Comments Add Comment

बिरामीको उपचार गर्ने कोशी अस्पताल आफैं बिरामी

दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामी मर्कामा


२९ साउन, विराटनगर । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक हो ।

यो अस्पताल २०१३ सालमा स्थापना भएको हो तर यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विशिष्ट प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन ।

प्रदेश नं १ अन्तर्गतका १४ जिल्लासहित प्रदेश २ का सप्तरी, सिराहा, जनकपुर जिल्लाबासी पनि उपचार सेवाको लागि भर पर्दै आएको यो अस्पताल पूर्वाधार, विषेशज्ञ डाक्टरको अभावसँगै आर्थिक अभावसँग पनि जुधिरहेको छ ।

आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलव खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको छ । तथापी प्रदेश सरकारले भने कोशी अञ्चल अस्पताललाई प्रदेश सरकारको शिक्षण अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ ।

दरबन्दी छ, डाक्टर छैनन्

कोशी अञ्चल अस्पतालमा दरबन्दी अनुसारका एक तिहाई चिकित्सक नहुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन्

अस्पतालमा लामो समयदेखि सरकारी दरबन्दी अनुसार ११ औं तहका आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नेपोलोजिष्ट, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, नर्सिङ प्रशासनसहित ल्याबटेक्निसियन लगायतका विभागीय अन्तर्गत दरबन्दी अनुसारको चिकित्सकको अभाव छ ।

अस्पतालमा हाल तीन सय २५ शय्या छ । स्वास्थ्य मन्त्रालयको रेकर्डमा भने यो अस्पताल १ सय २५ शय्यामा मात्र सीमित छ ।

अस्पताल विकास समिति मार्फत भौतिक संरचना र शय्या थप गरिए पनि त्यसअनुसार सरकारले दरबन्दी नथपेका कारण समस्या हुँदै आएको छ । अस्पतालमा कुल ९२ जना चिकित्सक दरबन्दी रहेपनि लामो समयदेखि २९ जना डाक्टर मात्र कार्यरत छन् जसमा २३ जना मेडिकल अफिसर पदको दरबन्दी रहेकामा जम्मा सात जना कार्यरत छन् ।

त्यसैगरी ६४ विषेशज्ञ डाक्टर तर्फको दरबन्दी रहेको अस्पतालमा २२ जना मात्र कार्यरत छन् । त्यसमा पनि ३ जना डाक्टर अध्ययन विदामा छन् ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. रोशन पोखरेलले लामो समयदेखि दरबन्दी अनुसार जनशक्ति मन्त्रालयले नपठाउँदा सोचे अनुरुप स्वास्थ्य सेवा दिन नसकिएको बताए ।

उनले भने, ‘विषेशज्ञ सेवा प्रदान गर्न अस्पताल तयार छ, तर त्यसका लागि जनशक्ति अभाव अहिलेको मुख्य समस्या हो, यदि सरकारले दरबन्दी अनुसार जनशक्ति दिन्छ भने सबै खालको सेवा दिन अस्पताल तयार छ ।’ विषेशज्ञ डाक्टरको अभावमा धेरै प्रकारका विशिष्ट खालका सेवा अस्पतालले प्रदान गर्न सकेको छैन

वार्षिक ६० लाख घाटा

मुलुककै पुरानो मध्येको एकमा पर्ने कोशी अञ्चल अस्पताल लामो समयदेखि घाटामा चल्दै आएको छ ।

विशिष्टिकृत स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको अस्पतालले वार्षिक ६० लाख रुपैयाँ नोक्सानी बेहोर्दै आएको छ । अस्पतालको कुल आम्दानी वार्षिक ६ करोड ९६ लाख रुपैयाँ छ जबकि तलब भत्तामा मात्रै वार्षिक ७ करोड ५६ हजार रुपैयाँ खर्च हुने गरेको अस्पताल प्रशासन बताउँछ ।

अस्पतालमा जम्मा ५ सय १४ जना कार्यरत छन् । नेपाल सरकारका २ सय ४९ कर्मचारीका लागि वार्षिक २३ करोड १३ लाख ६६ हजार रुपैयाँ सरकारले नै उलपब्ध गराउँदै आएको छ । बाँकी २ सय ६५ जना कर्मचारीलाई भने अस्पताल विकास समितिले तलब भत्ता खुवाउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका लेखा शाखा प्रमुख कमल राजवंशीले नेपाल सरकारले दरबन्दी अनुसार कर्मचारी नपठाउँदा बिकास समिति मार्फत बढी कर्मचारी राख्नु परेकाले अस्पताललाई व्ययभार बढेको बताए । उनले अस्पतालको स्रोत वृद्धि नहुँदा अस्पतालमा कार्यरत कर्मचारीलाई समयमै तलब खुवाउन गाह्रो हुने गरेको बताए । उनका अनुसार बिकास समितिमार्फत २० जना विषेशज्ञ चिकित्सक नियुक्त गरिएको छ ।

साढे २ लाखको उपचार सेवा

अस्पतालमा पूर्वाञ्चलका विभिन्न जिल्लाबाट दैनिक ८ सय बढी विरामीहरू उपचार गर्न कोशी अञ्चल अस्पताल आउने गरेका छन् । पूर्वाञ्चलको एक मात्र सरकारी अञ्चल अस्पतालमा यो वर्ष २ लाख ५६ हजार ५ सय ४७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

अस्पतालको मेडिकल शाखाको रेकर्ड अनुसार सबैभन्दा बढी २ लाख १० हजार ७०३ जनाले ओपीडी सेवा लिएका छन् । आकस्मिक सेवा लिनेको संख्या २८ हजार ११० छ । यसैगरी १७ हजार ७ सय ३३ जनाले उता प्रसूति सेवा लिएका छन् । मेडिकल रेकर्ड सुपरभाइजर खिलनाथ गौतमका अनुसार प्रसूति सेवाका निम्ति मासिक सरदर १५ सय बढी भर्ना हुने गरेका छन् ।

यो वर्ष कोशी अञ्चल अस्पतालबाट प्रसूति सेवाका लागि भर्ना भएकामध्ये ६ सय १३ जनाले नर्मल, १ हजार ७९६ जनाको अप्रेशन र २ सय २९ जनाको भ्याकुम मार्फत प्रसूति गराएका छन् । कोशी अञ्चल अस्पतालमा ५१ हजार ३७८ जनाले ल्याब परीक्षणको सेवा लिएका छन ।

अस्पताललाई क्षेत्रीयस्तरको बनाउन लक्ष्य

सरकारले आवश्यक सहयोग गरेमा कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा बिकास गर्ने लक्ष्य छ । केही बिशिष्टकृत सेवा शुरु गरेको अस्पतालले दरबन्दी अनुसारको जनशक्ति सरकारले पठाएमा आवश्यक सेवा बिस्तार गरी क्षेत्रिय अस्पतालको रुपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको मेडिकल सुपरीटेन्ड डा. रोशन पोखरेलले बताए ।

उनले अहिले काार्डियोलोजी सेवा, ल्यावका सबै सेवाहरू, नाक, कान, घाँटी, न्युरो सर्जन लगायतका अति आवश्यक सेवा सुरू भइसकेको जानकारी दिए । तर ती विशिष्टकृत सेवाका लागि आवश्यक विषेशज्ञको अभाव भने रहेको जानकारी दिए ।

‘सरकारले दरबन्दीका चिकित्सक पठाएको छैन,’ मेसु पोखरेलले भने, ‘विकास समिति मार्फत केही चिकित्सक नियुक्त गरी सेवा प्रदान गरिँदै आएको छ, यतिमै यस्ता सेवा पूर्ण रुपमा प्राप्त हुँदैन, पूर्णरुपमा सञ्चालन ल्याउन चिकित्सक थप्न आवश्यक छ ।’

मेसु डा. पोखरेलले धेरै विरामीको चाप हुने अञ्चल अस्पतालालाई क्षेत्रिय अस्पतालमा बिस्तार गर्नका लागि ६ वटा मात्र शय्यामा सञ्चालन रहेको आईसीयुलाई २० श्ययाका बिस्तार गर्नुपर्ने, ५ सयमा रहेको एन आईसीयुको बेड संख्या बिस्तार गरी १५ शय्या बनाउनु पर्ने, पोष्ट अपरेटिभ वार्डको व्यवस्था गर्नुपर्ने बताए । उनले अस्पतालकै अक्सिजन प्लान्ट निर्माणदेखि ट्रमा सेन्टर सञ्चालनको आवश्यकता समेत औंल्याए ।

अस्पतालको धारा, पंखा, टेलिफोन, ढोका, कुर्सी लगायतका अन्य भौतिक सामग्रीसमेत मर्मतको खाँचो रहेको बताए ।

प्रदेशस्तरमा विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अञ्चल अस्पताललाई प्रारम्भिक चरणमा मुटु, नाक, कान, घाँटी, क्यान्सरको साथसाथै स्नायु (न्यूरो) बहिरङ सेवा पनि सुरु गरिएको छ । तर न्युरोसर्जन नभएकै कारण प्रदेशकै ठूलो सरकारी अस्पताल नसासँग जोडिएका विरामीको अपरेशन गर्न सक्ने अवस्थामा छैन ।

न्युरो सर्जरीमात्रै होइन, चेस्ट सर्जरी, ग्यास्ट्रो सर्जरीलगायत विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि चिकित्सक नपठाइँदा ती सेवा लिन बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment