Comments Add Comment

विमानस्थलमा भीडः जहाजको मुखैमा पुग्छन् कार्यकर्ता

कार्यविधि एकातिर, विमानस्थलको ब्यथा अर्कोतिर

२८ साउन, चितवन । भरतपुर विमानस्थल भई आवत–जावत गर्ने भीआइपीहरुको संख्या उल्लेख छ । दिनमा कम्तिमा एकजना भीआइपी विमानस्थल भएर आवत–जावत गरेकै हुन्छन् ।

विमानस्थलमा भीआइपीको स्वागत, सत्कार र विदाईका लागि दिनहुँजसो प्रमुख जिल्ला अधिकारी, सुरक्षा अंगका प्रमुखसहितको लावालस्कर नै लाग्ने गर्छ । कार्यालयमा बसेर जनताको काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका प्रमुखहरु भीआइपीको स्वागत गर्दैमा हैरान छन् ।

विकसित देशहरुमा नेताहरुको आवत–जावतमा यति धेरै तडक भडक हुँदैन, तर नेपालमा जी हजुरी र चाकडीको संस्कार राजाका पालामा जस्तै मौलाउँदै गइरहेको छ ।

साउन ११ गते कांग्रेस सभापति शेरबहादुर आउँदा जुन अवस्था थियो, साउन २५ गते गृहमन्त्री रामबहादुर थापा बादल र २६ गते नेकपाका अध्यक्ष प्रचण्ड आउँदा पनि त्यही अवस्था देखियो । एयर साइडमा नै पुगेका नेता कार्यकर्तालाई मिलाउन प्रहरीलाई समस्या पर्ने गरेको छ ।

भरतपुर विमानस्थलमा नेता नआउने दिनै छैन । स्वागतमा जानैपर्ने वाध्यता उनीहरुको छ । नेताको चाँजोपाँजो मिलाएर हिँड्दैमा दिन जान्छ, जनताको काम कतिबेला गर्ने ?

पार्टीका नेता कार्यकर्ताको स्वागतमा चाकडी बजाउने भिड त झनै थामी नसक्नुको हुने गरेको छ, जसलाई व्यवस्थापन गर्न भरतपुर विमानस्थल प्रशासनलाई धौधौ पर्ने गरेको छ ।

जहाजको मुखसम्मै नेता कार्यकर्ताको लर्को लाग्ने गरेको छ । ठूला पार्टीका शीर्षनेता जिल्ला आउँदा विमानस्थलको विमान रोकिने ठाउँसम्मै नेता कार्यकर्ता पुग्ने गरेका छन् । फूलमाला लगाउनेको तँछाड मछाड चल्छ ।

नेता कार्यकर्ता मात्रै होइन, जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको पनि ताल उही छ । विमानस्थलले राजनीतिक दलका प्रमुख, सुरक्षा अंग र प्रशासनका प्रतिनिधिहरुलाई नै राखेर कार्यविधि तयार गरी लागुगर्ने सहमति गरेको थियो । तर, उल्लंघन गर्नेमा उनीहरु नै अगाडि देखिएका छन् ।

यसै त साँघुरो रहेको भरतपुर विमानस्थलको टर्मिनल भवनमा ठूला पार्टीका ठूला नेता आउने भनेपछि नेता कार्यकर्ताको ठेलमठेल भिड लाग्ने गर्छ ।

विमानस्थलका प्रमुख के भन्छन् ?

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले कार्यविधि लागु गर्न नसकिएको स्वीकार गरे । ‘जस–जसलाई राखेर सहमति र हस्ताक्षर गरियो, सम्वद्ध पक्षहरुबाट नै उल्लंघन भएको छ, विमानस्थल एक्लैले केही गर्न सक्दैन’, प्रमुख गौतमले अनलाइनखबरसँग भने, ‘अब फेरि बैठक राखेर सम्झाउनुपर्ला ।’

गौतमले प्रवेश पास वितरणमा समेत समस्या भएको बताए । ‘एउटा पार्टीको एउटा नेतालाई पास दिएर पठायो, त्यो अधिकारिक हैन, म हो भन्दै अर्को आउँछ, हामीसँग त सीमित न पास हुन्छ’ विमानस्थल प्रमुख गौतमले भन्छन्– आफैंले आफूलाई नियमन गर्न नसकेसम्म यो समस्या आउँछ ।

कुल १४ जना प्रहरीको दरवन्दी रहेको भरतपुर विमानस्थलमा सुरक्षाकर्मीको समेत अभाव छ ।

‘कार्यविधि लागू गराउन पर्याप्त सुरक्षाकर्मी र स्पष्ट निर्देशन एवम् सहयोग चाहिन्छ’ विमानस्थल प्रमुख गौतमले भन्छन्– ‘दलहरुको सहयोग पनि उत्तिकै आवश्यक छ, भीआइपी कक्षमा बसेर पनि त भेटघाट गर्न सकिन्छ, एयरसाइडमै जानुपर्छ भन्ने छैन ।’

कार्यविधिमा के छ ?

भरतपुर विमानस्थलले गत बैशाख १ गतेबाट सुरक्षा व्यवस्था कडा बनाउने कार्यविधि ल्याएको थियो । तर, त्यो कतै पनि लागु भएन ।

हवाई सुरक्षासम्वन्धी अन्तर्राष्ट्रिय मापदण्ड, ऐन, नियमको परिपालना गराउन कार्यविधि तयार गरियो, तर लागु भएन । विमानस्थलको चार किल्ला भित्र विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेर आवश्यकताका आधारमा सुरक्षा जाँच गराई प्रवेश गराइने कार्यविधिमा उल्लेख छ ।

विमान उडान एवं अवतरण हुने क्षेत्र र सो क्षेत्रसँग जोडिएका भागमा तारवार, पर्खाल, भवन, टहरा तथा पार्किङ, टर्मिनल भवन, कन्ट्रोल टावर, ह्यांगर क्षेत्र वरिपरिको रोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै विमानस्थलको भीआईपी कक्षमा नेपाल राजपत्र भाग ५ अनुसार नेपाल सरकारका उपरथी, अतिरिक्त महानिरीक्षक वा सो सरह र सो भन्दा माथिका पादाधिकारीलाई मात्र प्रवेश दिइने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै विमानस्थल प्रमुखले परिचय खुल्ने कागजातका आधारमा नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, राजपत्रांकित प्रथम श्रेणी सरहका अन्य सार्वजनिक निकायका पदाधिकारीहरु, जिल्ला सुरक्षा निकायका प्रमुखहरुका लागी भीआईपी कक्ष उपलव्ध गराउन सकिने व्यवस्था छ ।

भीभीआईपी आउँदा १५ जनासम्म र भीआइपी आउँदा बढीमा १० जनासम्मलाई प्रवेश पास दिइने व्यवस्था गर्ने भनिएको छ । पत्रकार सम्मेलन भने भीभीआइपीको हकमा बाहेक अन्य अवस्थामा बाहिर नै गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment