Comments Add Comment

टेलिकमले भन्यो-फोरजी विस्तार कानुनसंगत र आवश्यकतामा आधारित


२९ साउन, काठमाडौं । नेपाल टेलिकमले फोरजीको सेवा विस्तारको प्रक्रिया आवश्यकताका आधारमा पूर्ण रुपमा कानुनी प्रक्रियाभित्रै रही अघि बढेको बताएको छ । कम्पनीले यस प्रक्रियामा पूर्ण रुपमा सार्वजनिक खरिद ऐन, कम्पनीको आर्थिक विनियमावली तथा अन्य सम्बन्धित ऐन विनियम अन्तर्गत रही गरिएको जनाएको छ ।

सोमबार अनलाइनखबरमा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै नेपाल टेलिकम ऐन विनियमको दायराभन्दा बाहिर गई कुनै पनि खरिद कार्य गर्न नमिल्ने कम्पनीले स्पष्ट पारेको छ ।

वायरलेस सेवा तर्फ कम्पनीको दीर्घकालीन योजना अन्तर्गत प्रमुख शहरहरु मात्र लक्षित नगरी मुलुकभर सातै प्रदेशका गाउँपालिका, नगरपालिका, उप-महानगरपालिका, महा-नगरपालिकाहरु लगायत सम्पूर्ण क्षेत्रमा ६५ लाख ग्राहकहरुले आधुनिक, द्रुतगतिको डाटा सेवा र एचडी भ्वाइस सेवा प्राप्त हुने गरि फोरजीको आईएएस कोर र दुई वटाएलटीई/आरएएन क्रमशस् नेटवर्क १ -मध्यमान्चल र मध्यपश्चिमाञ्चल क्षेत्र) र नेटवर्क २ (पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्र) का लागि बोलपत्र आहृवान भइसकेको टेलिकमले जनाएको छ ।

यो सेवा कम्पनीको विद्यमान टुजी र थ्रीजी नेटवर्कमा ओभर-लेको रुपमा विस्तार हुने भएकोले ग्राहकले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारका टुजी/थ्रीजी रफारजी सेवाहरु सहज रुपमा उपभोग गर्न सकिने हुने कम्पनीले जनाएको छ ।

ऐन विनियमको दायरा अन्तर्गत रही खरिद गर्न सकिने अवस्थामा पनि विद्यमान नेटवर्कलाई अपग्रेड गर्दा फोरजी भीओएलटीई प्रविधिबाट प्राप्त हुने अन्तरनिहित विशेषता, फाइदा तथा सुविधाहरु प्राप्त गर्न नसकिने कम्पनीको स्पष्टीकरणमा उल्लेख छ ।

कम्पनीले हाल टेण्डर मार्फत खरिद गर्न लागेको फोरजी उपकरणहरुमा विद्यमान नेटवर्क अपग्रेड गर्दा भन्दा विभिन्न फरक विशेषता तथा फाइदाहरु हुने कम्पनीले जनाएको छ ।

यो प्रक्रियाबाट नवीनतम् उपकरण प्राप्त हुने र प्रस्तावित उपकरणको आयु कम्तिमा ७वर्षको हुने कम्पनी बताउँछ । नयाँ उपकरणहरूबाट लागत मितव्ययिता तथा पावर परफरमेन्स इफिसियन्सी हुने र प्रस्तावित उपकरणमा फोरजी भन्दा नयाँ भर्सन/जेनेरेसनमा अपग्रेड गर्न सहज हुने कम्पनीको दावी छ ।

पुरानो उपकरणमा यस्तो अवस्था नरहेकाले पुरानो सिस्टममा अपग्रेड गर्न नहुने निश्कर्ष निकालेर नयाँ प्रक्रिया थालिएको टेलिकम बताउँछ ।

अब नयाँ प्रक्रियामार्फत सुरु हुने फोरजीमा अहिले उपलब्ध नरहेका भ्वाइसओभर एलटीई, सिंगल नम्बर मल्टि डिभाइस, एमटूएम, रियल टाइम कर्भशेसनल सर्भिस, भ्वाइस ओभर वाइफाइ, एफएमसी सर्भिस, मोबाइल डाटा अफलोडिङ लगायत सुविधा पनि हुने जानकारी टेलिकमले दिएको छ ।

त्यसकारण कम्पनीको योजना अनुसार नयाँ उपकरण खरिद एवं जडान तथा पुराना उपकरणलाई आवश्यकता अनुसार प्रतिस्थापन समेत गरी देशव्यापी रुपमा फोरजी सेवा विस्तार गर्न लागिएको टेलिकमले जनाएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले फोरजीसँग सम्बन्धित चार अर्बको प्रस्ताव कम्पनीमा आधिकारिक रुपमा प्राप्त नभएको दावी पनि गरिन् । फोरजीको टेण्डरको सम्झौता भइनसकेकोले यसको लागत कति हुन्छ भन्ने हालसम्म नभएको टेलिकम बताउँछ ।

‘कम्पनीका जुनसुकै खरिद कार्य गर्नका लागि सार्वजनिक खरिद ऐन, कम्पनीको आर्थिक विनियमावली तथा सम्बन्धित अन्य ऐन, विनियम अन्तर्गत रही गरिने हुनाले निर्दिष्ट प्रक्रिया पालना गर्नुपर्ने हुन्छ र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने समय भन्दा अगाडि कार्य सम्पन्न गर्ने सुविधा कम्पनीलाई हुँदैन । यस किसिमका खरिद प्रक्रिया कम्पनीले चाहेर पनि सम्बद्ध ऐन नियमको दायरा बाहिर गएर गर्न नसक्ने भएकाले कम्पनीको व्यवस्थापनको कमजोरीका कारण कम्पनीको फोरजी सेवा विस्तारमा पछि परेको होइन,’ प्रवक्ता वैद्यले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment