Comments Add Comment

उपमहानगरपालिकाबाटै घरको नक्सा र डिजाइन

२८ साउन, बुटवल । बुटवल उपमहागरपालिकाले उपमहानगरभित्र घर बनाउनेहरुका लागि कार्यालयभित्रै सेवा प्रवाह गर्न नयाँ व्यवस्था सुरु गरेको छ ।

अब नयाँ घरको नक्सा तथा डिजाइनका लागि सेवाग्राहीले बाहिर धाइरहनु पर्ने छैन । उनीहरुलाई घर बनाउने स्वीकृतिदेखि त्यसको डिजाइन बनाउनेसम्मका कामहरु अब उपमहानगरभित्रै हुनेछन् । यो नयाँ अभियानका लागि विशेषज्ञ अर्थात् प्रविधिकहरु उपमहानगरभित्रै व्यवस्था गरिएका छन् ।

नगरभित्र मापदण्ड अनुरुपको घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्सासम्बन्धी सबै काम अब एकै ठाउँबाट हुने छ । यसका लागि न्यूनतम शुल्क तोकिएको छ जुन बाहिर भन्दा सस्तो छ । ‘नगरबासीलाई नक्साको कामका लागि अनावश्यक रकम खर्चिनुपरेको र अनेक झन्झटहरु खेप्नुपरेका गुनासाहरु आएपछि यस्तो काम सुरु गरिएको हो ।’-नगर प्रमुख शिवराज सुवेदीले भने ।

आर्थिक वर्ष०७५/७६ को वजेट, नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको छ । नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्सा न्यूनतम शुल्क ५ हजारदेखि अधिकतम ८ हजार रुपैयाँ लिएर तोकेको प्राविधिज्ञले सेवाग्राहीले चाहे अनुरुपको बनाइदिने गरी मापदण्ड बनाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

भवनसंहिताको सही पालना नभएको, मापदण्ड मिच्ने कामहरु भइरहेको र अतिरिक्त रकममा मिलेमतो हुने गरेको चौतर्फी गुनासो आएपछि जनप्रतिनिधिले यस्तो निर्णय गरेका हुन् ।

नगरपालिकाले नक्शा डिजाइन बापत भुइँ तलाका लागि पाँच हजार र सो भन्दा माथि थप आठ हजार शुल्क तोकेको छ ।

बाहिर कन्सल्टेन्सी खोलेर बसेका इन्जिनियरहरुले न्यूनतम ३० हजार शुल्क लिने गरेका छन् । तोकिएको मापदण्डअनुसार घर बन्ने, नक्सा स्वीकृति लिँदा/दिँदा कुनै समस्या नआउने र न्यूनतम शुल्कमा आफ्नै नगर सरकार भित्र सहज सेवा लिन मिल्ने गरी यस्तो प्रावधानको व्यवस्था गरिएको पूर्वाधार समितिका संयोजकसमेत रहेका उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यो निर्णयको धेरैले स्वागत गरेका छन् । नयाँ कार्यक्रम अनुसार साउन २९ गतेदेखि नै सेवा उपलव्ध गराइएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले नगरबासीका लागि सार्वजनिक आहृवानसमेत गरिएको बताए ।

नगरपालिकाले सार्वजनिक गरेको सूचना मुताविक सेवाग्राहीले घर नक्सा निर्माणका लागि जग्गाधनी पूर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्सा, फाइल नक्सा, घर धनीको फोटो र चारकिल्ला विवरणलगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ ।

योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार विषय विज्ञहरु र नगरका प्राविधिमकहरुको सुझावका आधारमा मापदण्ड अनुरुपका नयाँ नयाँ र आधुनिक घरहरुको डिजाइन प्रोफाइल तयार पारेर सेवाग्राहीलाई देखाइनेछ ।

नक्सा सम्बन्धी दर्ताका आवश्यक प्रक्रियाहरु पूरा भएपछि डिजाइनका कामहरु सुरु हुने योजना प्रमुख श्रेष्ठको भनाइ छ ।

प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने भएकाले नगरवासीले घर नक्शा बनाउन ब्यहोर्नु परेको अनेक झन्झट र एकाधिकारसमेत तोडिने उपमहानगरको विश्वास छ ।

बुटवलमा वाषिर्क रुपमा झण्डै एक हजार ५ सय भन्दा बढी घर निर्माण हुने गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment