Comments Add Comment

नेकपालाई एकीकरण सकस : गण्डकी प्रदेशका एघारै जिल्लामा सर्वसम्मत हुन सकेन

२९ साउन , पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई गण्डकी प्रदेशमा पार्टी एकता प्रक्रिया टुंगो लगाउन सकस भएको छ ।

साविकको नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरी जिल्ला तथा नगर तह कमिटी बनाउन सकस भएको हो । नगर तथा जिल्ला तहमा पार्टी एकीकरणका लागि गठन गरिएको कार्यदललाई सदस्य संख्या टुंगो लगाएर प्रदेशको कार्यदलमा पठाउन साउन मसान्तसम्मको मिति तोकिएको थियो ।

तर, अधिकांश जिल्लामा सविकको दुई पार्टीलाई मिलाएर सिफारिस गर्न गाह्रो भएपछि भदौ पहिलो हप्तासम्मको लागि म्याद थपिएको छ । सदस्य संख्या बाँडफाँटसँगै अध्यक्ष र सचिवको नाम सिफारिस गर्ने जिम्मा जिल्ला तहका कार्यदललाई थियो ।

अधिकांश जिल्लाले सदस्य संख्या बाँडफाँड मिलाएर प्रदेशमा सिफारिस गरेका छन् । साविक एमाले र माओवादी केन्द्र ५५ः४५ को अनुपातमा बाँडफाँट भएको छ । तर, अध्यक्ष र सचिव भने सर्वसम्मत सिफारिस हुन नसकेको एक नेताले जानकारी दिए । मुस्ताङमा भने अध्यक्ष सर्वसम्मत भएको छ । त्यहाँ साविक एमालेका रमेश भट्टचनको नाम सिफारिस भएको छ ।

कास्की, तनहुँ, गोरखा र मनाङबाहेक जिल्लामा सदस्य संख्या बाँडफाँट मिले पनि अध्यक्ष र सचिव पदमा साविकको दुबै पार्टीका धेरैजना आकांक्षी भएपछि सबैको नाम सिफारिस गरिएको छ ।

अधिकांश जिल्लामा अध्यक्ष साविकको एमाले र सचिव सविकको माओवादीलाई दिने गरी सहमति खोजिएको थियो । तर, सहमति नजुटेपछि आकांक्षीहरुको नाम सिफारिस गरिएको छ ।

७ जिल्लाबाट अध्यक्ष र सचिवसहित जिल्लास्तरीय कमिटीको नाम प्रदेशमा सिफारिस गरिएको छ । अधिकांश जिल्लामा प्रदेश सभाका सांसदसमेत अध्यक्षको आकांक्षी थिए । तर, दोहोरो पदमा बस्न नपाउने नेकपाले निर्णय गरेपछि उनीहरु प्रतिस्पर्धाबाट स्वतः आउट भएका छन् ।

‘दुई फरक राजनीतिक पृष्ठभूमि, फरक चरित्र, शैली र सिद्धान्तबाट आएका व्यक्तिहरु छन्, उनीहरुका साविकको पार्टीमा हुँदा आˆनै पदीय दायित्व र अस्तित्व थिए’ नेकपाका एक नेताले भने, ‘पार्टी एकीकरणमा अहिले ती सब कुरा त्यागेर कम्प्रमाइज गर्नै उनीहरुलाई गाह्रो परिरहेको छ ।’

कास्कीमा आ-आफ्नै अडान

कास्कीमा जिल्ला तथा नगर कमिटीमा २ पार्टीबीच सदस्य संख्या र अध्यक्ष, सचिव केहीको पनि टुंगो लाग्न सकेको छैन ।

पोखरा महानगरलाई पनि जिल्ला कमिटीकै हैसियत मानेर जिल्लामा साविकको एउटा पार्टी र नगरमा अर्को पार्टीलाई अध्यक्ष दिनुपर्ने माग माओवादी केन्द्रको छ । एमालेले भने दुवै कमिटीको नेतृत्व दाबी गरिरहेको एक नेताले बताए । एमालेले जिल्ला र नगर दुबैमा ६०ः४० को अनुपातमा बाँडफाँट गर्ने प्रस्ताव गर्दा माओवादीले ५०ः५० प्रतिशतको अडान गरेको थियो ।

अहिले माओवादीले दुवै कमिटीमा ५५ः४५ को अनुपातमा बाँडफाँट गर्न प्रस्ताव गरेको छ तर, साविकको एमाले पहिलेकै अडानमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमति गर्न बसेको सोमबारको बैठकबाट पनि निष्कर्ष नभएपछि २ दिनका लागि बैठक लम्बिएको छ ।

कास्कीमा गठन भएको कार्यदलमा साविकका दुबै पार्टीका ५/५ जना सदस्य छन् । साविकको एमालेबाट मानबहादुर जिसी, कृष्ण थापा, दामोदर बैरागी, प्रभा कोइराला छन् भने साविकको माओवादीबाट राजकाजी गुरुङ ‘करण’, बखानसिंह तमु, रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङ छन् ।

कार्यदलका सदस्यसमेत जिल्ला कमिटीको अध्यक्षका आकांक्षी छन् । ‘दुबै पार्टीका तर्फबाट अध्यक्ष र सचिवका लागि आकांक्षा देखाइरहेका छन् सदस्य संख्यामै सहमति नजुटेपछि पदाधिकारीका विषयमा छलफल हुनै सकेको छैन,’ एक नेताले भने ।

लमजुङमा अध्यक्षमा २, सचिवमा ४

१ सय ४५ जनाको जिल्ला कमिटी रहने लमजुङमा साविकको एमालेबाट ७० जना र माओवादीबाट ५५ जना छन् ।

यहाँ पनि अध्यक्ष र सचिव सर्वसम्मत हुन सकेन । साविकको एमालेबाट कृष्णप्रसाद अधिकारी र माओवादीबाट पारसमणि पौडेलको नाम सिफारिस गरिएको छ । सचिवमा एमालेबाट राजकुमार विष्ट र सुवास पौडेल छन् भने साविकको माओवादीबाट लालबहादुर गुरुङ र सुनील सुनारको नाम प्रदेशमा सिफारिस गरिएको छ ।

स्याङ्जामा पनि समानान्तर

स्याङ्जामा १ सय ४० सदस्यीय जिल्ला कमिटी हुने भएको छ, जसमा साविकको एमालेका भागमा ८२ र माओवादीका भागमा ५८ जना परेको छ । अध्यक्ष पदमा साविकको एमालेबाट उदय श्रेष्ठ र कृष्ण खाँडको नाम सिफारिस भएको छ ।

साविकको माओवादीबाट शैलेन्द्र घिमिरे, शोभाखर भण्डारी र तारा भुसाल अध्यक्षका प्रतिस्पर्धी बनेका छन् । सचिवमा साविकको एमालेबाट राजेन्द्र डुम्रे आकांक्षी हुँदा साविकको माओवादीबाट सूर्यप्रसाद गैरे पारस र प्रकाश न्यौपानेको नाम सिफारिस भएको छ ।

पर्वतमा दुबै पदमा ८/८ जना

१ सय ३५ सदस्यीय पर्वत जिल्ला कमिटीमा अध्यक्षका लागि ८ जना दाबेदार छन् । ६ जना एमालेका दाबेदार छन् भने २ जना माओवादीका छन् । साविकको एमालेबाट भक्त कुँवर, गोविन्द पहाडी, देवेन्द्रराज पाण्डेय, उदय सुवेदी र शान्त पौडेल अध्यक्ष लागि जिल्लाबाट सिफारिस भएको छ । साविकको माओवादीबाट अध्यक्षका लागि गगनबहादुर थापा र सुदीप कुँवरको नाम सिफारिस भएको छ ।

सचिवमा पनि ८ जना नै आकांक्षी देखिएपछि सबैको नाम सिफारिस भएको छ । सचिवमा यहाँ साविकको माओवादीबाट ६ जना र एमालेबाट २ जना आकांक्षी छन् ।

माओवादीका केशव कुँवर, ढाकाराम गौतम, दीपक आचार्य, शंकर गिरी, मनबहादुर पौडेल र ऋषिराम भुसालको नाम सिफारिस भएको छ भने साविक एमालेका खुमप्रसाद सुवेदी र शिव पौडेलको नाम सिफारिस भएको छ । पर्वत जिल्ला कमिटीमा साविकको एमालेका तर्फबाट ७२ जना र साविकको एमालेबाट ५८ जना रहने भएका छन् । ५ जनाको पछि नियुक्ति हुनेछ ।

बागलुङमा परिपत्र आउनुअघि नै सिफारिस

बागलुङमा पदाधिकारीको टुंगो नलागे पनि प्रदेशले विशेष परिपत्र गर्नुभन्दा पहिले नै सिफारिस गरिएको कार्यदलका इन्द्रलाल सापकोटाले जानकारी दिए । १ सय ४५ जना सदस्यीय कमिटी रहने बागलुङमा साविकको एमालेका ८० जना र साविकको माओवादीबाट ६५ जना रहनेछन् ।

तर, अध्यक्ष, सचिव पदमा साविकका दुबै पार्टीका आकांक्षी छन् । साविकको एमालेबाट कृष्ण पाठक र माओवादीबाट ग्यामनाथ गैरेको नाम अध्यक्षमा सिफारिस भएको छ । सचिवमा साविकको एमालेबाट लालबहादुर थापा र साविकको माओवादीबाट राजीव घिमिरेको नाम सिफारिस भएको छ ।

म्याग्दीमा सचिव खाली

९५ सदस्यीय जिल्ला कमिटी हुने म्याग्दीमा ५५ जना एमाले र ४० माओवादीलाई भागबन्डा लगाइएको छ । अध्यक्षमा एमालेबाट हरिकृष्ण श्रेष्ठ र माओवादीबाट गोविन्द पौडेलको नाम सिफारिस छ । सचिवमा भने खाली छ । सचिवमा अध्यक्षका प्रत्यासी दुईमध्ये एकजना हुने एक नेताले जानकारी दिए ।

मुस्ताङमा अध्यक्ष सर्वसम्मत

मुस्ताङमा ८३ जनाको जिल्ला कमिटी हुने भएको छ । जसमा ६० जना एमाले र ३३ जना माओवादीबाट हुनेछन् । मुस्ताङ जिल्ला कमिटीको अध्यक्ष भने साविकको एमालेबाट रमेश भट्टचनलाई सर्वसम्मत सिफारिस गरिएको मुस्ताङका सांसद तथा साविकको एमाले जिल्ला अध्यक्ष चन्द्रमोेहन गौचनले जानकारी दिए । साविक माओवादीको भागमा परेको सचिव पदमा ४/५ जना आकांक्षी भएपछि खाली पठाइएको छ ।

नवलपुरमा आ-आफ्नै दाबी

कान्छो जिल्ला नवलपुरमा अध्यक्षका लागि साविकको दुबै पार्टीबाट ३/३ जनाको नाम सिफरिस भएको छ । उनीहरु सबैको आफुले पाउनुपर्ने छन् । अध्यक्षका लागि एमालेबाट दीपक अधिकारी, जीवन श्रेष्ठ र शालिकराम भट्टराई छन् भने माओवादीबाट बालकृष्ण रानाभाट, धनप्रसाद सापकोटा र मित्रशरण शर्माको नाम सिफारिस भएको साविक एमाले नवलपुरका अध्यक्ष रोशन गाहामगरले जानकारी दिए ।

चिवमा माओवादीबाट २ जना र एमालेबाट ४ जनाको नाम सिफारिस भएको छ । माओवादीबाट सम्झना खनाल, दाषीराम बस्याल छन् भने एमालेबाट भीम कँडेल, भीम अधिकारी, यमनाथ आचार्य र नारायणप्रसाद तिमिल्सिनाको नाम सचिवका लागि प्रदेशमा सिफारिस भएको छ । १ सय ४५ सदस्यीय जिल्ला कमिटी रहने नवलपुरमा ८८ एमाले र ६२ माओवादीको पोल्टामा परेको छ ।

तनहुँमा संख्यामात्र बाँडफाँट

१ सय ४५ सदस्यीय हुने तनहुँ जिल्ला कमिटीमा सदस्य संख्या बाँडफाँट भएको छ तर पदाधिकारी छान्न भने सकस परेको छ ।

सोमबार रातिसम्म बसेको पार्टी समायोजन जिल्ला कार्यदलको बैठकले एमालेबाट ७८ जना र माओवादीबाट ६७ जना जिल्ला कमिटीमा रहने सहमति गरेको साविक एमाले सहसचिव विष्णुभक्त सिग्देलले जानकारी दिए । अध्यक्ष र सचिवको टुंगो लागाउन पनि हम्मे परेको छ ।

साविक एमालेका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव भगवती न्यौपाने र उपसचिव विष्णुभक्त सिग्देलले नेतृत्वको दावी गरेका छन् । सचिवमा साविक माओवादीका मदन आले, अतिन्द्रकेशरी न्यौपाने, ओमकुमारी पौडेल र हेमराज लामिछाने -क्षितिज)ले आकांक्षा देखाइरहेका छन् ।

गोरखा र मनाङमा अध्यक्षकै आकांक्षीबाट सचिव मिलाइने

गोरखाबाट आकांक्षीकै टुंगो लागेको छैन । गोरखामा प्रेम गुरुङ, लोकप्रसाद बञ्जरा र जगन्नाथ खनाल अध्यक्षका आकांक्षी छन् । १ सय ४५ सदस्यीय जिल्ला कमिटी रहने गोरखामा आकांक्षीमध्येबाटै अध्यक्ष र सचिवको टुंगो लगाएर सिफारिस हुने एक नेताले जानकारी दिए ।

१ सय २५ सदस्यीय जिल्ला कमिटी रहने मनाङबाट पदाधिकारीको नाम सिफारिस भइसकेको छैन । अध्यक्षमा दुई जनाले आकांक्षा देखाएका छन् । साविकको एमालेबाट टि्रपल पी गुरुङ र साविकको माओवादीबाट कपिल गुरुङ आकांक्षी छन् । यी दुईजनामध्ये एकजना अध्यक्ष र अर्को सचिव हुने सम्भावना छ । मंगलबारसम्म टुंगो लगाएर सिफारिस गर्ने तयारी छ ।

प्रदेशमा छलफल गरेर केन्द्रमा

जिल्ला र प्रदेशका कमिटीको टुंगो लगाउन नेकपा प्रदेश कार्यदलको बैठक केही दिनयता बसिरहेको छ । जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरेर सकेसम्म यहीँ मिलाउने र नसकिने ठाउँको केन्द्रमा पठाउने प्रदेश कार्यदलको तयारी छ ।

प्रदेशका पदाधिकारीको नाम केन्द्रमा सिफारिस गर्ने विषयमा पनि पार्टी कार्यदलको बैठक बसिरहेको छ । साविक एमाले प्रदेश संयोजक किरण गुरुङको संयोजकत्वमा पार्टी एकता कार्यदल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment