Comments Add Comment

जापानसँग नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

२९ साउन, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भएको छ ।

इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाली टोली दबाबमा रहे पनि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । जापानका लागि खेलको सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै निर्णायक बन्यो ।

नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गरेको हो । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा १४ गोल खाएको नेपालले यसपटक सुधारिएको खेल देखाएको हो ।

समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपाल यु-२३ ले भियतनाम यु-२३ सँग अगष्ट १६ मा र अन्तिम खेलमा पाकिस्तान यु-२३ सँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको खेलमा जापानसँग ५-० ले हारेको नेपाल १९९८ मा थाइल्याण्डमा पनि ५-० ले साथै २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ४-० ले हारेको थियो ।

यो पनि पढ्नुहोस्

एसियन गेम्समा नेपालले ३६ वर्षपछि गर्ला गोल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment