Comments Add Comment

मल्टिप्लेक्समा हिन्दीलाई शो नै शो, नेपालीलाई ‘छैन भो’


नेपाली चलचित्र हिन्दी चलचित्रबाट प्रताडित छ । ठूला भनिएका हिन्दी चलचित्र हलमा लाग्दा नेपाली चलचित्रले हल नपाउनु कुनै नौला कुरा होइन । झन् अर्को रोचक कुरा त के छ भने, भारतमा नेपाली चलचित्रको कुनै शो गर्नु परेमा सेन्सरमै २ महिना लाग्छ । नेपालमा भने हिन्दी चलचित्र हलमा चलिरहँदा सेन्सर सुरु हुन्छ । यसैले हिन्दी चलचित्रबाट प्रताडित करोडौ बजेटका नेपाली चलचित्र हलबाट पनि पीडित छन् ।

यो शुक्रबार ४ वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ४ वटा चलचित्र रिलिज हुनु आफैमा दुर्भाग्य नै हो । निर्माता-निर्माताको लडाइले निर्माता नै पेलिएको कुरामा त दुइमत छैन । तर, यसमाथि करोडौ बजेटमा बनेका चलचित्रलाई मल्टिप्लेक्सले गरेको अन्यायको त कुरै नगरौ ।

आजबाट भारतमा दुइवटा हिन्दी चलचित्र रिलिज भए । अक्षय कुमारको ‘गोल्ड’ र जोन अब्राहिमको ‘सत्यमेव जयते’ । यी दुबै चलचित्र नेपालमा पनि आजैबाट रिलिज भएका छन् । नेपाली चलचित्र काठमाण्डौमा शुक्रबारबाट मात्र रिलिज हुनुपर्छ । तर, हिन्दी चलचित्र भारतकै सेड्यूलमा रिलिज हुनु दुर्भाग्य हो ।

त्यसमाथि पनि शुक्रबारबाट रिलिज हुन लागेका चलचित्रलाई काठमाण्डौका मल्टिप्लेक्सले गरेको अन्यायको त बर्णन गरिसाध्य छैन । दर्शक नै हलमा नआए शो घटाउनु स्वभाविक हो । तर, शो दिदा नै यति ठूलो पक्षपात किन ?
शुक्रबारदेखि रिलिज हुन लागेका ४ चलचित्रमध्ये सबैभन्दा धेरै हल भएको क्यूएफएक्सले ‘जय शम्भु’लाई जम्मा १ शो दिएको छ । अनुपविक्रम शाही, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको बजेट साढे २ करोड भन्दा बढी छ । तर, कुमारी हलमा १ शो चलाएर निर्माताले लगानी उठाउलान् त ?

अर्कोतिर, मल्टिप्लेक्सलाई नै टार्गेट गरिएको चलचित्र ‘मिस्टर भर्जिन’ले कुमारी हलमा मात्र २ शो पाएको छ । जय नेपाल, छाया सेन्टर, सिभिल, लबिम हलमा यसले शो नै पाएन । जबकी यी हलमा हिन्दी चलचित्रको वर्चस्व छ ।
हिन्दीलाई ३० शो भन्दा बढी दिदा क्यूएफएक्सले नेपाली चलचित्रलाई १ शो दिए है भनेर झारा टारेको छ । आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘ब्ल्याक’को शो अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो चलचित्रलाई पनि १ शो मै सिमित हुनपर्ने देखिन्छ ।

हिन्दी चलचित्र आउँदा नेपाली चलचित्रलाई यति धेरै विभेद किन ? के अब, नेपाली निर्माताले हिन्दी चलचित्रको सेड्यूल हेरेर आफ्नो चलचित्र रिलिजको मिति तय गर्नुपर्ने हो ? बक्स अफिस लागू भयो भनेर मात्र खुशी हुने अवस्था यसरी कसरी रहला ? हलमा चलचित्र नै नलागेपछि बक्स अफिस लागेपनि के नलागेपनि के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment