Comments Add Comment

नेप्सेका सीईओ भन्छन्– यही साता सेयर सूचीकृत हुन्छ

धितोपत्र विनियमावली पारित गर्न नेप्सेको बोर्ड बैठक बस्दै


२९ साउन, काठमाडौं । आर्थिक वर्ष शुरु भएको १ महिना वितिसक्नै लाग्दासमेत नेपाल स्टक एक्सचेञ्जले नयाँ सेयर सूचीकृत गर्न सकेको छैन । आर्थिक वर्ष शुरु भएपछि एउटै कम्पनीको सेयर सूचीकृत गर्न नसकेको नेप्सेले यो साता भने थाती रहेका सबै कम्पनीको सेयर सूचीकृत गरिने जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यो साता नयाँ सेयर सूचीकृत हुने बताए । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पत्र सोमबार साझ मात्रै आइपुगेको जानकारी दिँदै सीईओ साउदले यो साता भने सेयर सूचीकृत हुने दाबी गरे ।

‘हिजो मात्रै बोर्डबाट स्वीकृतिको पत्र आएको छ’ सीइओ साउदले अनलाइनखबरसँग भने, ‘अब आज साँझ वा भोलिसम्म सञ्चालक समिति बैठक बसेर निर्णय गर्छौं, त्यसलगत्तै सेयर सूचीकरणको काम हुन्छ ।’

धितोपत्र सूचीकरण विनियमावली २०७५ र धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ पारित नहुँदा हालसम्म पनि सेयर सूचीकरण हुन नसकेको हो । बोर्डको स्वीकृतिपश्चात नेप्सेको सञ्चालक समिति बैठकले निर्णय गरी नियमावली लागु गर्न सक्नेछ व्यवस्था छ । नियमावली लागु भएसँगै सेयर सूचीकरणका लागि बाटो फुकुवा हुनेछ ।

पुरानो नियमावली खारेज भइसकेको र नयाँ नियमावली पारित नभएका कारण नेप्सेले करिब आधा दर्जन कम्पनीहरुको ४ करोड भन्दामाथिका सेयरहरु सूचीकरण गर्न सकेको छैन ।

ठूलो परिमाणमा विभिन्न कम्पनीका सेयरहरु नेप्सेले सूचीकृत नगर्दा लगानीकर्ताहरुको करौडौंको सम्पत्ति बन्धक भएर बसेको छ ।

पुरानो विनियमावली खारेज गरिसकिएको छ भने नयाँ विनियमावली हालसम्म पनि पारित नहुँदा करोडौं रकम होल्ड भएको लगानीकर्ताहरु बताउँछन् । हाल विनियमावली नै नभई कारोबार भइरहेको नेप्सेका एक अधिकारी बताउँछन् ।

नयाँ पारित नगर्ने भए पुरानो खारेज गर्न नहुने लगानीकर्ताहरुले बताउँदै आएका छन् । सूचीकरण शुल्क लिने व्यवस्था विनियमावलीले गर्ने र विनियमावलीकै कारण सूचीकरण प्रक्रिया रोकिएको थियो ।

सिद्धार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंक लगायतको कुल ४ करोड २३ लाख ३२ हजार कित्ता सेयर सूचीकरणको पर्खाइमा रहेका नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment