Comments Add Comment

जगदम्बा स्टिलका प्रशासकीय अधिकृतमाथि हातपात प्रयास

फोहर व्यवस्थापन गर्न र स्थानीयको स्वास्थ्यप्रति गम्भीर बन्न आग्रह

पार्किङ स्थलमा थुपारिएको फोहरमा लागेको आगो

३० साउन, सिमरा । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिका प्रशासकीय अधिकृत कुमुद ढकालमाथी स्थानीयले मंगलबार हातपातको प्रयास गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित उद्योगको पूर्वपट्टी रहेको पार्किङ स्थलमा फोहर थुपारेर जलाएको भन्दै आक्रोशित स्थानीयबासीले ढकाललाई हातपातको प्रयास गरेका हुन् ।

फोहर जलाउँदा निस्किएको कालो धुँवाको मुस्लोले सो उद्योग क्षेत्रको बस्तिमा केहीबेर त्रास फैलिएको थियो । सिमरा मनकामना टोलका बासिन्दा आफ्नो घरमा समेत आगो फैलन सक्ने भन्दै त्रसित बनेका थिए ।

जगदम्बा स्टिलले बस्तिको जोखिमलाई ध्यान नदिई कालो मोबिल फोहरमा मिसाएर जलाएको स्थानीयको आरोप छ ।

हामीले फोहर जलाएका हैनौं: ढकाल

तर जगदम्बा स्टिलले भने पार्किङ क्षेत्रमा थुपारिएको फोहरमा आगो कम्पनीका तर्फबाट नलगाइएको दाबी गरेको छ । उद्योगका प्रशासकीय अधिकृत ढकालका अनुसार उद्योगले थुपारेको फोहरमा अन्य कसैले आगो लगाइदिएको हो । ‘हामीले फोहर जलाउन आगो लगाएका हैनौं, अन्य कसैले आगो लगाइदिएपछि स्थानीय आक्रोशित बनेका हुन्,’ ढकालले भने ।

घटनापछि समस्याको समाधान तर्फ लाग्नुको सट्टा स्थानीयका नाममा केही उच्छृङ्खल व्यक्तिले आफूमाथि हातपात गरेको उनले दावी गरे ।

बिहान करिब साढे ११ बजेबाट फैलिएको आगो जीतपुरसिमरा उपमहानगरपालिकाको बारुण यन्त्रले करिब एक घण्टापछि नियन्त्रणमा लिएको थियो ।

फोहरको उचित व्यवस्थापन गर्न पत्राचार

यता जीतपुरसिमरा उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले जगदम्बा स्टिललाई उद्योगबाट निस्कने फोहर नराख्न मंगलबार पत्राचार गरेको छ ।

वडा अध्यक्ष हिराबहादुर गुरुङले मंगलबार पठाएको पत्रमा उद्योगले पार्किङ क्षेत्रमा फोहर थुपार्ने, धुलो उडाउने र ध्वनी प्रदुषण समेत गर्ने गरेको स्थानीयको गुनासोमा आधारित भएर यसअघि गरिएको पत्राचारको बेवास्ता गरिएको भन्दै आजैका मितिबाट अर्को व्यवस्था नहुञ्जेल सो पार्किङ क्षेत्र प्रयोग नगर्न पनि भनिएको छ ।

मंगलबारको आगोबाट ठूलो क्षतीको सम्भावना टरेको भन्दै स्थानीयको स्वास्थ्य र धनजनको क्षतिप्रति गम्भीर बन्न जगदम्बा स्टिललाई आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment