Comments Add Comment

नेपालका नयाँ ब्याटिङ कोच भन्छन् : क्रिकेटमा नेपाल र भारतको फरक अवसर मात्रै हो

'खेलाडीको शैली बुझेर काम गर्दैछु'

३० साउन, काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा आएका भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईले बुधबारदेखि प्रशिक्षण सुरु गरेका छन् ।

कीर्तिपुर मैदानमा क्लोज क्याम्प रहेका खेलाडीहरुको अवस्था र उनीहरुको शैली बुझिरहेका देसाईले खेलाडीहरुमा सकारात्मक भावना रहेको र उनीहरुले कडा मेहनत गरिरहेका बताएका छन् ।

४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट पनि खेलेका थिए । विशेष गरी भारत बैंगलोरमा रहेको नेशनल क्रिकेट एकेडेमिमा गएको १० वर्षदेखि ब्याटिङ प्रशिक्षकको काम गर्दै आएका देसाईले आईपीएल टिम कोलकाता नाइट राइडर्समा ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।

उनै देसाइसँग एसिया कप छनोटको तयारी र योजनामा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौंः

आज अभ्यासको पहिलो दिन, नेपाली टिम कस्तो पाउनुभयो ?

सकारात्मक सोच छ । पछिल्ला केही प्रतियोगितादेखि नै राम्रो भइरहेको छ । इंग्ल्याण्ड र नेदरल्याण्ड्समा खेलेर उनीहरु भर्खरै फर्किएका छन् । त्यहाँ पनि राम्रो नै भएको थियो । अब मलेसियामा सहज हुने गरी तयारी हुँदैछ । केही विशेष कुरामा ध्यान दिएर अगाडि बढ्ने तयारी हामीले गरेका छौं ।

तपाईलाई नेपाल आउनुअघि नेपाली टिमबारेमा थाहा थियो ?

अँ … खेलाडीहरुबारे सुनिरहेको थिएँ । भिडियोहरु पनि धेरै नै हेरेको थिएँ । पहिले नेपाल आएका प्रशिक्षकहरुसँग पनि कुरा गरेको थिएँ । एकदिवसीय मान्यता पाएपछि नेपाली टिमबारे जिज्ञाशा सबैतिर बढेको पाइन्छ ।

टिमको बलियो पक्ष र कमजोर पक्ष बुझेर आवश्यक परिवर्तन गराउन समय अलि कम भयो जस्तो लाग्दैन ?

कस्तो भने उनीहरु अहिले लगातार जस्तो क्रिकेट खेलिरहेका छन् । म यहाँ आएको थप केही कुरा सिकाउन सकौं भनेर नै हो । यहाँ पाँच दिन र श्रीलंकामा हुने अभ्यास खेलमा पनि सकरात्मक परिवर्तनका बढ्ने छौं । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो छोटो समयको क्याम्पहरु अन्त पनि हुने गर्छन् । केही ट्याकटिकल कुरा र खुलेर खेल्न सहयोग गर्न सकेँ भने राम्रो नै हुने छ ।

विशेष ध्यान के कुरामा दिनुपर्छ जस्तो लागेको छ ?

म यहाँ आएको ब्याटिङ प्रशिक्षकका रुपमा हो । ब्याटिङका लागि सक्दो काम गरेर छनोट हुन सकौं भन्ने नै मुख्य कुरा हो । ब्याटिङमा देखिएको समस्यामा सक्दो सुधार गर्ने छौं । विपक्षीबारे पनि खेलाडीले राम्ररी बुझेका छन्, कसरी अघि बढ्ने भन्ने उनीहरुलाई थाहा छ । हामी राम्रो ब्याटिङ अर्डर बनाएर जाने छौं ।

पहिले पनि नेपाली टिममा ब्याटिङमा नै विशेष कमजोरी देखिँदै आएको छ । उनीहरुको मानसिकता कस्तो पाउनु भएको छ ?

टेक्निकली उनीहरु सबै राम्रो छन् । सकारात्मक पनि छन् । पूरा इनिङ खेल्ने र अगाडि बढ्ने कुरामा उनीहरु लागि नै छन् । विकेट बचाएर रन जोड्दै जान आवश्यक छ । ठूलो हिट नै हान्नुपर्छ भन्ने होइन । एक, दुई रनबाट राम्रो स्कोर बनाउन सकिन्छ । सकेसम्म स्ट्राइक चेन्ज गर्ने कुरामा ध्यान दिन आवश्यक छ । ओभरअनुसार अघिल्ला ओभरमा अलि रन बढाएर बीचमा सम्हालिएर खेल्नुपर्ने हुन्छ । कसको जिम्मेवारी के भन्ने खेलाडीहरुले बुझिरहेका छन् ।

यो सबै कुरामा तपाईँको प्रशिक्षणपछि कस्तो परिवर्तन होला त ?

अँ मेरो भूमिका नै त्यही हो । उनीहरु प्रत्येकसँग कुराकानी गर्ने र उनीहरुलाई अप्ठ्यारो भएको कुरामा सहज बनाउने । मैले नयाँ कुरा सिकाउने भन्दा उनीहरुले जानेको कुरा अझै राम्ररी बुझाउने नै हो । उनीहरुले आˆनो खेल बुझेर खेले भने राम्रो हुनेछ । उनीहरुलाई कुनै विशेष एरियामा रन बनाउन अप्ठ्यारो भइरहेको छ भने त्यसमा सहज बनाउने प्रयास गर्ने छु ।

समय छोटो भए पनि आश गरौं, हामी राम्रो गर्ने छौँ ।

नेपाली टोलीमा ओपनिङ कसले गर्ने भन्ने एकीन पनि देखिँदैन । नयाँ प्रयोग भइरहेको हुन्छ । त्यसको लागि केही सोच्नुभएको छ ?

अन्तर्राष्ट्रिय क्रिकेट हेर्दा यहाँ मात्रै होइन, सबैतिर टप अर्डरमा केही परिवर्तन गर्ने गरेको पाइन्छ । अवस्था, विपक्षी टिम र बलर हेरेर पनि परिवर्तन गर्न सकिन्छ । प्रमुख कुरा त्यसका लागि ब्याट्सम्यान तयार रहनु राम्रो हो ।

नेपाल एसिया कपमा छनोट हुन सक्छ र भारत पाकिस्तान जस्ता देशसँग राम्रो क्रिकेट देखाउँछ भनेर आश गर्ने ठाउँ भेट्नुभयो ?

नेपालले एकदिवसीय मान्यता पाउँदासम्म जसरी खेल देखाउँदै आएको छ, त्यसलाई नै आधार मान्दा पनि अगाडि बढ्छ भनेर आश गर्न सकिन्छ । त्यही अनुरुप मेहनत पनि भइरहेको छ । भर्खरै नेदरल्याण्ड्सलाई हराएको खेल हेर्दा पनि सबै बलियो मनस्थितिमा छन् । यो सबै कुरा नेपालकै पक्षमा छ । कहाँ कोसँग खेल्ने भन्दा पनि हरेक दिन क्रिकेट सिक्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । विपक्षी जो भए पनि राम्रो क्रिकेट खेल्ने र क्रिकेट सिक्ने नै हो ।

नेपाली ब्याट्सम्यानले राम्रो खेल खेल्दा पनि लामो पारी खेल्न भने सकिरहेका हुँदैनन् । त्यसमा पिचमा टिकिरहन कस्तो खेल अपनाउनुपर्ने देख्नु हुन्छ ?

म खेलाडीहरुलाई बुझ्दैछु । आज पहिलो दिन हो । उनीहरुसँग कुरा गरेर यस विषयमा के गर्न सकिन्छ भन्ने हामी सिक्ने नै छौं । सुरुवात राम्रो हुन सक्यो भने अन्तिमसम्म खेल लैजान सकिन्छ । हरेक ओभर खेल्दा मैले अर्को एक ओभर लैजान सक्छु भन्ने सकारात्मक सोच बनाउनुपर्छ । प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का पनि राम्ररी बढिरहनु भएको छ । हामीले सक्ने सबै कुरामा सुधार गर्नेछौं ।

सुधार गर्नै पर्ने केही विशेष कुरा देख्नुभएको छ ?

हरेक खेलाडीको खेल्ने शैली भिन्न हुन्छ । उनीहरुलाई उनीहरुकै शैलीअनुरुपमा अघि बढ्न मद्धत गर्नुपर्छ । आफूले जानेका कुरा सिकाउनेसँगै उनीहरुको खेल अनुरुप सिकाउन आवश्यक हुन्छ । सबैको खेललाई एकै तरिकाले हेर्दा राम्रो हुँदैन । एउटाको लागि लागु भएको शैली अर्कोको लागि नमिल्न पनि सक्छ । यसैले हरेक खेलाडीलाई फरक शैली नै अपनाउनुपर्छ । मैले आईपीएलमा र अरु अन्तर्राष्ट्रिय खेलाडीलाई सिकाउँदा पनि यही कुरा नै पाउने गरेको छु । सबै नै फरक रुपमा नै खेल्छन् ।

भारतमै पनि रबिन उथप्पा, दिनेश कार्तिक, नितिश राना जस्ता ब्याट्सम्यानलाई प्रशिक्षण दिनुभएको छ । उनीहरु र नेपाली ब्याट्सम्यानलाई सिकाउँदा कस्तो फरक हुने रहेछ ?

खेलाडीमा त्यस्तो भिन्नता केही नै हुँदैन । अवसर र खेल्ने समय कति पाएका छन् भन्ने कुरा नै प्रमुख हो । नेपाली खेलाडी र भारतीय खेलाडीलाई एकै ठाउँमा राखेर हेर्ने हो भने पनि उनीहरुले खेल्ने खेल संख्याका कारण हुने भिन्नताबाहेक अरु फरक हुँदैन । जति खेल खेलिन्छ, उति नै सुधार हुँदै जाने त हो । सिकाउने कुरामा त खेलाडी अनुसार भिन्न हुने नै भयो । क्रिकेट कै कुरामा त भिन्नता रहँदैन । सबैको बलियो पक्ष र कमजोर पक्ष रहन्छ, सुधार गर्दै जाने नै हो ।

नेपाल पहिलोपटक आएको भन्नुभयो, यहाँ कस्तो लागिरहेको छ ?

सबै कुरा रमाइलो लागिरहेको छ । आज प्रशिक्षणमा पनि रमाइलो भयो । युगाण्डा, अमेरिकामा गएर काम गरेजस्तै नै नेपालमा पनि उस्तै अवसर हो । क्रिकेट कहिँ जाँदा पनि फेरिँदैन, प्रशिक्षण जहाँ पनि उस्तै हुन्छ । यसैले मलाई रमाइलो लाग्छ । यहाँबाट फर्किंदा म अझै राम्रो प्रशिक्षक हुने छु, किनभने सिकाइ कहिल्यै सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment