Comments Add Comment

नेपालमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ ।

फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो ।

नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा फेसबुकमार्फत मात्र आउने छ । जहाँ ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरु रहेको बताइन्छ ।

फेसबुकले आउँदो एक सिजनको लागि मात्रै नभएर तीन सिजनको लागि प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता गरेको हो । सम्झौता कतिमा भएको हो भन्ने खुलाइएको छैन ।

फेसबुकमा खेल सित्तैमा हेर्न पाइने भए पनि त्यसमा अनेक विज्ञापन आएर हैरानी हुने हो कि भन्ने आशंका पनि गर्न थालिएको छ ।

यस्तोमा फेसबुक ग्लोबल लाइभ स्पोट्र्सका निर्देशकले रोयटर्ससँग ला लिगाको लाइभमा विज्ञापन नदिइने भन्दै भविष्यमा कसरी अघि बढिन्छ भन्ने यकीन भइनसकेको पनि बताएका छन् ।

यसअघि भारतीय उपमहाद्वीपमा ला लिगा २०१४ देखि २०१८ सम्मका लागि ३२ मिलियन डलरमा सोनी पिक्चर नेटवर्कसले लिएको थियो ।
फेसबुकले २०१७ मा मेजर लिग बेसबल मार्फत खेल लाइभ गर्न सुरु गरेको थियो । यसपटक ला लिगाकै लाइभका लागि सम्झौता गरेर फेसबुकले ठूलो फड्को मारेको बताइएको छ ।

ला लिगाका डिजिटल स्ट्राटिजी प्रमुख अल्फ्रेडो बेरमेजोले फेसबुकमार्फत ला लिगाका खेल अझै धेरै दर्शकसम्म पुग्ने हुँदा आफूहरु खुसी रहेको बताएका छन् । ‘धेरैले ला लिगा हेर्न सकुन् भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो, यसैले फेसबुकसँगको सम्झौता विशेष छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment