Comments Add Comment

भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं

हिजोका गल्ती, कमजोरी भुलेर उठ्ने बेला आयो

२९ साउन, पोखरा । एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् ।

पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छनोटमा विजेता बन्न सके भारत, पाकिस्तानजस्ता क्रिकेटका शक्तिशाली देशसँग खेल्ने मौका भएकाले यसलाई कुनै हालतमा गुम्न नदिने कप्तान खड्का बताउँछन् ।

हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया सबैलाई हराएर एसिया कप खेल्ने सपना देखिरहेको नेपाली टिमले कसरी तयारी गर्दैछ ? यसबारे टिमका कप्तान पारस खड्कासँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीः

अगस्ट २९ देखि मलेसियामा एसिया छनोट कप हुँदैछ, तयारी कसरी गर्दै हुनुहुन्छ ?

यो हाम्रो लागि सुनौलो मौका हो । छनोट प्रतियोगिता जित्यौं भने भारत र पाकिस्तान जस्तो देशसँग खेल्ने अवसर पाउँछौं । देशका लागि पनि एउटा प्ल्याट फर्म हो । यसलाई हामी गुमाउन चाहन्नौं । हामी खेलाडीले गर्न सक्ने भनेको निरन्तरको प्रयास हो । यसपटक पनि जिउ, ज्यान लगाएर प्रयास गर्नेछौं ।

एसिया कप खेल्ने सपना पूरा गर्न विजेता हुनैपर्ने बाध्यता छ । युएईसहित अरु प्रतिस्पर्धीलाई कस्तो मान्नुहुन्छ ?

हामीले डिभिजन टू–थ्रीमा हुँदा हराएका टिम पनि छन् । ओमन राम्रो टिम हो तर, उसलाई डिभिजन टूमा हुँदा हराएका हौं । यूएईसँग पनि खेल्दै आएका हौं । त्यसैले यो टिम, त्यो टिम भन्नुभन्दा पनि सबै टिम राम्रा छन् । हामीलाई त्यति सजिलो पनि छैन । किनकी उनीहरु पनि त्यही जोस, सोचका साथ आएका हुन्छन् र एसिया कपको सपना देखेका हुन्छन् । हामीले हाम्रो बेस्ट क्रिेकेट खेल्नेछौं ।

व्यवस्थापनमा देखिएको समस्या र पूर्वाधारमा पर्याप्त लगानी हुन नसकिरहेका बेलामा पनि नेपालले एकदिवसीय मान्यता पायो र नेदरल्याण्ड्ससँग भएको डेब्यू सिरिजमा नै एउटा खेल पनि जित्यो । एकदिवसीय खेलेर फर्किंदा नेपाली क्रिकेटलाई हेर्ने नजर कस्तो पाउनुभयो ?

बिना लगानी नेपाली क्रिकेट यहाँ आइपुग्यो भने लगानी गरे कहाँ पुग्ला ? खेलाडीहरुमाथि लगानी गर्नुपर्‍याे, प्रशिक्षकमाथि लगानी गर्नुपर्‍याे, भौतिक पूर्वाधारमा लगानी गर्नुपर्‍याे । जहाँ क्रिकेट बढी खेलिन्छ अझै व्यवस्थित गर्नुपर्‍याे । नयाँलाई क्रिकेट खेल्ने वातावरणको सिर्जना गर्नुपर्‍याे । हामीले माहोल बढाउनुपर्‍याे ।

टिमलाई कसरी जिताउने, कसरी माथि जाने भनेर हामीले निरन्तर रुपमा कोसिस गरेका छौं । हामीले जे जस्तो सुविधा छ, त्यसमा सन्तोष मानेर खेल्यौं । क्रिकेट मन परेर खेल्यौं, देशका लागि जित्छौं भनेर खेल्यौं । सपना देखिरह्यौं । सपना देख्दै जाँदा आज उभिने भयौं । केही पनि छैन भनेर बसेको भए, कहीँ पनि पुग्ने थिएनौं ।

क्रिकेटलाई प्राथमिकतामा राखिएकै थिएन । जब हामी २०१४ मा ट्वान्टी–ट्वान्टी विश्वकप खेल्यौं, तब क्रिकेटलाई हेर्ने नजर नै परिवर्तन भयो । म जहिले पनि एक्साइटेड हुनुपर्छ भन्छु । अहिले त झन् माहोल बनेको छ । एकदिवसीय मान्यता पाएको छ । यसले उत्साहित बनाएको छ । सायद अरुलाई पनि उत्साहित बनाएको होला ।

आजको दिनमा नेपाली क्रिकेटको हिजो हिँडेको बाटो र भोलिको यात्रालाई कसरी हेर्नुभएको छ ?

म एउटा खेलाडी हुँ । उत्साही छु । खुसी छु । चुनौति र जिम्मेवारी बढेको छ । म, मेरो पुस्ता र मभन्दा अगाडिका खेलाडीहरुको पनि वान डे इन्टरनेसनल (ओडीआई) खेल्ने राष्ट्र बन्ने सपना थियो । अथक प्रयास र मिहिनेतले हामीले त्यो मान्यता पायौं । यसले नेपाली क्रिकेटको ऐतिहासिक बाटो खुलेको छ । हिजो वर्ल्ड क्रिकेट लिगको डिभिजन फोरबाट हारियो भने के गर्ने ? जित्यो भने के गर्ने ? भन्दाभन्दै यहाँ आइपुगेका हौं । आज संसारका जुनसुकै क्रिकेट खेल्ने राष्ट्रसँग एकदिवसीय खेल्ने योग्यता छ । हामी उत्साहित छौं । अब हामीले यसलाई कसरी व्यवस्थापन गर्ने र अगाडि बढ्छौं भन्ने कुरा हो ।

जहाँसम्म हिजोको यात्राको कुरा छ, हामीले विभिन्न आरोह–अवरोह पार गरेका छौं । दुखम्, सुखम् मिलेर यहाँसम्म आउन सकेका हौं ।

जुन गतिमा खेलाडीहरुले प्रदर्शन गर्दै गए, महिला क्रिकेट, यू–१७, यू–१९ क्रमशः भए । खेल बढ्दै गयो, त्यही हिसाबले व्यवस्थापन बढ्न सकेन । नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै गर्दा पनि व्यवस्थापन पक्ष राम्रो भएन । त्यो एउटा दुःखदायी पक्ष हो । हिजैदेखि नेपाली क्रिकेट व्यवस्थित ढंगले अगाडि बढेको भए आज यहाँ थुप्रै क्रिकेट मैदानहरु हुन्थे, प्रत्येक मैदानमा विभिन्न खाले म्याच भइरहेका हुन्थे होलान् । भौतिक पूर्वाधारयुक्त हुन्थ्यौं होला हामी ।

अहिले हामीसँग टीयूको एउटा मात्र क्रिकेट मैदान छ । पुलचोकमा थियो, त्यो खेल्ने अवस्थामा छैन । हामीले स्टेडियमको मात्र कुरा गरिरहेका हुन्छौं, त्योभन्दा पहिले खेल मैदान चाहिन्छ । तर, हिजो के भयो भन्नुभन्दा पनि अब हामी के गर्न सक्छौं, कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ भन्ने लाग्छ । हामीलाई नयाँ मौका छ । क्रिकेट संघ विवाद हटाउँदै स्वतन्त्र समिति बनेको छ, छिट्टै व्यवस्थित क्रिकेट बोर्ड बन्छ भन्नेमा आशावादी छौं ।

विवादका कारण क्यान निलम्बन नै भयो, जसका कारण तपाईहरुसँगै नेपाली क्रिकेट सफर गर्‍याे । अब बन्ने क्यानप्रति कत्तिको आशावादी हुनुहुन्छ ?

क्यान विवाद र निलम्बनका बेला एकदमै दुःखदायी परिस्थिति थियो । कठिन परिस्थितिबाट गुज्रिँदै यहाँसम्म आइपुग्यौं । समस्या अझै सुल्झिएको छैन । आशावादी त छौं तर यसै भन्ने अवस्था छैन ।

नेपाली क्रिकेटको विकास ठप्पै भएको छ । खेलाडीका लागि कुनै फन्डिङ आएको छैन । १८ महिना भयो खेलाडीहरुले कन्ट्र्याकको तलबबाहेक केही पाइएको छैन । केबल टुर जाने, खेल्ने, आउने मात्रै भएको छ । यसले विकासलाई ठूलो प्रभाव पारेको छ । सायद यो दुई वा साढे दुई वर्षलाई सिक्नुपर्ने पाठको रुपमा लिनुपर्छ ।

गल्ती भए होलान् खेलाडीबाट, व्यवस्थापनबाट, प्रशिक्षकबाट र यससँग सम्बन्धित जति पनि मान्छेहरुबाट । तर, अब कसले के गर्‍याे, कसले के गरेन भन्ने बिर्सिएर अगाडि बढ्नु पर्ने बेला आएको छ । जुन विधान बनेको छ, त्यसअनुसार जिल्लादेखि नै चुनाव गराएर जिल्ला, प्रदेश र केन्द्रसम्म आउँदा एउटा क्रिकेट बोर्ड बन्छ भन्ने लाग्छ ।

अब जो पनि आउनुहुन्छ जिम्मेवार मान्छे आउनुहुन्छ । अब जिम्मेवारी नलिए कहिले लिने त ? खेलाडीहरु निरन्तर रुपमा लागिरहेका छौं । जोस, जाँगरका साथ खेलिरहेका छौं । नयाँ व्यवस्थापनमा पनि त्यही जोस र जाँगर चाहियो । हिजोका सबै कमजोरी भनौं वा गल्ती भनौं, त्यसलाई बिर्सेर अगाडि बढ्ने बेला आएको छ ।

क्यान नभएको बेलामा पनि निजी स्तरबाट विभिन्न लिगहरु हुने क्रम बढ्दो छ । तपाईंले पोखरा प्रिमियर लिगको तयारी पनि हेर्नुभयो । यस्ता लिगहरुलाई चाहीँ कसरी लिनु भएको छ ?

नेसनल/इन्टरनेसनल २/३ वटा प्राइभेट लिग नेपालमा भइरहेका छन् । अगामी दिनमा चाहिँ टी–२० होलान् । यदि भोलि क्रिकेट बोर्ड आउँछ अनि ५० ओभरको दुईदिवसीय, तीनदिवसीय फर्म्याटमा पनि हामी जानुपर्छ । पोखरा प्रिमियर जस्ता टुर्नामेन्टले चाहिँ एउटा क्रिकेटको माहोल बनाउँछ । यसले थप ऊर्जा थपिने छ । देश–विदेशका खेलाडी, प्रशिक्षण आउँदा यहाँका खेलाडी, प्रशिक्षक र दर्शकका लागि पनि त्यो एउटा मौका हुने छ । अनि यसले अन्तर्राष्ट्रिय स्तरमा पोखराबारे छुट्टै सन्देश दिन्छ ।

मलाई लाग्छ नेपालकै धेरै पर्यटक आउने ठाउँमध्ये एक पोखरा हो । यो ठाउँमा क्रिकेट हुँदा स्पोर्ट टुरिजमको पनि विकास हुन्छ । यस्ता लिगहरु हुनु पक्कै पनि नेपाली क्रिकेटमा शुभ संकेत हो र यस्ता टुर्नामेन्टहरु भइरहनुपर्छ । यस्ता लिगहरुले आर्थिक गतिविधि बढाउँछ । आज पोखरा प्रिमियर लिग भयो, भोलि धनगढी प्रिमियर लिग हुन्छ, पर्सि जनकपुर प्रिमियर लिग हुन्छ, अर्को काठमाडौं प्रिमियर लिग होला । यसले खेलाडीहरु बिजी हुन्छन्, सबै जना जोडिन्छन् । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हो ।

नयाँ पुस्ता जन्माउने गरी प्रयाप्त एकेडेमी खुलेका छैनन्, सरकारीस्तरबाट त्यो खालको लगानी अझै भइसकेको छैन । त्यस्ता प्रतियोगिताहरुको भरमा नयाँ पुस्ता कसरी जन्मिरहेका छन् ?

पछिल्लो पुस्ता झन् ट्यालेन्ट निस्किरहेका छन् । जस्तै– सन्दीप लामिछानेलाई हेर्न सक्नुहुन्छ । ३/४ वर्ष अगाडि सन्दीप भाइ कहाँ थिए, कस्तो अवस्थामा थिए । तर, अहिले संसारका प्रतिष्ठित लिगहरु खेलिरहेका छन् । सबैले उसलाई नेपालको खेलाडी भनेर चिन्छन् । हाम्रा खेलाडीलाई प्ल्याट फर्मको कमी थियो, त्यो पनि पूरा हुँदै गइरहेको छ । जब राम्रा खेलाडी जन्मदै जान्छन्, विश्वका आँखा पर्छन् ।

जिल्ला, क्षेत्र र प्रदेश क्रिकेट संघ जब सक्रिय हुनेछन्, तब नयाँ पुस्ता जन्माउने र प्ल्याट फर्म दिने काम गर्नेछन् भन्ने विश्वास छ । जब क्रिकेट बोर्ड बन्छ, त्यसमा हरेक प्रदेशको प्रतिनिधित्व हुन्छ । हाम्रा संघहरुमा कामभन्दा बढी बोल्ने ज्यादा हुन्छ । काम गर्ने मान्छेहरुले काम गरिरहेका छन् । आज सुवास शाहीहरुले प्रिमियर लिग गराएर धनगढीलाई चिनाएको छन् । हामीले गरेको खै त ?

तस्वीरः सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment