Comments Add Comment

नजरबन्दमा राखेको व्यक्तिबारे तत्कालै परिवारलाई जानकारी दिनुपर्ने

सार्वजनिक सुरक्षा ऐनको संशोधन विधेयक पारित

३० साउन, काठमाडौं । सरकारले नजरबन्दमा राखिएको व्यक्तिको अवस्थाबारे तत्काल परिवार वा नातेदारलाई जानकारी दिनुपर्ने भएको छ ।

बुधबार प्रतिनिधिसभाबाट पारित सार्वजनिक सुरक्षा ऐन (तेस्रो संशोधन) विधेयकमा नजरबन्दमा रहेको व्यक्तिको अवस्थाबारे परिवारलाई तत्काल जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि सार्वजनिक सुरक्षा ऐन २०४६ को दफा ३.१ क मा नजरबन्दमा रहेको व्यक्तिको स्थितिबारे परिवारका सदस्य वा नजिकको नातेदारलाई २४ घण्टाभित्र जानकारी दिनुपर्ने व्यवस्था थियो । नेपालको संविधानको मौलिक हकमा निवारक नजरबन्दको हकसँग मिल्ने गरी ऐन संशोधन गरी तत्कालै जानकारी दिनुपर्ने व्यवस्था गरिएको हो ।

यदि नजरबन्दमा राखिएको व्यक्तिको परिवारका सदस्यलाई तत्काल जानकारी नदिएमा सम्बन्धित सरकारी अधिकारीलाई विभागीय कारबाहीको व्यवस्था पनि गरिएको छ ।

पहिले सम्बन्धित अधिकारीले बदनियतसाथ कुनै आदेश जारी गरेको ठहरिएमा मात्र विभागीय कारबाहीको व्यवस्था थियो । अहिले संशोधन गरी नजरबन्दमा राखिएको व्यक्तिबारे परिवार र नजिकको नातेदारलाई जानकारी नदिए पनि विभागीय कारबाही गर्ने व्यवस्था गरिएको हो ।

सार्वजनिक सुरक्षा ऐनमा नेपालको सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले निजलाई कुनै खास अवधिसम्म कुनै खास ठाउँमा नजरबन्दमा राख्ने आदेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment