Comments Add Comment

यस्तो छ धुर्मसले क्रिकेट मैदान बनाउने ठाउँ

३० साउन, चितवन । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनेको ठाउँ चितवनको भरतपुर महानगरपालिका १६ मा पर्छ । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू)ले भोग चलन गरेको यो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको नाममा अझै पनि यहाँको जग्गा आएको छैन । स्वामित्व हस्तान्तरणमा आनाकानी गर्दै आएका कारण एएफयूको केन्द्रीय कार्यालयसहितका संकायहरु भएको सबै जमिन टियूको नाममा छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको भेटरीनरी संकायको पश्चिमतर्फ खाली रहेको जमिनमा धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला बनाउन खोजेको हो ।

अहिले बर्खाका कारण काँसघारीले भरिएको यो जमिन हेर्दा ‘लो ल्याण्ड’ देखिन्छ । बर्खाको घोल जस्तो पनि छ । यो २५ विगाहा जग्गा क्रिकेट मैदान निर्माणका लागि पुग्ने देखिन्छ । तर, यो जमिनलाई रंगशालाको स्वरुपमा बदल्न भने धेरै नै मेहनत र खर्च गर्नुपर्ने देखिन्छ ।

‘लो ल्याण्ड’ भएका कारण बढी पुर्नुपर्ने आवश्यकता अहिलेको फिल्डमा गएर हेर्दा देखिन्छ । कतै उच्च त कहीँ घोल जस्तो जग्गा छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको दक्षिणी पश्चिमी क्षेत्रमा रहेको यो मैदानको बाहिर पातलो मानव बस्ती छ ।

भरतपुरको केन्द्र चौविसकोठीबाट ८ किलोमिटर पश्चिममा पर्ने यो जग्गा प्राप्तिको प्रक्रिया सहज भने छैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा मन्त्रिपरिषद्को बैठकले यहाँको कुल दुईसय विगाहा जमिनमध्ये ४० विगाहा जमिन त्रिविलाई दिने निर्णय गरेको थियो । त्यसमा त्रिविको पनि सहमति छ । तर यो प्रक्रिया अझै टुंगिएको छैन ।

ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्ताव पठाएपछि प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गरेपछि धुर्मसको टोली भरतपुर मोडिएको थियो । यसअघि धुर्मससहितको टोलीले निर्माणधीन चित्रवन रंगशालाको अवलोकन गरेको थियो ।

केही पूर्वाधारमा लगानीसमेत भइसकेको सो रंगशालामा जग्गा अपुग हुने भएपछि रामपुरको जग्गा उपयुक्त हुने टोलीले बताएको छ । यहाँ विश्वविद्यालयको जग्गा जति उपभोग गरिन्छ त्यति नै जग्गा सट्टाभर्ना दिने योजना महानगरको छ ।

महानगरले सार्वजनिक जग्गाको लगत संकलनसमेत थालेको छ । धुर्मुस-सुन्तली फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment