Comments Add Comment

कार्टुन बनाउने र फोटो खिच्नेलाई २ वर्ष कैद !

ब्लफ कल गर्नेले पनि २ वर्ष जेल जानुपर्ने


२८ साउन, काठमाडौं । आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यो व्यवस्थाले प्रेस स्वतन्त्रता संकुचन हुन सक्ने भय मिडिया क्षेत्रमा देखिएको छ ।

नेपालको संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ । अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन ।

संविधानको यही व्यवस्थालाई कायार्चन्वयन गर्ने क्रममा मुलुकी संहिताले गोपनीयताको हक सम्बन्धी कानून बनाएको हो ।

अर्काको कुरा रेकर्ड गरे २ वर्ष कैद

यस ऐनको दफा २९३ (१) मा लेखिएको छ ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरीविना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्नु हुँदैन ।’

दुई वा दुईभन्दा बढी व्यक्तिबीचको कुराकानीमा भाषण भने नपर्ने ऐनमा उल्लेख गरिएको छ । अरुको कुरा सुन्ने कसुर गर्ने र गराउने दुबैथरीलाई २ वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुबै हुने सजाय हुने व्यवस्था गरिएको छ ।

अनुमतिविना फोटो खिच्न नपाइने

कानुनले अब अनुमतिविना कसैको फोटो खिच्न पनि निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरु फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना गरिएको छ ।

सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने ऐनमा उल्लेख छ ।

फेसबुकमा विभिन्न नेता, सेलिब्रेटीहरुको टाउको अर्कै फोटोमा जोडेर कार्टुन बनाइने गरेको त हामीले देखेकै हौं । अब त्यस्तो कसुर गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ ।

अपराध संहिताको दफा २९५ (३) मा लेखिएको छ ‘कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्नुहुँदैन ।’

अरुलाई हैरान पार्ने नियतले फोटोको दुरुपयोग गरेमा ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । ‘कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमतिविना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने हैरान पार्ने वा निजबाट अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।’

ब्लफ कल गर्नेलाई २ वर्ष कैद

कहिलेकाहीँ चिनेका वा नचिनेका मानिसहरुले टेलिफोनमा परिचय लुकाएर अनेक कुरा गरेर हैरान पार्ने गरेको प्रहरीमा उजुरी पर्ने गरेको छ । अझ नेपाल प्रहरीको १०० मा फोन गरेर प्रहरीलाई नै हैरान पारेको समाचारहरु पनि आइरहन्छन् । तर अब यस्तो कसुर गर्नेलाई २ वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

अपराध संहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुदैन ।’

टेलिफोनबाट धम्की दिए १ वर्ष कैद

टेलिफोन वा फेसबु्कबाट धम्की दिनेलाई १ वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । कसैलाई डर त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।

अनुमति नलिई अरुको घरमा छिर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । अधिकारप्राप्त अधिकारी र उसको अनुमति पाएको व्यक्तिबाहेक अरु मान्छे घरधनीको स्वीकृति नलिई कसैको घरभित्र प्रवेश गरेमा वा खानतलासी गर्न पाउने छैनन् । घर भन्नाले कोठा, होटल, शिविर र पाललाई समेत जनाइएको छ ।

यो पनि पढ्नुहोस्

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल
जुवा खेल्नेलाई ३ वर्ष, बाजी थाप्नेलाई एक वर्ष जेल
दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल
लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment