Comments Add Comment

विप्लव कार्यकर्ता भएको आशंकामा चितवनबाट १२ जना पक्राउ

२९ साउन, चितवन । विप्लव समूहले आव्हान गरेको बन्दमा संलग्न भएको भन्दै चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रमुख सुशिलसिंह राठौरका अनुसार सोमबार राति १२ बजेदेखि विहान ४ बजेको बीचमा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले केहीलाई ढुङ्गा, लाइटसहित समातेको छ । शंकास्पद गतिविधिमा रहेनरहेको बारेमा आवश्यक छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रभु ढकालले जानकारी दिए । ‘संलग्नहरुलाई पक्राउ गरेर मुद्धा चलाउँछौं, नभएकाहरुलाई अभिभावक बोलाएर पठाउँछौं ।’ डीएसपी ढकालले भने ।

विप्लव समूहले आव्हान गरेको बन्दमा अपि्रय घटना हुन नदिन प्रहरीले चितवनमा विहानैबाट सुरक्षा चेकजाँचलाई कडा पारेको थियो ।

जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरी कडाइका साथ चेकजाँचका साथै निगरानी गरिएको डीएसपी ढकालले बताए ।

भरतपुरको रिजाल चोकमा बिहान भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय पारेको छ ।

बिहान ९ः ३० बजे भेटिको शंकास्पद बस्तुलाई ११ः २५ मा डिस्पोज गरिएको हो । विप्लव समूहले बन्द आब्हान गरेको दिन देशका विभिन्न क्षेत्रमा बम र शंकास्पद बस्तु भेटिएका छन् ।

थर्मसको बट्टामा भेटिएको शंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तुमात्र भएको सेनाले जनाएको छ । विप्लव समूहले आब्हान गरेको नेपाल बन्दको प्रभाव जिल्लामा परेको छ ।

चितवनबाट लामो दुरीका सवारीसाधन संचालनमा आउन सकेका छैनन् भने स्थानीय रुटका सवारीसाधन सामान्य रुपमा सञ्चालनमा आए ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्द आहृवान गरेपछि लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको हो ।

जिल्ला सवैजसो विद्यालय बन्द रहे । कलकारखना र उद्योग बन्द भए । बजार क्षेत्र बन्द नै रह्यो ।

नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै बन्दकारीले आगजनी गरे । कपिलबस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन चितवन प्रहरीले आग्रह गरेको छ । बन्द आव्हानका कारण चितवनका अधिकांश शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ ।

बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । यसले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment