Comments Add Comment

फेवा किनारको रत्न मन्दिरलाई संग्रहालय बनाउने तयारी

३० साउन, पोखरा । फेवाताल किनारको रत्न मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ । पोखरा घुम्न आउँदा तत्कालीन राजपरिवारका सदस्यहरु बस्ने गरेको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने सोच प्रदेश सरकारले बनाएको छ ।

गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री विकास लम्सालले रत्न मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताए ।

‘पूर्व राजपरिवारले प्रयोग गरेको यो ऐतिहासिक दरबारलाई पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं । यसलाई अझ व्यवस्थित गर्ने, पूर्व राजपरिवारका लागि जुन प्रयोजनका लागि जुन जुन संरचना प्रयोग गरिन्थ्यो त्यो संरचना अझ व्यवस्थित गरी पर्यटकका लागि खुल्ला गर्ने विषयमा हाम्रो छलफल चलिरहेको छ,’ पर्यटनमन्त्री लम्सालले भने, ‘यो ऐतिहासिक सम्पदा आम्दानीसँगै प्रदेशको महत्वपूर्ण गहना बन्न सक्छ ।’

गण्डकी प्रदेश सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्राउने लक्ष्यसँग यसलाई पनि जोडेर हेरेको छ ।

रत्न मन्दिर २०१५ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्न राज्यलक्ष्मीको नाममा बनाएका हुन् । शाही शासनका बेला राजपरिवारका सदस्य पोखरा आउँदा फेवातालको किनारमा रहेको यही ऐतिहासिक दरबारमा बस्ने गरेका थिए । शाही शासनको अन्त्यसँगै यो दरबार प्रयोगबिहीन छ ।

एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ । यसअघि यहाँ होटल बनाउने योजना सार्वजनिक भएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि यसलाई होटल नभइ संग्रहालयको रुपमा विकास गरेर सर्वसाधारका लागि खुलाउने योजना ट्रस्टले सार्वजनिक गरेको थियो ।

यस विषयमा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालयले छलफल गरिरहेको छ । यसलाई लेक म्युजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने बताए ।

‘हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने, ‘यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक संग्रहालय बनाई रत्न मन्दिर खुल्ला गर्ने तयारी छ ।’

रत्न मन्दिरलाई व्यवस्थापन गरी केही महिनाभित्रै खुल्ला गरी पर्यटकको आकर्षण बढाउने विषयमा अहिले विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री लम्साललको भनाइ छ ।

पूर्व राजपरिवारले ‘विन्टर प्यालेस’ (हिउँदे दरबार)का रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रुपमा संग्रहालय बनाएर सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने स्थानीयवासीको माग छ । यसअघि पनि यो सर्वसाधारणका लागि खुल्ला गर्ने निर्णय भएर पनि खुल्न सकेको छैन ।

प्यागोडा शैलीमा बनाइएको दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षणसमेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । दरबार नेपाली कलाकृति झल्काउने संरचनायुक्त छ ।

दरबारको बगैँचामा विभिन्न प्रजातिका वनस्पति तथा फूलका बोट विरुवा संरक्षित छन् । मन्दिर परिसरलाई तत्कालीन पाँच विकास क्षेत्र जस्तै क्षेत्र नम्बर एकदेखि क्षेत्र नम्बर पाँचसम्म विभाजन गरिएको छ । दरबारमा तालघर, बाग बगैँचा र साना–ठूला गरी १० वटा भवन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment