Comments Add Comment

एसियाली खेलकुदमा सहभागी हुन ७ करोड खर्च हुने

२९ खेलका लागि २८५ जना सहभागी हुँदै

३० साउन, काठमाडौं । इन्डोनेसियामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने एसियाली खेलकुद -एसियाड) को १८ औं संस्करणमा सहभागिता जनाउन ७ करोड रुपैयाँ खर्च हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव केशवकुमार विष्टले सरकारले दिएको ५ करोड रुपैयाँ अपुग हुने भएकाले थप रकम मागेको बताए ।

‘एसियाडको तयारी र सहभागिताका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । जसमध्ये सरकारले अहिलेसम्म ५ करोड रुपैयाँ उपलब्ध गराएको छ’ एसियाड सहभागिताबारे बताउँदै सदस्यसचिव विष्टले भने ।

विष्टले तयारीमा साधन र स्रोतले भ्याएसम्म खेलाडीलाई सुविधा दिएको दावी पनि गरे ।  ‘खेलाडीको प्रशिक्षणमा संघबाट आएको प्रस्तावलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौं । पदकको सम्भावना र नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीलाई मध्यनजर गरी खेलाडी सहभागी गराएका हौं’ उनले भने ।

एसियाड इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुँदैछ । जहाँ एसियाका नेपालसहित ४५ देशको सहभागिता रहने छ ।

नेपालबाट २९ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित २ सय ८५ जना एसियाडमा सहभागी हुँदै छन् ।  जसमा १ सय ८५ खेलाडी -पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाइम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

यी खेलमध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ ।

एसियाडमा नेपालले सहभागिता जनाउन लागेको अहिलेसम्मकै धेरै २९ खेलमध्ये १९ खेलका लागि खेलाडीहरु वैदेशिक प्रशिक्षणमा पनि सहभागी रहेको सदस्यसचिव विष्टले बताएका छन् ।

एसियाडमा सहभागिता जनाउन खेलाडी तथा प्रशिक्षक आफ्नो खेल तालिकाअनुसार इन्डोनेसिया जाने छन् ।

दुई संस्करणबाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले अहिलेसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन ।

१९८६ को सिओल एसियाडमा पहिलोपटक पदक जितेको नेपालले अहिलेसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कास्य जितेको छ ।

कुन खेलको प्रशिक्षण कहाँ ?

थाइल्याण्ड – बक्सिङ, पौडी, ट्रायथलन, भारत्तोलन, गल्फ, फुटबल

भारत – टेबल टेनिस, कबड्डी, एथ्लेटिक्स, कुस्ती

दक्षिण कोरिया – तेक्वान्दो, फेनसिङ

सिंगापुर – पेनकेक सिलात

हङकङ – स्केटबोर्ड

मलेसिया – टेनिस

जापान – कराते

चीन – उसु

हंगेरी – जुडो

इन्डोनेसिया – प्याराग्लाइडिङ

नेपालमै प्रशिक्षण भएका खेल

स्क्वास, कुरांश, बास्केटबल, आर्चरी, सुटिङ, ब्याडमिन्टन, साइकलिङ, सेपाकताक्रो, क्लाइमिङ स्पोर्टस् र भलिबल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment