Comments Add Comment

अाजका पत्रिकाः ४ जिल्ला घुमाएर प्रसूति, छोरीलाई जन्मनै निषेध

देशभित्र उपचार नपाएपछि भारत जान बाध्य

२८ साउन, काठमाडौं । काठमाडौंबाट प्रकाशित बिभिन्न पत्रिकाहरुले आज बिभिन्न समाचारलाई प्रमुख स्थान बनाएर छापेका छन् । लिंग पहिचान गरेर भ्रुण हत्या गर्नेदेखि देशैभर मल अभावसम्मका समाचारहरु पत्रिकाको फ्रन्ट पेजमा छन् ।

कान्तिपुर दैनिकले देशको उपचार सेवाबारे मुख्य समाचार बनाएर छापेको छ । प्रसूति व्यथाले च्यापेकी बाग्लुङकी एक महिलालाई चार जिल्ला घुमाएर प्रसूति गराएको विषयलाई मुख्य समाचार बनाएको कान्तिपुरले देशभित्र सहजरुपमा उपचार नपाएपछि धेरैजसो छिमेकी मुलुक भारत जान बाध्य हुने गरेको समाचार पनि छापेको छ ।

चितवन र महोत्तरीका स्थानीय तहले ५० गुणा कर बढाएपछि दलका प्रतिनिधि, उद्यमी र सर्वसाधारण आन्दोलनमा उत्रिएको अर्को खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिइएको छ ।

नयाँ पत्रिका दैनिकले छोरीलाई जन्मनै निषेध शीर्षक दिएर मुख्य समाचार छापेको छ । पहिलो सन्तान छोरी जन्मिए दोस्रो पटक लिंग पहिचान गरेर छोरी नै भए गर्भपतन गर्ने प्रवृत्तिले छोरीको जन्म घट्दै गएको समाचारको सार छ ।

सिक्टा सिँचाइ अनियमिततामाथि मुख्य समाचार लेखेको नागरिक दैनिकले सरकार विप्लव समूहप्रति कडा बन्दै गएको विषयलाई स्थान दिएको छ । विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने सुरक्षा अंगका प्रमुखहरुको ब्रिफिङपछि सरकारले निगरानी बढाउन थालेको समाचारमा उल्लेख छ ।

कालिकोटमा १५ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटनालाई राजधानी दैनिकले पहिलो पृष्ठमा स्थान दिएको छ । यो आरोपमा सान्नीत्रिवेणी गाउँपालिका ५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई प्रहरीले पक्रेको छ । जनबहादुरले बालिकालाई १८ साउनदेखि २० साउनसम्म सोही गाउँपालिका ३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको पीडितले प्रहरीलाई बयान दिएकी छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले मल चाहिएकै बेला देशभरि कहिँ पनि मल नभएको समाचारलाई प्रमुख स्थान दिएको छ । कृषि सामाग्री संस्थानले समयमै झिकाउन नसक्दा किसानहरु मलको अभाव झेल्न बाध्य छन् ।

धान रोपाइँ गरेका किसानहरुले १५ देखि २० दिनमा युरिया मल प्रयोग गर्छन् तर चार लाख बोरा मल आवश्यक भए पनि ५० हजार बोरा मात्र रहेको समाचारमा उल्लेख छ ।

गोरखापत्र दैनिकले वाणिज्य सन्धि संशोधन गर्न भारत सकारात्मक भएको लगायतका समाचार छ भने कारोबार दैनिकले बजारमा गुणस्तरहीन हेल्मेटको बिगबिगी भएको समाचारलाई स्थान दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment