Comments Add Comment

मिलान रातोलाई एनआरएन कपको उपाधि


बार्सिलोना। एनआरएनए कप ईन्टरसिटी फुटबल प्रतियोगिताको उपाधि नेपाल मितेरी मञ्च मिलान (रातो) ले जितेको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इटालीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा मञ्चले जित हासिल गरेको हो।

आइतबार पिसा शहरमा सम्पन्न फाइनल खेलमा मितेरी मञ्च (निलो) लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै मितेरी मञ्च (रातो) ले ट्रफी उचालेको छ। फाइनलमा पुगेका यी दुई टिमसहित ईटालीका विभिन्न शहरहरुबाट भेनिस, पार्मा नेपाली परिवार, नेपाली फुटबल कमिटी रोम, पिसा एफसी ए र पिसा एफसी बीसहित ७ बटा टोलीहरु सहभागी थिए।

पिसा एफसी ए र पार्मा नेपाली परिवारले प्रतियोगितमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भए। बिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको संघका महासचिव छवीलाल कँडेलले जानकारी दिए

सर्वोत्कृष्ट खेलाडीसहित सर्वाधिक गोलकर्ताको उपाधि भने बिजेता टिमकै खेलाडी समिर ओसीले प्राप्त गरेका छन्। इटालीका लागि नेपाली अवैतानिक वाणिज्य दूत पाउलो नुगारीले उत्कृष्ट बनेका खेलाडी ओसीलाई हौसला स्वरूप नेपाल आवातजावतको एक हवाइ टिकट उपलब्ध गराउने प्रतिबद्वता ब्यक्त गरेका छन्।

नेपाली समाज पिसाले प्रतियोगिताको व्यवस्थापन गरेको थियो।एनआरएनए इटालीका अध्यक्ष दीपेशकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, आईसीसी सदस्य क्षेत्रकुमार श्रेष्ठलगायत इटालीस्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

यसैबीच, आइतबार साँझ नै गायक मिलन लामा, गायिका शकुन्तला थापालगायत स्थानीय कलाकारहरुले इटालीबासी नेपालीहरुलाई नचाए। लोक तथा दोहोरी गीतमा नै केन्द्रित रहेको उक्त सांस्कृतिक कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय नेपाली कलकार समाज इटालीले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment