Comments Add Comment

शक्तिसँगै उनको पार्लेजी बिस्कुट मिस गरिरहेको छु : सोमपाल कामी

शक्तिकै प्रेरणाले ब्याटिङ सुधारेको खुलासा

३० साउन, काठमाडौं । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामीले टिममा शक्ति गौचनको अभाव महसुस भइरहेको बताएका छन् ।

नेपालका भेट्रान बलर शक्तिले नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीयसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसैले नेपाली टोलीले एसिया कप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्दा उनी कीर्तिपुर मैदानमा थिएनन् ।

‘शक्ति दाइको धेरै नै याद आइरहन्छ । अभ्यासमा र खेलका बेला पनि भोक लाग्नेवित्तिकै उहाँले पार्लेजी बिस्कुट निकालिहाल्नु हुन्थ्यो । शक्ति दाइभन्दा पनि धेरै त उहाँको पार्लेजी बिस्कुट मिस गरिरहेका छु’ सोमपालले हाँस्दै सुनाए ।

चार वर्षे सहकार्यका क्रममा शक्तिसँग धेरै कुरा सिक्न पाएको उनले सुनाए । ‘दाइले धेरै नै सिकाउनुभयो । उहाँले मलाई ब्याटिङको लागि पनि धेरै नै प्रेरणा दिनुभएको हो । ब्याटिङ पनि सँगै लैजान सक्छौ भनेर भनिरहनु हुन्थ्यो’ सोमपालले सम्झिए ‘अहिले मैले ब्याटिङमा पनि राम्रो गर्न सक्दा खुसी लागेको छ । धेरै अघिदेखि ब्याटिङमा पनि ध्यान दिएर अभ्यास गरिरहेको थिएँ । अब नतिजा पनि देखिँदैछ ।’

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोटका लागि बुधबारदेखि नेपाली टोलीले कीर्तिपुर मैदानमा अभ्यास सुरु गरेको हो । दिनकै जसो पानी परिरहेकाले अभ्यास गर्न खेलाडीहरुलाई निकै कठिन देखिएको छ ।

पिच राम्रै भए पनि आउट फिल्ड हिलाम्मे हुँदा समस्या देखिएको छ । मंगलबारदेखि अभ्यास गर्ने भनिए पनि मंगलबार शारीरिक स्फुर्तिका लागि जिम मात्रै भएको थियो । ‘अहिले अभ्यास राम्रो हुन सकेको छैन । मैदानमा पूरै पानी छ । आज इन्डोरमा ब्याटिङको लागि अभ्यास गर्‍यौं’ सोमपालले भने ।

एसिया कप छनोटकै लागि भनेर आएका भारतीय ब्याटिङ प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईले पनि बुधबारदेखि प्रशिक्षण सुरु गरेका छन् ।

नयाँ प्रशिक्षकसँग आफूहरुलाई नयाँ कुरा सिक्ने अवसर मिलिरहेको पनि सोमपालले बताए । ‘रमाइलो भइरहेको छ । धेरै कुरा सिक्ने भन्दा पनि मानसिक रुपमा तयार रहने समय हो यो । उहाँको नयाँ तरिकाहरु पनि हामीले सिकिरहेका छौं’ उनले भने ।

नेपाल एसिया कपमा छनोट हुनेमा आशावादी देखिएका उनी प्रतिस्पर्धामा रहेका सबै टोली उस्तै राम्रो रहेको मान्छन् ।

‘सबै टिम उस्तै राम्रा छन् । नयाँ खेलाडी र नयाँ शैली अपनाइहेको देखिन्छ । यसैले हामीले पनि सकारात्मक रहेर आफ्नो शैलीको खेललाई निरन्तरता दिनुपर्छ’ उनले भने, ‘हामीले एकदिवसीयमा पनि राम्रै गरेर आएका छौं । एकदिवसीय खेल्ने टिममा शक्ति गौचन र शरद भेषावकर दाइको स्थानमा अरु दुई जना आउनेबाहेक धेरै परिवर्तन हुँदैन जस्तो लाग्छ । हामी तयार नै छौं ।’

तयारीकै लागि भदौ पहिलो साता नेपाली टोली श्रीलंका जाँदैछ, जहाँ तीन वटा अभ्यास खेल हुनेछ ।

श्रीलंका जानुअघि अन्तिम १५ सदस्यीय टोली घोषणा हुने प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ । छनोट प्रतियोगितामा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment