लामोसमयसम्म उनीहरु यसको शिकार भएका छन् भन्ने थाहै हुँदैन । उनीहरुको मनोवैज्ञानिक स्तर अस्तव्यस्त हुन्छ । यस्तो लतबाट बाहिर आउनको लागि उनीहरुलाई चिकित्सकिय मद्धत लिनुपर्छ ।

यी हुन् पेनकिलर्सको साइडइफेक्ट

पेनकिलरमा सेडेटिभ इफेक्ट्सहरु हुन्छ जसको कारणले सँधै निन्द्रा लागेको महसुस हुन्छ । पेनकिलर औषधिको लत लागेका मानिसहरुमा कब्जियतको समस्या पनि धेरै देखिने गर्छ ।

यस्तै पेटमा दुखाई, चक्कर आउने, डायरिया र वान्ता पेनकिलर लिने मानिसहरुमा धेरै देखिने समस्या हो । यसको अतिरिक्त जीउ भारी महसुस हुने, टाउको दुख्ने र पेटमा दुख्ने समस्या नि देखिन सक्छ । थकान पनि यसको नियमित प्रयोगकर्तामा देखिने अर्को समस्या हो ।

यसको नियमित प्रयोगले कार्डियोभास्कुलर र रेस्पिरेटरी गतिविधिहरुमा पनि असर गर्छ । यस्ता मानिसहरुमा मुटुको धड्कन र व्लडप्रेसरमा तिव्र उतारचढाव पनि देखिन्छ । पेनकिलर एडिक्सनले कलेजोमा पनि असर गर्छ र यसको अधिक मात्रामा सेवन गर्नाले जोखिम अझै बढ्छ ।

त्यस्तै मुख सुक्ने, आँखाको नानी खुम्चिने, व्लडप्रेसर अचानक कम हुने पनि यसका साइडइफेक्ट हुन् । यस बाहेक पेनकिलरको लतले हाइपोथर्मिया, जीउ चिलाउने, मांसपेसीमा तनाव जस्ता साइड इफेक्ट पनि निम्त्याउँछ ।

धेरै महिलाहरुले महिनावारीको समयमा पनि दुखाईबाट बच्नको लागि पेनकिलर लिने गर्छन् । यसले तत्कालको लागि राहत महसुस त हुन्छ तर यसको अधिक मात्रामा सेवन गर्नाले एसिडिटि, ग्यास्ट्राइटिस, पेटमा अल्सर आदीको समस्या हुन्छ ।

पेनकिलर लिनुअघि विचार गर्नुहोस्

तपाईले दुखाई सहनै सक्नुभएको छैन भने र पेनकिलर खानै पर्छ भन्ने लागेको छ भने एकपटक चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । पेनकिलर्सको उपयोग गलत ढंगले गरियो भने त्यसबाट भविष्यमा धेरै ठूलो समस्या निम्तिन्छ ।

यसैले दुखाई कम गर्नको लागि पेनकिलर लिँदै हुनुहुन्छ भने यो पनि सँधै याद राख्नुहोस् कि यसले दुखाई पनि बढ्न सक्छ । साथै यसका धेरै साइड इफेक्ट हुन्छ जसले हामीलाई हानी पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment