Comments Add Comment

डाक्टर भन्छन् : उपचार कहिल्यै पनि अपराध हुँदैन, कानून संशोधन गर्नुपर्छ


२८ साउन, काठमाडौं । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) मा गरिएको कारबाहीको व्यवस्थाप्रति चिकित्सकहरुले विरोध जनाएका छन् ।

उनीहरुले उक्त ऐन कार्यान्वयन भएपछि डाक्टरहरुले विरामी जाँच्नै नसक्ने अवस्था रहने भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्ष कैद सजाय हुने लगायतको व्यवस्था संशोधन गर्नुपर्ने उनीहरुको माग छ । नेपाल चिकित्सक संघले उक्त ऐनको विषयमा सोमबार काठमाडौंमा छलफल कार्यक्रम नै गरेको छ ।

कार्यक्रममा बोल्ने चिकित्सकहरुले बिरामीको उपचार आपराधिक कार्य हुन नसक्ने भन्दै मुलुकी ऐनमा भएको यो व्यवस्था संशोधन गर्नुपर्ने माग गरे । ‘ट्रिटमेन्ट कहिल्यै पनि क्रिमिनल हुन सक्दैन’, कार्यक्रमका सहभागी एक चिकित्सकले भने, ‘यस्तो तथ्य सरकारले भुल्न हुँदैन ।’

चिकित्सकहरुले डाक्टरहरुको लापरबाही वा हेलचेक्र्याइँलाई सिधै अपराधका रुपमा लिएर कारबाही गर्ने कानुनी व्यवस्थाले चिकित्सकले खतरा नमोल्ने प्रवृत्ति देखिने बताए ।

‘ट्रिटमेन्ट कहिल्यै पनि क्रिमिनल हुन सक्दैन, यस्तो तथ्य सरकारले भुल्न हुँदैन ।’

सरकारले दीर्घकालीन असर नसोची यस्तो कानन ल्याएको भन्दै संघले संशोधनका लागि दबाब दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । बैठकमा धारणा राख्ने अर्का चिकित्सकले भने ‘यस्तो प्रावधानलाई पुरै उल्टाउनुपर्छ, सरकारले दीर्घकालीन रुपमा नसोची यस्ता प्रावधान ल्याउनुहुँदैनथ्यो अब संशोधन गर्नुपर्छ ।’

चिकित्सक तथा पूर्वराजदूत महेश मास्केले सरकारले नयाँ डाक्टरलाई कस्ने नयाँ ऐन ल्याउँदा पर्याप्त छलफल नगरेको बताए । उनले चिकित्सक संघले बेलैमा खबरदारी गर्न नसक्दा अपराध संहिताको उक्त व्यवस्था लागू हुने अवस्थामा पुगेको बताए ।

‘भदौ १ गते देखि यो ऐन लागू हुँदैछ । अबको तीन दिन जति छलफल गरे पनि के हुन्छ ?’ मास्केले भने ‘गत ६ महिनादेखि यो ऐनबारे छलफल भइरहेको छ । पहिले विधेयक बन्छ । त्यसपछि सदनले पास गर्छ । यो बीचमा संघ के गरिरहेको थियो ?’

ऐनमा लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । मास्केले भने ‘डाक्टरले उपचारमा लापरबाही वा हेलचेक्र्याइँ गरेको हो वा होइन भन्ने कसरी छुट्याउने ? त्यो प्रष्ट हुनुपर्दैन ?’

यो पनि पढ्नुहोस्

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

डाक्टरको प्रश्न – पेशा परिवर्तन गरौं कि देशै छाडेर हिँडौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment